YouVersion लोगो
खोज आइकन

लेवी 14:1-20

लेवी 14:1-20 सरल नेपाली

कुनै मानिसको डरलाग्‍दो छालाको रोग निको भएपछि विधिअनुसार त्‍यसको शुद्धीकरणको निम्‍ति मान्‍नुपर्ने यी नियमहरू परमप्रभुले मोशालाई दिनुभयो। जुन दिन त्‍यसलाई शुद्ध भनी ठहराइनेछ, त्‍यस दिन त्‍यसलाई पूजाहारीकहाँ ल्‍याउनू। पूजाहारीले त्‍यसलाई छाउनी बाहिर लगेर जाँच गर्नेछ। रोग निको भएको छ भने पूजाहारीले एक जोर विधिअनुसार शुद्ध चरा साथै एक टुक्रा देवदारुको काठ, रातो धागो र एक डाँक्‍लो हिसप ल्‍याउन लाओस्। तब पूजाहारीले एउटा चरोलाई मूल फुटेर निस्‍केको चोखो पानी हालेको माटोको भाँडोमाथि मार्न लाओस्। त्‍यसपछि अर्को चरो लिएर त्‍यसलाई देवदारुको काठ, रातो धागो र हिसपसँग त्‍यस मारिएको चराको रगतमा चोपोस्। उसले छालाको रोगबाट निको भएको मानिसमाथि सातपल्‍ट रगत छर्कोस् र त्‍यसलाई शुद्ध ठहराओस्। जिउँदो चरोलाई उसले खुला मैदानमा उडाइदेओस्। त्‍यस मानिसले आफ्‍ना लुगा धोओस्, केश खौरोस् र नुहाओस्। त्‍यसपछि त्‍यो विधिअनुसार शुद्ध हुनेछ। त्‍यो छाउनीमा पस्‍न सक्‍छ तर सात दिनसम्‍म आफ्‍नो पालदेखि बाहिर बस्‍नुपर्छ। सातौँ दिन त्‍यसले फेरि केश, दाह्री, आँखीभूइँ र शरीरका सबै रौँहरू खौरोस्, आफ्‍ना लुगा धोओस् र नुहाओस्। तब त्‍यो विधिअनुसार शुद्ध हुनेछ। आठौँ दिनमा त्‍यसले निष्‍खोट दुईवटा भेडाका पाठा र एउटी एकवर्षे पाठी, जैतुनको तेल मुछेको तीन किलोग्राम पिठो र एक लिटरको तीन भागको एक भाग जैतुनको तेल ल्‍याओस्। पूजाहारीले त्‍यो मानिस र ती भेटीहरूलाई परमप्रभुको पवित्र पालको ढोकामा लैजाओस्। पूजाहारीले एउटा भेडाको पाठो लिएर एक लिटरको तीन भागको एक भाग जैतुनको तेलसित दोषबलि चढाओस्। उसले ती कुराहरू विशेष भेटीको रूपमा परमप्रभुलाई पूजाहारीहरूका निम्‍ति चढाउनेछ। पापबलि र होमबलिका निम्‍ति चढाइएका पशुहरू मारिने पवित्रस्‍थानमा त्‍यस पाठोलाई पूजाहारीले मार्नेछ। उसले यो काम गर्नुपर्छ किनभने पापबलिझैँ दोषबलि पनि पूजाहारीको लागि हो अनि त्‍यो अति पवित्र छ। पूजाहारीले पाठाको केही रगत लिएर जुन मानिसलाई विधिअनुसार शुद्ध भनी ठहराउनुपर्छ, त्‍यसका दाहिने कानको लोती र दाहिने हात र खुट्टाका बुढीऔँलाहरूमा लगाइदेओस्। केही जैतुनको तेल पूजाहारीले लिएर आफ्‍नो देब्रे हातको हत्‍केलामा खन्‍याओस्, दाहिने हातको एउटा औँलो त्‍यो तेलमा चोबेर सातपल्‍ट त्‍यहाँ परमप्रभुको अघि तेल छर्कोस्। हत्‍केलामा बचेको केही तेल र पाठोको केही रगत लिएर उसले जुन मानिसलाई विधिअनुसार शुद्ध भनी ठहराउनुपर्छ, त्‍यसका दाहिने कानको लोती र दाहिने हात र खुट्टाका बुढी औँलामा लगाइदेओस्। तब हत्‍केलामा बचेको तेल उसले त्‍यस मानिसको शिरमा लगाइदेओस्। यस प्रकारले पूजाहारीले शुद्धीकरणको विधि पूरा गर्नेछ। त्‍यसपछि पूजाहारीले पापबलि चढाएर शुद्धीकरणको विधि पूरा गर्नेछ। तब उसले होमबलि चढाइने पशु मार्नेछ र अन्‍नबलिसित त्‍यसलाई वेदीमा चढाउनेछ। यस प्रकारले पूजाहारीले शुद्धीकरणको विधि पूरा गर्नेछ र त्‍यो मानिस विधिअनुसार शुद्ध हुनेछ।

लेवी 14 पढ्नुहोस्