YouVersion लोगो
खोज आइकन

लूका 22:1-23

लूका 22:1-23 सरल नेपाली

अखमिरी रोटी खाने निस्तार भन्‍ने चाड आउन लागेको थियो। मुख्‍य पूजाहारी र धर्म-गुरुहरू येशूलाई मार्न चाहन्‍थे, तर मानिसहरूको डरले उहाँलाई सुटुक्‍कै मार्ने युक्ति खोज्‍न लागे। त्‍यसै समय बाह्र जना चेलाहरूमध्‍ये यहूदा इस्‍करियोत भन्‍नेको हृदयमा शैतान पस्‍यो। त्‍यसले मुख्‍य पूजाहारी र मन्‍दिरका सिपाहीहरूकहाँ गएर ‘येशूलाई कसरी पक्राइदिन सक्‍छु’ भन्‍नेबारे सरसल्‍लाह गर्‍यो। यो सुनेर तिनीहरू खुसी भएर त्‍यसलाई पैसा दिने भए। यहूदा राजी भयो र मानिसहरूले थाहै नपाउने गरी येशूलाई सुटुक्‍क पक्राइदिने मौका खोज्‍न लाग्‍यो। अखमिरी रोटी खाने निस्तार चाडको समयमा भेडाको पाठोलाई बलि चढाउने दिन आइपुग्‍यो। येशूले पत्रुस र यूहन्‍नालाई “गएर हाम्रो लागि निस्तार चाडको भोज ठीक गर,” भनी पठाउनुभयो। तिनीहरूले उहाँलाई सोधे, “हामी यो भोज कहाँ ठीक पारौं?” उहाँले भन्‍नुभयो, “हेर, तिमीहरू सहरमा पस्‍नेबित्तिकै गाग्रीमा पानी बोकेर एक जना मानिस गइरहेको भेट्‍नेछौ र उसकै पछि-पछि जाओ। जुन घरमा ऊ पस्‍छ, त्‍यही घरको मालिकलाई ‘म आफ्‍ना चेलाहरूसँग बसेर निस्तार चाडको भोज खाने कोठा कहाँ छ?’ भनेर गुरुले सोध्‍नुभएको छ, भनिदेओ। उनले तिमीहरूलाई माथिल्‍लो तलामा सजाएको फराकिलो कोठा देखाइदिनेछन्। त्‍यहीँ नै भोज ठीकठाक पार।” तिनीहरू गए अनि सबै कुरा येशूले भन्‍नुभएजस्‍तै पाए अनि तिनीहरूले निस्तार चाडको भोज त्‍यहीँ नै ठीकठाक पारे। खाने बेला भएपछि येशू आफ्‍ना बाह्र चेलाहरूसँग खान बस्‍नुभयो। उहाँले तिनीहरूलाई भन्‍नुभयो, “दु:ख भोग्‍नुभन्दा अघि मैले तिमीहरूसँग निस्तार चाडको यो भोज खाने ठूलो इच्‍छा गरेको थिएँ। अब म तिमीहरूलाई भन्‍छु, परमेश्‍वरको राज्‍यमा यस भोजको अर्थ पूरा नहुञ्‍जेल म फेरि यो भोज खानेछैनँ।” त्‍यसपछि येशूले कचौरा लिनुभयो र परमेश्‍वरलाई धन्‍यवाद चढाएर भन्‍नुभयो, “यो लेओ र तिमीहरू सबैले बाँडेर खाओ। म तिमीहरूलाई भन्‍छु, अबदेखि परमेश्‍वरको राज्‍य नआउञ्‍जेल म फेरि अङ्‌गुरको रस पिउनेछैनँ।” त्‍यसपछि येशूले रोटी लिनुभयो र परमेश्‍वरलाई धन्‍यवाद चढाएर टुक्र्याउनुभयो र चेलाहरूलाई दिँदै भन्‍नुभयो, “तिमीहरूलाई दिएको यो मेरो शरीर हो। अबदेखि मेरो सम्‍झनाको निम्‍ति यसरी नै खाने गर।” त्‍यसै गरी खाएपछि उहाँले कचौरा लिएर चेलाहरूलाई दिँदै भन्‍नुभयो, “यो कचौरा मेरो रगतमा बाँधेको नयाँ वाचा हो। यो रगत तिमीहरूको निम्‍ति बगाइएको छ। “तर हेर, मलाई पक्राइदिने मानिस मसँगै खान बसेको छ। परमेश्‍वरले पहिले नै ठहराउनुभएअनुसार मानव पुत्र त जानु नै पर्छ, तर धिक्‍कार, त्‍यस मानिसलाई! जसले मानव पुत्रलाई पक्राइदिनेछ।” यो कुरा सुनेर चेलाहरूले ‘यस्‍तो काम गर्ने को होला?’ भनेर एकले अर्कालाई सोधासोध गरे।

लूका 22 पढ्नुहोस्