दोषबलि चढाउने नियमहरू यी हुन्, यो एउटा अति पवित्र बलि हो। यस बलिमा चढाइने पशु वेदीको उत्तरपट्टि मारिनुपर्छ, जहाँ होमबलिका पशुहरू मारिन्छन् र त्यसको रगत वेदीको चारैपट्टि छर्किनुपर्छ। त्यसको सबै बोसो निकालेर वेदीमा चढाउनुपर्छ, बोसे-पुच्छर र भित्री अङ्गमाथिको बोसो र बोसोसहित मृगौला र कलेजोको सर्वोत्तम बोसे भाग त्यसरी चढाइनुपर्छ। सबै बोसो पूजाहारीले वेदीमा बलि चढाओस्। त्यो दोषबलि हो। पूजाहारीहरूको परिवारले पुरुषले त्यो खाओस्, तर त्यो पवित्रस्थानमा खाइयोस् किनभने त्यो अति पवित्र छ। पापबलि र दोषबलि दुवैमा एउटै नियम लागू हुनेछ– मासुचाहिँ बलि चढाउने पूजाहारीकै हुनेछ। होमबलि चढाइएका पशुको छालाचाहिँ पूजाहारीकै हुनेछ। चुलामा सेकाएको वा भाँडा वा ताप्केमा पकाएको हरेक अन्नबलि परमेश्वरकहाँ बलि चढाउने पूजाहारीकै हो। तर नपकाएको अन्नबलि तेल मुछेको होस् वा सुक्खा, सबै हारूनवंशी पूजाहारीहरूको हो र तिनले त्यो बराबर बाँडून्। परमप्रभुलाई चढाएको मेलबलिको लागि यस्तो नियम छ। यदि उसले त्यो बलि परमेश्वरलाई धन्यवाद दिन चढाएको हो भने बलिको पशुसित खमिरबिनाको रोटी पनि चढाओस्। त्यस्तो रोटी जैतुनको तेल मिसाएको पिठोले बनेको बाक्लो रोटी र फुरौला वा जैतुनको तेल दलेको स-साना रोटी होस्। त्यसबाहेक खमिर हालेर पकाएको बाक्लो रोटी चढाओस्। हरप्रकारको रोटीको एक भाग त्यसले विशेष भेटीको रूपमा परमप्रभुलाई चढाओस्, त्यो पशुको रगत लिएर वेदीमा छर्कने पूजाहारीको हुनेछ। पशुको मासुचाहिँ बलि चढाइएको दिनमा नै खाइनुपर्छ, त्यसलाई भोलिपल्ट बिहानसम्म नउबार्नू। यदि कोही मानिसले आफ्नो वाचा पूरा गर्न अथवा आफ्नो इच्छाले चढाएको भेटीको रूपमा मेलबलि चढाउँछ भने बलि चढाएकै दिनमा ती सबै खानुपर्दैन तर उब्रेको जति भोलिपल्ट खाए हुन्छ। तेस्रो दिनसम्म पनि उब्रेको मासुचाहिँ जलाइनुपर्नेछ। त्यस्तो मासु तेस्रो दिनमा खायो भने परमेश्वरले त्यस मानिसको भेटी ग्रहण गर्नुहुनेछैन। त्यस भेटीको केही मूल्य हुनेछैन तर त्यो अशुद्ध गनिनेछ र जसले त्यो खानेछ, उसले त्यसको फल भोग्नेछ। रीतिअनुसार कुनै अशुद्ध कुराले त्यो मासुलाई छोयो भने सो मासु खानुहुँदैन तर जलाइनुपर्नेछ। जो मानिस रीतिअनुसार शुद्ध छ, उसले त्यो मासु खान सक्नेछ, तर जो अशुद्ध छ, त्यसले खायो भने त्यसलाई परमेश्वरको जन मानिनेछैन। साथै मानिस वा पशुसँग सम्बन्धित रीतिअनुसार कुनै अशुद्ध कुरो छोएर कसैले त्यो मासु खायो भने त्यसलाई परमेश्वरको जन मानिनेछैन। इस्राएलीहरूको निम्ति परमप्रभुले मोशालाई यी नियमहरू दिनुभयो। गाई-गोरु, भेडा वा बाख्राको बोसो नखानू। आफैं मरेको वा जङ्गली जनावरले मारेको पशुको बोसो नखानू, तर त्यसलाई अरू काममा चलाए हुन्छ। जसले परमप्रभुलाई बलि चढाएको पशुको बोसो खाला, त्यसलाई परमेश्वरको जन मानिनेछैन। इस्राएलीहरू जहीँ बास गरे पनि तिनीहरूले पशु पंक्षीका रगत नखाऊन्। जसले यो नियम तोड्छ, त्यो परमेश्वरको जन मानिनेछैन।
लेवी 7 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लेवी 7:1-27
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू