YouVersion लोगो
खोज आइकन

लेवीहरू 14:1-20

लेवीहरू 14:1-20 NNRV

परमप्रभुले मोशालाई भन्‍नुभयो, “रोगीलाई शुद्ध गर्दा यी विधिहरू पालन गर्नू। त्‍यस दिन त्‍यसलाई पूजाहारीकहाँ ल्‍याइओस्‌। पूजाहारीले त्‍यसलाई छाउनीबाहिर लगेर त्‍यसको जाँच गरून्‌। छालाको त्‍यो सरुवा रोग निको भएछ भने, त्‍यसको निम्‍ति दुई वटा जिउँदो शुद्ध पक्षी, देवदारुको काठ, हिसप र सिन्‍दूरे रङ्गको धागो ल्‍याउनू भनी पूजाहारीले आज्ञा देऊन्। तब पूजाहारीले ती पक्षीहरूमध्‍ये एउटालाई माटोको भाँड़ामा भएको ताजा पानीमाथि मार्ने आज्ञा देऊन्। त्‍यो जिउँदो पक्षीलाई चाहिँ देवदारुको काठ, सिन्‍दूरे रङ्गको धागो र हिसपसमेत लिई त्‍यही माटोको भाँड़ामा भएको ताजा पानीमाथि मारिएको पक्षीको रगतमा तिनले चोपलून्‌। सरुवा रोगबाट शुद्ध हुनुपर्नेमाथि सात पल्‍ट छर्केर तिनले त्‍यसलाई शुद्ध ठहराऊन्‌। तब तिनले त्‍यो जिउँदो पक्षीलाई खुला मैदानमा छोड़िदेऊन्। “त्‍यो शुद्ध हुनुपर्नेचाहिँले आफ्‍ना लुगा धोओस्, र आफ्‍ना सबै केश खौरेर नुहाओस्, अनि त्‍यो शुद्ध हुनेछ। त्‍यसपछि त्‍यो छाउनीभित्र आओस्, तर सात दिनसम्‍म आफ्‍नो पालबाहिर नै त्‍यो बस्‍नुपर्छ। सातौँ दिनमा त्‍यसले आफ्‍ना सबै केश, दाह्री र आँखीभुइँ, अर्थात्‌ आफ्‍ना सबै रौँ खौरोस्‌। त्‍यसले आफ्‍ना लुगा धोएर आफ्‍नो शरीर पानीले नुहाओस्, अनि त्‍यो शुद्ध हुनेछ। “आठौँ दिनमा त्‍यसले दुई वटा निष्‍खोट भेड़ाका पाठा र एक वर्षे एउटी निष्‍खोट पाठी, र अन्‍नबलिको लागि तेलमा मुछेको डेढ़ पाथी मसिनो पीठो, र आधा माना तेल ल्‍याओस्‌। त्‍यो शुद्ध हुनुपर्ने मानिसलाई ती सामानहरूसमेत भेट हुने पालको ढोकामा परमप्रभुको सामुन्‍ने शुद्ध ठहराउने पूजाहारीले प्रस्‍तुत गर्नेछन्‌। “तब पूजाहारीले त्‍यो आधा मानाको तेलसमेत भेड़ाका पाठाहरूमध्‍ये एउटा लिएर दोषबलि गरी चढ़ाऊन्, र डोलाइने बलिको निम्‍ति ती परमप्रभुको सामु डोलाऊन्‌। अनि त्‍यसले पापबलि र होमबलि मारिने पवित्र ठाउँमा त्‍यो पाठो मारोस्, किनकि पापबलि पूजाहारीको भएझैँ दोषबलि पनि त्‍यसैको हुन्‍छ। त्‍यो अति पवित्र हो। तब पूजाहारीले दोषबलिको केही रगत लिएर शुद्ध हुनुपर्नेको दाहिने कानको लोती, दाहिने हातको बूढ़ी-औँलो र दाहिने खुट्टाको बूढ़ी-औँलामा लगाइदेऊन्। फेरि पूजाहारीले आधा माना तेल लिएर आफ्‍नो देब्रे हातको हत्‍केलामा केही खन्‍याऊन्‌। पूजाहारीले आफ्‍नो दाहिने हातको औँलो देब्रे हातमा रहेको तेलमा चोपलेर त्‍यसबाट केही लिएर आफ्‍नो औँलाले परमप्रभुको सामु सात पल्‍ट छर्कून्‌। अनि पूजाहारीले आफ्‍नो हातमा रहेको तेलबाट केही लिएर त्‍यो शुद्ध हुनुपर्नेको दाहिने कानको लोती, त्‍यसको दाहिने हातको बूढ़ी-औँलो र त्‍यसको दाहिने खुट्टाको बूढ़ी-औँलामा दोषबलिको रगतमाथि लगाइदेऊन्। पूजाहारीले आफ्‍नो हातमा रहेको बाँकी तेल त्‍यस शुद्ध हुनुपर्नेको टाउकोमा लगाइदेऊन्, अनि तिनले परमप्रभुको सामु त्‍यसको निम्‍ति प्रायश्‍चित गरून्‌। “तब त्‍यो अशुद्धपनाबाट शुद्ध हुनुपर्ने कारणले पूजाहारीले पापबलि चढ़ाएर त्‍यसको निम्‍ति प्रायश्‍चित गरून्‌। त्‍यसपछि तिनले होमबलि मारून्‌। पूजाहारीले होमबलि र अन्‍नबलि वेदीमा चढ़ाऊन्, र त्‍यसको निम्‍ति प्रायश्‍चित गरून्, र त्‍यो शुद्ध हुनेछ।