लेवीहरू 25:1-23
लेवीहरू 25:1-23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभुले सीनै पर्वतमा मोशालाई भन्नुभयो, “इस्राएलीहरूलाई यसो भन्: ‘मैले तिमीहरूलाई दिने देशमा तिमीहरू पुगेपछि भूमिले पनि परमप्रभुको निम्ति एउटा शबाथ मनाओस्। छ वर्ष आफ्नो खेत रोप्नू। छ वर्ष आफ्ना दाखबारीहरू छिँवल्नू, र तिनका फलहरू बटुल्नू। तर सातौँ वर्षमा भूमिलाई विशेष शबाथ होस्— परमप्रभुको निम्ति एउटा शबाथ। सातौँ वर्षमा तिमीहरूले खेत नरोप्नू, दाखबारी नछिँवल्नू, तिमीहरूको फसलमा आफै उम्रेको उब्जनी नकाट्नू, नछिँवलेको बोटका दाखहरू जम्मा नगर्नू। भूमिलाई त्यो विशेष विश्रामको वर्ष होस्। त्यस भूमिले विश्रामको वर्षमा दिएको उब्जनी नै तिमीहरूका निम्ति, तिमीहरूका दास-दासी, नोकर-चाकर, तिमीहरूसँग बसोबास गर्ने परदेशी, तिमीहरूका गाईबस्तु, र देशका पशुपक्षीका लागि खाना हुनेछ। त्यस वर्षमा देशको सबै उब्जनी खाए पनि हुन्छ। “‘तिमीहरूले आफ्नो लागि सात शबाथका वर्षहरू, अर्थात् सात गुणा सात वर्ष गन्नू। तब सात शबाथका वर्ष, अर्थात् उनन्चास वर्ष हुनेछ। अनि सातौँ महिनाको दशौँ दिन चर्को बज्ने तुरही बजाउन लगाउनू। प्रायश्चितको दिनमा तिमीहरूको देशभरि त्यो तुरही बजाउन लगाउनू। पचासौँ वर्षलाई पवित्र मान्नू, र सारा देशका बासिन्दाहरूलाई स्वतन्त्रताको घोषणा गर्नू। त्यो तिमीहरूका लागि पुनर्स्थापनको वर्ष होस्, र हरेक मानिस आफ्नो जग्गाजमिन र आफ्नो परिवारमा फर्कोस्। त्यो पचासौँ वर्ष तिमीहरूको निम्ति पुनर्स्थापनको वर्ष हुनेछ। त्यो वर्ष तिमीहरूले केही नरोप्नू, अनि आफै उम्रेका अन्न-बालीहरूको कटनी नगर्नू, नछिँवलेका लहराहरूबाट दाखहरू जम्मा नगर्नू। किनभने यो पुनर्स्थापनको वर्ष हो। त्यो तिमीहरूका लागि पवित्र होस्। खेतमा आफै उम्रेको उब्जनी तिमीहरूले त्यस वर्ष खानेछौ। “‘त्यस पुनर्स्थापनको वर्षमा हरेक मानिस आफ्नो जग्गाजमिनमा फर्कोस्। “‘आफ्नो छिमेकीसित जमिनको किनबेच गर्दा एक-अर्कालाई अन्याय नगर्नू। पुनर्स्थापनको वर्षको पछिका वर्षहरू हिसाब गरेर तिमीहरूले छिमेकीसित किन्नू, र बाँकी वर्षका उब्जनीको हिसाब गरेर त्यसले तिमीहरूलाई बेचोस्। जति धेरै वर्ष बाँकी रहन्छ त्यति दाम तिमीहरूले बढ़ाउनू, र जति थोरै वर्ष बाँकी रहन्छ त्यति नै तिमीहरूले घटाउनू, किनभने उब्जनीको हिसाबअनुसार त्यो जमिन त्यसले तिमीहरूलाई बेचेको हो। तिमीहरूले एक-अर्काबाट फाइदा नउठाउनु। तर तिमीहरूले आफ्ना परमेश्वरको भय मान्नू, किनभने म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। “‘तिमीहरूले मेरा विधिविधानहरू पालन गरेर ती पूरा गर। तब तिमीहरू त्यस देशमा सुरक्षित रहनेछौ। भूमिले आफ्नो उब्जनी दिनेछ, र खानु-पिउनुमा तिमीहरूलाई दु:ख हुनेछैन, अनि तिमीहरू देशमा निर्धक्क बस्न पाउनेछौ। “बाली नलगाई, फसल नउठाई सातौँ वर्षमा चाहिँ हामीले के खाने?” भनी तिमीहरू भन्छौ भने, छैटौँ वर्षमा म आफ्नो आशिष् तिमीहरूलाई दिनेछु, र भूमिले तीन वर्षको फसल उब्जाउनेछ। तिमीहरूले आठौँ वर्षमा रोपाइँ गर्दा, पुरानै उब्जनी खाँदैरहनू। नवौँ वर्षमा बाली नलागेसम्म तिमीहरूले त्यो पुरानै अन्न खाँदैरहनू। “‘जमिन सधैँको निम्ति नबेच्नू। किनभने जमिनचाहिँ मेरो हो। तिमीहरू त परदेशी र प्रवासी भई मसित बसेका छौ।
लेवीहरू 25:1-23 पवित्र बाइबल (NERV)
परमप्रभुले सीनै पर्वतमा मोशालाई भन्नुभयो, “इस्राएलका मानिसहरूलाई भन, जब तिमीहरू जमीनमा पुग्छौ, जो म तिमीहरूलाई दिन्छ, त्यस समय तिमीहरूले परमप्रभुको सम्मानमा भूमिलाई विशेष विश्राम दिनु पर्छ। छ बर्षसम्म तिमीहरूले बीऊहरू रोप्न सक्छौ अनि छ बर्ष सम्म दाख बगैंचामा कलम काट्न सक्छौ, फलहरू बटुल्न सक्छौ। तर सातौं बर्षमा तिमीहरूले जमीनलाई विश्राम दिएर त्यहाँ बीऊहरू छर्ने छैनौ, त्यहाँका बोटहरू छिमोल्ने छैनौं कारण परमप्रभुको सम्मानमा यो विशेष विश्राम हुनेछ। उब्जनी उठाइसकेपछि त्यहाँ आफैं उम्रेका बोटहरूबाट अन्न उठाउनु सक्तैनौ अनि नछिमोलेको दाख बोटहरूबाट फल बटुल्न सक्तैनौ। जमीनले एक बर्ष विश्राम पाउनेछ। “यदि भूमिलाई विश्राम दिएको भएता पनि तिमीहरूको निम्ति अनि तिमीहरूका मानिसहरूको अनि नोकर-नोकरनीहरूको निम्ति दैनिक मजदूरहरू तथा तिमीहरूसँग बस्ने विदेशीहरूको निम्ति प्रशस्त फसल हुनेछ। तिमीहरूले घरेलू र अरू पशुहरूको निम्ति पनि त्यहाँ प्रशस्त फसल हुनेछ। “तिमीहरूले सात बर्ष सात पल्ट गन्नु जसको प्रतिफल 49 बर्ष निस्कन्छ। त्यस समयको अवघिमा त्यहाँ भूमिलाई सात बर्षको निम्ति विश्राम हुनेछ। सातौं महीनाको दशौं दिन जुन प्रायश्चितको दिन हुन्छ भेंडाको सींङको तुरही बजाउनु। यो सारा देशभरि बजाउनु पर्छ। तिमीहरूले पचासौं बर्षलाई विशेष बर्षको रूपमा मनाउनेछौ अनि सारा देशका सबै मानिसहरूको निम्ति स्वतन्त्रताको घोषणा गर्नेछौ, जसलाई जयन्ती उत्सवको रूपमा मनाइनेछ। यस समयमा प्रत्येक मानिसले आफ्नो सम्पत्ति फिर्ता पाउनेछ। प्रत्येक सेवक आफ्नो घरमा फर्किनेछ। आफ्नो घर-जमीनमा जानेछ, आफ्नो परिवार भएकोमा फर्केर जानेछ। तिमीहरूको निम्ति यो पचासौं बर्ष एक विशेष उत्सवको बर्ष हुनेछ। त्यति बेला कुनै पनि बीऊ नछर विजन नलगाऊ, आफैं फलेको अन्न नउठाऊ अनि नछिमोलेको दाखबाट नबटुल। यो बर्ष तिमीहरूको निम्ति महोत्सवको बर्ष हो र यो पवित्र समय मान्नु। तिमीहरूले खेतमा उठाएको अन्न खानु। जयन्ती बर्षमा प्रत्येक मानिसले आफ्नो सम्पत्ति फिर्ता पाउनेछ। “जब तिमीहरूले आफ्नो जमीन बेच्दा आफ्ना छिमेकीहरूलाई नठग। उसले पनि तिमीलाई नठगोस् जब तिमी ऊबाट जमीन किन्छौ। जब तिमी तिमीहरूको छिमेकीको जमीन किन्छौ तब विगत बर्षको उत्सवको संख्यालाई गन र उचित मूल्य गणना गर्नु ती संख्याहरू प्रयोग गर। किनभने तिम्रो छिमेकीले तिमीलाई अर्को (उत्सव) सम्म सही तरीकाले खेती-पाती गर्नको निम्ति बेचेको छ। तिमीले बर्षहरू अनुसार दामको हिसाब गर्नु पर्छ। यदि त्यहाँ धेरै बर्षहरू बाँकी रहे उत्सव दाम ज्यादा हुनु पर्छ। यदि बर्षहरू कम्ति भए दाम कम्ति हुनु पर्छ। किनभने उसले तिमीलाई अन्नहरू संख्याहरू मात्र बेचेका हुन्। एकार्कालाई नठग। आफ्नो परमेश्वरलाई आदर गर। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। “मेरो विधि-विधानहरू याद राखेर पालन गरे तिमीहरू आफ्नो जमीनमा आराम साथ बस्न सक्छौ। अनि जमीनले प्रशस्त बाली उब्जाउनेछ र तिमीहरूसित अन्नको केही कमी नहुँदा तिमीहरू आनन्दले बाँच्नु सक्छौ। “तर हुन सक्छ तिमीहरूले भन्न सक्छौ, ‘यदि हामीले बीऊ छरेनौ अथवा बाली उठाएनौ भने सातौं बर्षमा खाने हामी सित केही रहँदैन।’ चिन्ता नगर! छैटौं बर्षमा म मेरो आशीर्वाद दिने छु जसले गर्दा जमीनले तीन बर्षको निम्ति बाली उब्जाउनेछ। जब तिमीहरू आठौं बर्ष बाली लगाउँछौ त्यस समयमा पहिलेको अन्न नै खाइरहेको हुनेछौ। नवौंबर्ष तिमीहरूको बाली पाकी सक्दा पनि तिमी त्यही पुरानो अन्न नै खाँदै गरेका हुनेछौ। “भूमि साँच्चै नै मेरो हो यसकारण तिमीहरूले सदाको निम्ति बेच्न सक्तैनौ। तिमीहरू त मेरो जमीनमा मसँग बस्न आएका परदेशी अथवा यात्रीहरू मात्र हौ।
लेवीहरू 25:1-23 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभु मोशासित सीनै पर्वतमा बोल्नुभयो र इस्राएलका मानिसहरूलाई यी नियमहरू दिने आज्ञा गर्नुभयो, जब तिमीहरू परमप्रभुले दिनुभएको देशमा पस्नेछौ, तब सातौँ वर्षमा जमिनमा केही कुरो नरोप्नू र त्यसरी परमप्रभुलाई आदर दिनू। तिमीहरूले आफ्ना खेतबारीमा ६ वर्षसम्म अन्न लाउनू, दाखबारी छिँवल्नू र आफ्ना अन्न बटुल्नू। तर सातौँ वर्ष जमिनको निम्ति परमप्रभुलाई अर्पण गरिएको पूरा विश्रामको वर्ष हुनेछ। त्यस वर्ष खेतमा अन्न नलाउनू अनि दाखबारी नछिंवल्नू। नरोपी आफैं उम्रेका बाली पनि नबटुल्नू अनि नछिंवलेका दाखबारीबाट अङ्गुर नटिप्नू। यो जमिनको निम्ति पूरा विश्राम गर्ने वर्ष हो। त्यस वर्ष जमिनमा अन्न नरोपेको भए तापनि त्यस जमिनले तिमीहरूलाई तिम्रा कमारा-कमारी, ज्यालामा काम गर्न आएका व्यक्तिहरू, तिमीहरूसित बास गर्ने विदेशीहरू, तिम्रा घरेलु पशुहरू र तिम्रा खेतमा भएका जङ्गली जनावरहरूको निम्ति भोजन जुटाइदिनेछ। त्यहाँ उब्जनी भएका सबै थोक खाए हुन्छ। सात गुना सात वर्ष, जम्मा उनन्चास वर्ष गन्नू। तब सातौँ महिनाको दशौँ दिन अर्थात् प्रायश्चितको दिन एक जना मानिसलाई सारा देशमा तुरही फुक्दै जान लाउनू। यसरी तिमीहरूले पचासौँ वर्ष अलग छुट्ट्याउनू र सबै देशबासीहरूलाई स्वतन्त्रताको घोषणा गरिदिनू। त्यस वर्ष बिक्री भएका सारा सम्पत्तिहरू तिनका पहिलेका मालिकहरू वा तिनका सन्तानलाई फर्काइदिनू। अनि कमारा बनाएर बेचिएको जो छ, त्यो आफ्नो परिवारमा फर्की जाओस्। तिमीहरूले आफ्ना खेतमा अन्न नरोप्नू वा आफैं उम्रेका अन्नबाली नबटुल्नू वा नछिँवलेको दाखबारीबाट अङ्गुर नटिप्नू। त्यो वर्षभरि तिमीहरूको लागि पवित्र हुनेछ र खेतबारीमा आफैं उब्जनी भएका अन्न मात्र तिमीहरूले खानेछौ। त्यो वर्ष बिक्री भएका सबै सम्पत्तिहरू तिनका पहिलेका मालिकहरूलाई फर्काइदिनू। यसरी तिमीहरूले आफ्नो इस्राएली छिमेकीसित जमिन किन-बेच गर्दा अनुचित व्यवहार नगर्नू। अर्को आउने पुनर्स्थापनको वर्षसम्ममा कति वर्ष जमिनले अन्न उब्जाउन सक्छ, त्यही बमोजिम जमिनको दाम तोकिनुपर्छ। उब्जनीका वर्षहरू धेरै छन् भने दाम धेरै हुनेछ, कम छन् भने दाम कम हुनेछ किनभने जमिनले कति बाली दिन्छ, त्यहीअनुसार जमिनको दाम तोकिनुपर्छ। आफ्नै इस्राएली भाइलाई नठग तर परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञा मान। परमप्रभुका सबै नियम र आज्ञाहरू पालन गर र तिमीहरू देशमा कुशलसित जिइरहनेछौ। जमिनले अन्न उमार्नेछ र तिमीहरूले पर्याप्त खान पाउनेछौ र सुरक्षासँग बास गर्नेछौ। बाली-नाली नलाउने र अन्न नबटुल्ने सातौँ वर्षमा के खाने भनी कसैले सोध्ला। परमप्रभुले छैटौँ वर्षमा जमिनलाई आशिष् दिनुहुनेछ र त्यस वर्ष दुई वर्षसम्म खान पुग्ने उब्जनी हुनेछ। आठौँ वर्ष जब तिमीहरूले आफ्ना खेतबारीमा अन्न लाउनेछौ, तब तिमीहरूले छैटौँ वर्षमा बटुलेको उब्जनी नै खाइरहेका हुनेछौ र त्यस वर्षमा लाएको अन्नबाली नबटुलुञ्जेलसम्म पुग्दो खानेकुरा तिमीहरूसित हुनेछ। तिमीहरूले जमिन सधैँको लागि बेच्नुहुन्न किनभने त्यो तिमीहरूको जमिन होइन, त्यो परमेश्वरको हो र तिमीहरू ती चलाउनलाई अनुमति पाएका विदेशीहरूजस्ता हौ।