YouVersion लोगो
खोज आइकन

यहोशू 23:1-16

यहोशू 23:1-16 सरल नेपाली

धेरै दिनपछि परमप्रभुले इस्राएललाई तिनका चारैपट्टिका शत्रुहरूबाट सुरक्षा दिनुभयो। त्‍यस बेलासम्‍ममा यहोशू औधी बुढो भएका थिए। उनले सबै इस्राएली, बुढा-पाका, अगुवा, न्‍यायकर्ता र भारदारहरूलाई बोलाएर भने, “म अब औधी बुढो भएँ। तिमीहरूको लागि परमप्रभु तिम्रा परमेश्‍वरले यी सबै जातिहरूसित के गर्नुभयो, सो सबै देखेका छौ। परमप्रभु तिम्रा परमेश्‍वरले तिम्रा निम्‍ति लडाइँ गरिरहनुभएको छ। पूर्वमा यर्दन नदीदेखि पश्‍चिममा भूमध्‍य सागरसम्‍म ती जातिहरूका देश, जो मैले जितिसकें वा जित्‍न बाँकी छ, ती सबै मैले तिम्रा कुलहरूलाई सम्‍पत्तिको रूपमा बण्‍डा लाइदिएको छु। परमप्रभु तिम्रा परमेश्‍वरले तिनीहरूलाई पछि हट्‍न लाउनुहुनेछ र तिमीहरू अघि बढेर जाँदा तिनीहरूलाई धपाउनुहुनेछ। परमप्रभु तिम्रा परमेश्‍वरले तिमीहरूसित प्रतिज्ञा गर्नुभएझैँ तिमीहरूले तिनीहरूका देश अधीन गर्नेछौ। यसकारण सावधान भई मोशाका नियमहरूका पुस्‍तकमा लेखिएका हरकुरा मान्‍ने र गर्ने गर। त्‍यसको कुनै हिस्‍सालाई नछोड्‍नू र तिम्रा बीचमा छोडिएका यी जातिहरूसित कुनै सम्‍बन्‍ध नजोड्‍नू, तिनका देव-देवताका नाम नलिनू, ती नाम भाकल गर्दा नलिनू, ती देव-देवताको आराधना नगर्नू अनि तिनका अघि आफ्‍ना शिर ननिहुराउनू। बरु जस्‍तो अहिलेसम्‍म रहेका छौ, त्‍यस्‍तै गरी परमप्रभुतिर विश्‍वासयोग्‍य रहनू। तिमीहरू अघि बढ्दै जाँदा परमप्रभुले महान् र शक्तिशाली जातिहरूलाई धपाउनुभयो र कोही पनि तिम्रा विरुद्धमा खडा हुन सकेका छैनन्। तिमीहरूमध्‍ये जोसुकैले पनि हजार जनालाई धपाउन सक्‍नेछौ किनभने परमप्रभुले आफ्‍नो प्रतिज्ञाअनुसार तिम्रा निम्‍ति लडाइँ गर्नुहुनेछ। त्‍यसैले सावधान भएर परमप्रभु तिम्रा परमेश्‍वरलाई प्रेम गर। तिमीहरूले परमेश्‍वरलाई छोड्यौ र तिम्रा माझमा बाँकी रहेका जातिहरूसित एकै भयौ अनि तिनीहरूसित बिहेबारी चलायौ भने यो निश्‍चय जान कि परमप्रभु तिम्रा परमेश्‍वरले तिमीहरू अघि बढेर जाँदा ती जातिहरूलाई फेरि धपाउनुहुनेछैन। तर, तिनीहरू तिम्रा लागि एउटा पासो वा गहिरो खाल्‍टोजस्‍ता डरलाग्‍दा हुनेछन् र तिम्रा पिठ्युँ कोर्राझैँ तथा आँखामा काँडा परेझैँ दु:खदायक हुनेछन्। अनि परमप्रभु तिम्रा परमेश्‍वरले तिमीहरूलाई दिनुभएको यस असल ठाउँबाट तिमीहरू सबै ननासिएसम्‍म यो कुरो भइरहनेछ। “अब मेरो मर्ने बेला आएको छ। तिमीहरू हरेकले आ-आफ्‍ना हृदय र मनभित्र यो कुरो जान्‍दछौ कि परमप्रभु तिम्रा परमेश्‍वरले आफूले प्रतिज्ञा गर्नुभएको हरेक असल कुरो तिमीहरूलाई दिनुभएको छ। उहाँले गर्नुभएको प्रत्‍येक प्रतिज्ञा पूरा भएको छ, एउटै पनि चुकेको छैन। तर जसरी तिमीहरूसित गर्नुभएको हरेक प्रतिज्ञा उहाँले पूरा गर्नुभयो, त्‍यसरी नै उहाँले आफ्‍नो प्रत्‍येक हप्‍की पूरा गर्नुहुनेछ। परमप्रभु तिम्रा परमेश्‍वरले तिमीहरूलाई दिनुभएको करार तिमीहरूले पालन गरेनौ भने र अरू देवीदेवताको सेवा र आराधना गर्‍यौ भने उहाँले आफ्‍नो क्रोधमा तिमीहरूलाई दण्‍ड दिनुहुनेछ अनि उहाँले तिमीहरूलाई दिनुभएको यस असल देशमा एक जना पनि रहन पाउनेछैनौ।”

यहोशू 23 पढ्नुहोस्