YouVersion लोगो
खोज आइकन

यहोशू 13

13
जित्‍न बाँकी रहेका देशहरू
1यहोशू धेरै बुढा भइसकेका थिए। परमप्रभुले उनलाई भन्‍नुभयो, “अब तँ बुढो भइस्; तर जित्‍नुपर्ने देश अझै छन्– 2सारा पलिश्‍त र गशूरी देश 3र दक्षिणमा अव्‍वीहरूको देश। (मिश्री सिमानामा भएको शिहोर खोलादेखि उत्तरमा एक्रोनसम्‍म कनानी देश मानिन्‍थ्‍यो। पलिश्‍तीहरूका राजाहरू गाजा, अश्‍दोद, अश्‍कलोन, गात र एक्रोनमा बास गर्थे।) 4अझै यी देशहरू बाँकी नै छन्– सारा कनानी देश र मारा (जो सीदोनीहरूको हो), एमोरी सिमानामा भएको अपेकसम्‍म 5गबालीहरूको देश, पूर्वपट्टि हेर्मोन पहाडको दक्षिणमा बाल-गाददेखि लिएर हमात घाटीसम्‍म भएको लेबनान। 6#गन्ती 33:54यसभित्र लेबनानका पहाडहरू र मिस्रपोत-मैमका बीचका पहाडी इलाकामा बस्‍ने सीदोनीहरूको सारा देश पर्दछ। इस्राएलका मानिसहरू अघि बढिजाँदा यी सबै जातिहरूलाई म धपाउनेछु। मेरो आज्ञाअनुसार तैँले त्‍यो देश इस्राएलीहरूबीच बण्डा गरिदिनुपर्छ। 7अब यस देशमा बाँकी रहेका नौ कुल र मनश्‍शेका आधा कुलबीच तिनीहरूको आफ्‍नो सम्‍पत्ति बनाएर बाँडिदे।”
यर्दनका पूर्वको देश बन्‍डा गरिन्‍छ
8 # गन्ती 32:33; व्यवस्था 3:12 रूबेन र गादका कुल र मनश्‍शेका आधा कुलले परमप्रभुको सेवक मोशाले दिएको देश पाइसकेका थिए, त्‍यो यर्दन नदीको पूर्वपट्टि थियो। 9त्‍यसका इलाका अरोएर (अर्नोन बेसीका किनारमा) र अर्नोन बेसीका बीचमा भएको सहरसम्‍म फैलिएको थियो अनि मेदबा र दीबोन बीचका टार जम्‍मै त्‍यसभित्र पर्थ्‍यो। 10त्‍यो अम्‍मोनको सिमानासम्‍म पुगेको थियो अनि हेश्‍बोनमा राज गर्ने एमोरी राजा सीहोनका राज्‍यका सबै सहरहरू त्‍यसभित्र पर्थे। 11त्‍यसभित्र गिलाद, गशूरी र माकातीका जमिन, सम्‍पूर्ण हेर्मोन पहाड र सलकासम्‍म सारा बाशान 12अनि अस्‍तारोत र एद्रेईमा राज गर्ने आखिरी रपाईहरूका राजा ओगको देश पर्थे। मोशाले ती मानिसहरूलाई जितेर धपाएका थिए। 13तैपनि इस्राएलीहरूले गशूरी माकातीका मानिसहरूलाई धपाएनन्, अझसम्‍म तिनीहरू इस्राएलमा नै बास गर्छन्।
14 # व्यवस्था 18:1 लेवी कुललाई मोशाले जमिन दिएका थिएनन्। परमप्रभुले मोशालाई भन्‍नुभएअनुसार परमप्रभु इस्राएलका परमेश्‍वरको वेदीमा चढाइएका बलिहरूको एक हिस्‍सा तिनीहरूले आफ्‍ना सम्‍पत्तिका रूपमा पाउँथे।
रूबेनलाई दिएको इलाका
15त्‍यस देशको एक भाग मोशाले रूबेन कुलका परिवारहरूलाई तिनीहरूको सम्‍पत्ति भनी दिएका थिए। 16त्‍यो इलाका अरोएर (अर्नोन बेसीको किनारमा) र अर्नोन बेसीको बीचमा भएको सहर र मेदबाको चारैपट्टिको टारसम्‍म फैलिएको थियो। 17त्‍यसभित्र हेश्‍बोन र टारका सबै सहरहरू दीबोन, बामोत-बाल, बेथ-बाल-मोन, 18यहसा, कदेमोत, मेपात, 19किर्यातैम, सिब्‍मा र बेसीको डाँडामा भएको सेरेथ-शेहार, 20बेथ-पोर, पिसगाको भिरालो पहाड र बेथ-यशीमोत, 21टारका सबै सहर अनि हेश्‍बोनमा राज गर्ने एमोरी राजा सीहोनका सारा राज्‍य पर्थे। मोशाले तिनलाई अनि मिद्यान, एवी, रेकेम, सूर, हूर र रेबाका राजाहरूलाई जिते। ती सबैले सीहोन राजाका अधिकारमुनि त्‍यस देशमा राज गर्दथे। 22इस्राएलका मानिसहरू मारिएकाहरूमध्‍ये एक जना बओरको छोरो जोखना हेर्ने बालाम पनि थिए। 23रूबेन कुलको पश्‍चिमको सिमानामा यर्दन पर्थ्‍यो। रूबेन कुलका परिवारहरूलाई तिनका सम्‍पत्ति बनाउन दिइएका ठूला र साना सहरहरू यिनै थिए।
गादलाई दिइएको इलाका
24त्‍यस देशको अर्को एक भाग मोशाले गाद कुलका परिवारहरूलाई पनि तिनका सम्‍पत्ति भनी दिएका थिए। 25तिनका इलाकामा याजेर गिलादका सबै सहरहरू, आधा अम्‍मोन देश पर्दथे, जो रब्‍बाको पूर्वपट्टि अरोएरसम्‍म पुगेको थियो। 26त्‍यो इलाका हेश्‍बोनदेखि रामत-मस्‍पा र बेतोनीमसम्‍म अनि महनोमदेखि लोदबीरको सिमानासम्‍म फैलिएको थियो। 27यर्दन बेसीका बेथ-हाराम, बेथ-निम्रा, सुक्‍कोत, सापोन र हेश्‍बोनका राजा सीहोनको बाँकी देशभित्र पर्दथे। त्‍यसको पश्‍चिम सिमाना गालीलको समुद्रसम्‍म यर्दन नदी पर्थ्‍यो। 28गाद कुलका परिवारहरूलाई सम्‍पत्तिको रूपमा दिएका ठूला र साना सहरहरू यी नै थिए।
पूर्वपट्टि मनश्‍शेलाई दिएको इलाका
29त्‍यस देशको अर्को एक भाग मोशाले मनश्‍शेका आधा कुलका परिवारहरूलाई आफ्‍ना सम्‍पत्ति बनाउन दिएका थिए। 30तिनका इलाका महनोमसम्‍म फैलिएको थियो र त्‍यसभित्र सारा बाशान अथवा बाशानका राजा ओगका पूरा राज्‍य र बाशानको याईरमा भएका साठी वटा गाउँहरू, 31आधा गिलाद र ओग राजाको बाशान राज्‍यका दुई ठूला सहरहरू, अस्‍तारोत र एद्रई पर्दथे। यी सबै मनश्‍शेको छोरो माकीरका सन्‍तानका आधाजसो परिवारहरूलाई दिइएका थिए।
32मोआबको समतल-भूमिमा छँदा मोशाले यरीहो र यर्दनका पूर्वपट्टिका देश त्‍यस प्रकारले बण्‍डा गरिदिएका थिए। 33#गन्ती 18:20; व्यवस्था 18:2तर लेवी कुलको निम्‍ति मोशाले कुनै जमिन छुट्ट्याइदिएनन्। उनले तिनीहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्‍वरलाई चढाएका भेटीहरूको एक भाग तिमीहरूको सम्‍पत्ति हुनेछ।”

अहिले सेलेक्ट गरिएको:

यहोशू 13: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्