यहोशू 11
11
याबीन र तिनीसँग मिल्ने राजाहरूको हार
1-2इस्राएलको विजयको खबर जब हासोरका राजा याबीनकहाँ पुग्यो, तिनले मादोनका राजा योबाब, शिम्रोन र अक्षापका राजाहरू, उत्तरका पहाडी देश, गालीलका झिलका दक्षिणतिरका यर्दनका बेसी अनि पहाडका फेदी र डोरका छेउका समुद्र किनारमा भएका इलाकाका राजाहरूलाई त्यो खबर पठाए। 3तिनले यर्दनका दुवैपट्टि बास गर्ने कनानीहरू, एमोरी, हित्ती, परिज्जी, पहाडी देशमा बास गर्ने यबूसी र मिस्पा देशको हेर्मोन पहाडका फेदीमा बास गर्ने हिव्वीहरूलाई पनि खबर पठाए। 4तिनीहरू आ-आफ्ना सैनिकहरू लिएर आए र एउटा यस्तो सेना भयो, जसमा समुद्र किनारको बालुवासरि असङ्ख्य सैनिकहरू थिए। तिनीहरूसित धेरै रथ र घोडाहरू पनि थिए। 5यी सबै राजाहरूले आ-आफ्ना सेना एकसाथ मिलाएर इस्राएलको विरुद्धमा लड्नलाई मेरोम खोल्सामा छाउनी हाले।
6परमप्रभुले यहोशूलाई भन्नुभयो, “तिनीहरूसित नडरा। भोलि यही बेलासम्ममा म इस्राएलको खातिर तिनीहरू सबैलाई मारिसक्नेछु। तिमीहरूले तिनका घोडाहरू खोरण्डे पारी रथहरू जलाइदिनुपर्नेछ।” 7यसकारण यहोशू र तिनका सबै सैनिकहरूले अचानक मेरोम खोल्सामा तिनीहरूमाथि हमला गरे। 8परमप्रभुले इस्राएलीहरूलाई तिनीहरूमाथि विजय गराउनुभयो। इस्राएलीहरूले हमला गरी तिनीहरूलाई उत्तरमा मिस्रपोत-मैम र सीदोनसम्म अनि पूर्वमा मिस्पाका बेसीसम्म खेदेर लगे। सबै शत्रुहरू नमारिउन्जेलसम्म युद्ध चल्यो। 9यहोशूले तिनीहरूसित परमप्रभुको आज्ञाअनुसार गरे, तिनका घोडाहरूलाई खोरण्डे पारे र रथहरू जलाइदिए।
10तब यहोशू फर्के र हासोर कब्जा गरे र त्यसका राजालाई मारिदिए। (त्यस बेला हासोर ती सबै राज्यहरूमध्ये सबैभन्दा शक्तिशाली थियो।) 11त्यहाँ भएका सबैलाई तिनीहरूले मारे, कसैलाई जिउँदो छोडेनन् र सहर जलाइदिए।
12यहोशूले यी सबै सहरहरू र तिनका राजाहरू कब्जा गरे अनि परमप्रभुका सेवक मोशाले आज्ञा गरेअनुसार हरेकलाई मारे। 13तैपनि यहोशूले भस्म गरेको हासोरबाहेक अरू कुनै डाँडामा बनेका सहरहरू इस्राएलीहरूले जलाएनन्। 14यी सहरहरूका सबै मूल्यवान् थोकहरू र गाई-वस्तु इस्राएलीहरूले लिए र आफ्नै निम्ति राखे। तर हरेक जनलाई तिनीहरूले मारे, कसैलाई जिउँदो छोडेनन्। 15परमप्रभुले आफ्नो आज्ञा आफ्ना सेवक मोशालाई दिनुभयो, मोशाले सो आज्ञा यहोशूलाई दिए अनि यहोशूले तिनको पालन गरे। परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको हरकुरा यहोशूले गरे।
यहोशूले कब्जा गरेका देशहरू
16यहोशूले पहाडी देश र तिनका फेदीमा भएका ठाउँहरू, उत्तर र दक्षिण दुवैतर्फका भूमि, गोशेनका सारा इलाका र नेगेव र यर्दन बेसीसमेत सम्पूर्ण देश कब्जा गरे। 17-18त्यो देश दक्षिणमा एदोमको नजिकको हालाक पहाडदेखि उत्तरमा हेर्मोन पहाडको दक्षिणमा भएका लेबनानको बेसीका बाल-गादसम्म फैलिएको थियो। यहोशू धेरै दिनसम्म यस इलाकामा राजाहरूसित लडे तर ती सबैलाई कब्जा गरे र मारे। 19इस्राएलका मानिसहरूसित मिलाप गर्ने एकमात्र सहर गिबोन थियो, जहाँ केही हिव्वीहरू बस्थे। अरू सबैलाई इस्राएलीहरूले लडाइँमा जिते। 20#व्यवस्था 7:16तिनीहरूमाथि सम्पूर्ण विनाश हुने सजाय परोस् र तिनीहरू कृपा नपाईकन मारिऊन् भनी परमप्रभुले तिनीहरूका मनमा इस्राएलीहरूसित लडाइँ गर्ने सङ्कल्प भरिदिनुभएको थियो र मोशालाई यहीअनुसार आज्ञा दिनुभएको थियो।
21त्यही समयमा यहोशूले गएर अनाकी भनिने दैँत्यहरूजस्ताका वंशलाई नाश पारे। ती दैँत्यहरूजस्ता पहाडी देशमा, हेब्रोन, दबीर, अनाब र यहूदा र इस्राएलका सारा पहाडी इलाकामा बस्थे। यहोशूले तिनीहरू र तिनका सहरहरू पूरा ध्वंस पारे। 22इस्राएल देशमा कोही पनि अनाकी बाँचेन; तर गाजा, गाद र अश्दोदमा थोरै सङ्ख्यामा तिनीहरू बाँचेका थिए।
23परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार यहोशूले सारा देश अधीन गरे। यहोशूले त्यो देश आफ्नो देश बनाउनको निम्ति इस्राएलीहरूलाई दिए र हरेक कुलको लागि एक-एक हिस्सा गरी बाँडिदिए।
अनि मानिसहरूले लडाइँबाट बिश्राम लिए।
अहिले सेलेक्ट गरिएको:
यहोशू 11: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.