YouVersion लोगो
खोज आइकन

लेवी 25:1-23

लेवी 25:1-23 सरल नेपाली

परमप्रभु मोशासित सीनै पर्वतमा बोल्‍नुभयो र इस्राएलका मानिसहरूलाई यी नियमहरू दिने आज्ञा गर्नुभयो, जब तिमीहरू परमप्रभुले दिनुभएको देशमा पस्‍नेछौ, तब सातौँ वर्षमा जमिनमा केही कुरो नरोप्‍नू र त्‍यसरी परमप्रभुलाई आदर दिनू। तिमीहरूले आफ्‍ना खेतबारीमा ६ वर्षसम्‍म अन्‍न लाउनू, दाखबारी छिँवल्‍नू र आफ्‍ना अन्‍न बटुल्‍नू। तर सातौँ वर्ष जमिनको निम्‍ति परमप्रभुलाई अर्पण गरिएको पूरा विश्रामको वर्ष हुनेछ। त्‍यस वर्ष खेतमा अन्‍न नलाउनू अनि दाखबारी नछिंवल्‍नू। नरोपी आफैं उम्रेका बाली पनि नबटुल्‍नू अनि नछिंवलेका दाखबारीबाट अङ्‌गुर नटिप्‍नू। यो जमिनको निम्‍ति पूरा विश्राम गर्ने वर्ष हो। त्‍यस वर्ष जमिनमा अन्‍न नरोपेको भए तापनि त्‍यस जमिनले तिमीहरूलाई तिम्रा कमारा-कमारी, ज्‍यालामा काम गर्न आएका व्‍यक्तिहरू, तिमीहरूसित बास गर्ने विदेशीहरू, तिम्रा घरेलु पशुहरू र तिम्रा खेतमा भएका जङ्गली जनावरहरूको निम्‍ति भोजन जुटाइदिनेछ। त्‍यहाँ उब्‍जनी भएका सबै थोक खाए हुन्‍छ। सात गुना सात वर्ष, जम्‍मा उनन्‍चास वर्ष गन्‍नू। तब सातौँ महिनाको दशौँ दिन अर्थात् प्रायश्‍चितको दिन एक जना मानिसलाई सारा देशमा तुरही फुक्‍दै जान लाउनू। यसरी तिमीहरूले पचासौँ वर्ष अलग छुट्ट्याउनू र सबै देशबासीहरूलाई स्‍वतन्‍त्रताको घोषणा गरिदिनू। त्‍यस वर्ष बिक्री भएका सारा सम्‍पत्तिहरू तिनका पहिलेका मालिकहरू वा तिनका सन्‍तानलाई फर्काइदिनू। अनि कमारा बनाएर बेचिएको जो छ, त्‍यो आफ्‍नो परिवारमा फर्की जाओस्। तिमीहरूले आफ्‍ना खेतमा अन्‍न नरोप्‍नू वा आफैं उम्रेका अन्‍नबाली नबटुल्‍नू वा नछिँवलेको दाखबारीबाट अङ्‌गुर नटिप्‍नू। त्‍यो वर्षभरि तिमीहरूको लागि पवित्र हुनेछ र खेतबारीमा आफैं उब्‍जनी भएका अन्‍न मात्र तिमीहरूले खानेछौ। त्‍यो वर्ष बिक्री भएका सबै सम्‍पत्तिहरू तिनका पहिलेका मालिकहरूलाई फर्काइदिनू। यसरी तिमीहरूले आफ्‍नो इस्राएली छिमेकीसित जमिन किन-बेच गर्दा अनुचित व्‍यवहार नगर्नू। अर्को आउने पुनर्स्‍थापनको वर्षसम्‍ममा कति वर्ष जमिनले अन्‍न उब्‍जाउन सक्‍छ, त्‍यही बमोजिम जमिनको दाम तोकिनुपर्छ। उब्‍जनीका वर्षहरू धेरै छन् भने दाम धेरै हुनेछ, कम छन् भने दाम कम हुनेछ किनभने जमिनले कति बाली दिन्‍छ, त्‍यहीअनुसार जमिनको दाम तोकिनुपर्छ। आफ्‍नै इस्राएली भाइलाई नठग तर परमप्रभु तिमीहरूका परमेश्‍वरको आज्ञा मान। परमप्रभुका सबै नियम र आज्ञाहरू पालन गर र तिमीहरू देशमा कुशलसित जिइरहनेछौ। जमिनले अन्‍न उमार्नेछ र तिमीहरूले पर्याप्‍त खान पाउनेछौ र सुरक्षासँग बास गर्नेछौ। बाली-नाली नलाउने र अन्‍न नबटुल्‍ने सातौँ वर्षमा के खाने भनी कसैले सोध्‍ला। परमप्रभुले छैटौँ वर्षमा जमिनलाई आशिष् दिनुहुनेछ र त्‍यस वर्ष दुई वर्षसम्‍म खान पुग्‍ने उब्‍जनी हुनेछ। आठौँ वर्ष जब तिमीहरूले आफ्‍ना खेतबारीमा अन्‍न लाउनेछौ, तब तिमीहरूले छैटौँ वर्षमा बटुलेको उब्‍जनी नै खाइरहेका हुनेछौ र त्‍यस वर्षमा लाएको अन्‍नबाली नबटुलुञ्‍जेलसम्‍म पुग्‍दो खानेकुरा तिमीहरूसित हुनेछ। तिमीहरूले जमिन सधैँको लागि बेच्‍नुहुन्‍न किनभने त्‍यो तिमीहरूको जमिन होइन, त्‍यो परमेश्‍वरको हो र तिमीहरू ती चलाउनलाई अनुमति पाएका विदेशीहरूजस्‍ता हौ।

लेवी 25 पढ्नुहोस्