लूका 21:5-24

लूका 21:5-24 सरल नेपाली

एकपल्‍ट चेलाहरूले, “राम्रा-राम्रा ढुङ्गाहरूले बनाइएको र चढाइएका भेटीहरूद्वारा सिङ्गारिएको यो मन्‍दिर कति सुन्‍दर छ!” भन्‍दै कुरा गरिरहेका थिए। येशूले भन्‍नुभयो, “यस्‍तो समय आउनेछ, जुन समयमा अहिले यहाँ देखिएका घरहरूका एउटा ढुङ्गामाथि अर्को ढुङ्गा पनि बाँकी रहनेछैन, सबै भत्‍काइनेछ!” तिनीहरूले भने, “गुरुज्‍यू, यो कहिले हुनेछ? अनि यस्‍तो हुन लाग्‍यो भनी हामीले कसरी थाहा पाउने?” येशूले भन्‍नुभयो, “होशियार रहो, तिमीहरूलाई कसैले पनि छकाउन नपाओस् किनभने धेरै मानिसहरू मेरो नाउँमा ‘ख्रीष्‍ट मै हुँ’ भन्‍दै आउनेछन् अनि ‘समय नजिकै छ’ भन्‍नेछन् तर तिनीहरूको पछि नलाग। घमासान लडाइँ र झगडा भएको कुरा सुनेर नआत्तिनू, अन्‍त हुनुभन्दा पहिले ती सबै कुराहरू हुन आउनु नै पर्छ। तर त्‍यति नै खेर त संसारको अन्‍त हुँदैन!” येशूले फेरि भन्‍नुभयो, “जाति-जातिको बीचमा लडाइँ चल्‍नेछ। एउटा राज्‍यले अर्को राज्‍यमाथि हमला गर्नेछ। ठूला-ठूला भूइँचाला जानेछन्, जताततै अनिकालपर्नेछ, महामारी चल्‍नेछ। आकाशमा डरलाग्‍दा कुराहरू हुनेछन् र ठूला-ठूला चिन्‍हहरू देखिनेछन्। “यी सबै कुरा हुनुभन्दा अघि मानिसहरूले तिमीहरूलाई मेरो नाउँको कारणले पक्रनेछन्, सताउनेछन्, सभाघरमा लगेर मुद्दा चलाउनेछन् र झ्‍यालखानमा हाल्‍नेछन्। अझै तिनीहरूले तिमीहरूलाई राजा र बडा-हाकिमका अगाडि उभ्‍याउनेछन्। त्‍यस बेला तिमीहरूलाई मेरो बारेमा साक्षी दिने मौका मिल्‍नेछ। तर आफ्‍नो बचाउको लागि के भन्‍ने हो भनेर पटक्‍कै चिन्‍ता नगर किनभने म तिमीहरूलाई यस्‍तो वचन र बुद्धि दिनेछु कि तिमीहरूले भनेको कुराहरूमा उत्तर दिन तिमीहरूका विरोधीहरूको मुखमा बुजो लाग्‍नेछ। आफ्‍नै आमा-बुबा, दाजुभाइ, आफन्‍त र साथीहरूले समेत तिमीहरूलाई पक्राइदिनेछन्। तिमीहरूमध्‍ये कतिलाई त तिनीहरूले मार्नेछन्। मेरो कारणले सबैले तिमीहरूलाई घृणा गर्नेछन्। तर एउटै केश पनि तिमीहरूको टाउकोबाट झर्नेछैन। डटेर बस र तिमीहरूले जीवन पाउनेछौ। ‘यरूशलेम सहरलाई फौजले घेरा हालेको देखेपछि अब सहरको नाश हुने बेला आइपुगेछ’ भन्‍ने कुरा तिमीहरूले बुझ। त्‍यस बेला यहूदिया क्षेत्रमा हुनेहरू पहाडतिर भागून्, सहरभित्र हुनेहरूले सहर छोडून् र गाउँतिर हुनेहरू सहरमा नपसून् किनभने ती सजायका दिनहरू हुन् अनि धर्मशास्‍त्रमा लेखिएका सबै कुरा पूरा हुने नै छन्। त्‍यस बेला कोखमा या काखमा बालक हुने आमाहरूलाई झन् अप्‍ठ्यारोपर्नेछ। देशभरि डरलाग्‍दो दु:ख आइपर्नेछ। परमेश्‍वरको दण्‍ड यस जातिका मानिसहरूमाथि खनिनेछ। शत्रुहरूले मानिसहरूलाई कि त तरवारले टुक्र्याउनेछन् कि त कैद गरेर देश-देशमा लैजानेछन्। अरू जातिका मानिसहरूको दिन पूरा नहुञ्‍जेल तिनीहरूले यरूशलेमलाई कुल्‍ची-मिल्‍ची गर्नेछन्।

लूका 21 पढ्नुहोस्