YouVersion लोगो
खोज आइकन

लूका 17:1-19

लूका 17:1-19 सरल नेपाली

येशूले आफ्‍ना चेलाहरूलाई भन्‍नुभयो, “साँच्‍चै मानिसलाई पापमा फसाउने कुराहरू त आइपर्दछन्। तर धिक्‍कार, अरूलाई पापमा फसाउने मानिसलाई! जसले यी सानाभन्दा सानाहरूलाई पापमा पार्छ, त्‍यसलाई त घिच्रोमा जाँतो झुण्‍ड्याइदिएर समुद्रमा फालिदिनु बेस हुनेछ। यसकारण होश राख! “तिम्रो भाइले पाप गरेको छ भने उसलाई सम्‍झाऊ। उसले आफ्‍नो पापलाई मानेर छोड्यो भने उसलाई माफ देओ। तिम्रो भाइले तिम्रो विरोधमा दिनमा सातपल्‍ट पाप गर्छ अनि उसले सातैपल्‍ट आफ्‍नो पापलाई मानेर छोड्यो भने उसलाई माफ देओ।” बाह्र जना चेलाहरूले प्रभुलाई भने, “प्रभु, हाम्रो विश्‍वास बढाइदिनुहोस्।” येशूले जवाफ दिनुभयो, “तिमीहरूसँग रायोको एउटा दाना जत्रै विश्‍वास छ भने यस किम्‍बुको बोटलाई ‘उखेलिएर तँ समुद्रमा रोपिन जा’ भन्‍यौ भने त्‍यसले मान्‍नेछ। “तिमीहरू कसैले आफ्‍नो नोकर खेतबाट काम गरेर वा भेडा चराएर घर फर्किंदा ‘छिटो आएर खान बस्’ भन्‍छौ र? बरु यसो पो भनौला, ‘जा, गएर भान्‍सा ठीक पार अनि तयार भएपछि मलाई खान दे, त्‍यसपछि मात्र तँ खालास्।’ आज्ञा मानेकोमा त्‍यस नोकरलाई तिमीले धन्‍यवाद दिन्‍छौ र? त्‍यसै गरी तिमीहरूले पनि आफूलाई अह्राएको सबै काम गरिसकेर भन, ‘हामी त नोकर मात्र हौं, आफूले गर्नुपर्ने काम गरेका छौं’।” येशू यरूशलेम जानुहुँदा सामरिया र गालील क्षेत्रको सिमानै-सिमाना भएर जानुभयो। एउटा गाउँमा पस्‍न लाग्‍नुहुँदा दश जना कुष्ठरोगीहरूसँग उहाँको भेट भयो। अलिक परैबाट उभिएर तिनीहरूले कराएर भने, “हे प्रभु येशू, हामीमाथि दया गर्नुहोस्!” येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू पूजाहारीकहाँ गएर आफैंलाई जाँच गराओ।” तिनीहरू जाँदाजाँदै बाटैमा निको भइहाले। एक जनाचाहिँ आफू निको भएको थाहा पाएर ठूलो सोरले परमेश्‍वरको प्रशंसा गर्दै फर्केर आयो अनि येशूको पाउमा परेर धन्‍यवाद चढायो। त्‍यो फर्केर आउनेचाहिँ सामरी थियो। अनि येशूले भन्‍नुभयो, “दशै जना निको भएका होइनन् र? अरू नौ जनाचाहिँ कहाँ छन्? यिनी सामरीबाहेक अरूचाहिँ परमेश्‍वरलाई धन्‍यवाद चढाउन किन आएनन्?” त्‍यसपछि येशूले त्‍यो सामरीलाई भन्‍नुभयो, “अब जाऊ, तिम्रो विश्‍वासले नै तिमीलाई निको पारेको हो।”

लूका 17 पढ्नुहोस्