अय्यूब 36
36
1-2धैर्य गर्नुहोस् र केही बेर मेरो कुरा सुन्नुहोस्,
म परमेश्वरको तर्फबाट बोल्दै छु।
3म धेरै कुरा जान्दछु;
म आफ्नो ज्ञान लाएर
परमेश्वर, मेरा सृष्टिकर्ता,
न्यायी हुनुहुन्छ भन्ने कुरा
स्पष्ट गरिदिनेछु।
4मैले बोलेका कुनै कुरा झूटा छैनन्,
तपाईंको अघि एक जना साँच्चै सिद्ध ज्ञान भएको मानिस खडा छ।
5परमेश्वर कति शक्तिमान् हुनुहुन्छ!
उहाँले कसैलाई घृणा गर्नुहुन्न
अनि उहाँले नबुझ्ने कुरा केही छैन।
6उहाँले पापीहरूलाई जिउन दिनुहुन्न
अनि गरीबहरूको उचित न्याय गरिदिनुहुन्छ।
7उहाँले धर्मीहरूबाट आफ्नो नजर हटाउनुहुन्न,
बरु तिनीहरूलाई राजाझैँ शासन गर्न दिनुहुन्छ
र सदासर्वदा तिनीहरूलाई आदर प्राप्त गर्न दिनुहुन्छ।
8तर तिनीहरू साङ्लामा परे भने,
आफ्ना दुष्कर्मको फल भोग्छन् भने,
9परमेश्वरले तिनीहरूलाई तिनका पाप र घमण्ड देखाइदिनुहुन्छ।
10उहाँको चेतावनी तिनीहरूका कानमा परिरहन्छ,
दुष्ट चालबाट फर्कनलाई आज्ञा दिनुहुन्छ।
11यदि तिनीहरूले परमेश्वरको आज्ञा मान्छन् र सेवा गर्छन् भने
सुख र शान्तिमा तिनीहरूले आफ्ना जीवन बिताउनेछन्।
12तर होइन भने तिनीहरू अज्ञानतामा मर्नेछन्
र नदीपारि मृतकहरूको देशमा पुग्नेछन्।
13परमेश्वर नमान्ने मानिसहरू रिसाइरहन्छन्,
दण्ड पाइसकेर पनि तिनीहरूले सहायताको निम्ति बिन्ती गर्दैनन्।
14तिनीहरू कलिला उमेरमा नै मर्छन्,
थकित र बदनाम भएर मर्छन्।
15परमेश्वरले मानिसलाई कष्टद्वारा सिकाउनुहुन्छ।
दु:ख दिएर नै तिनीहरूका आँखा खोलिदिनुहुन्छ।
16परमेश्वरले तपाईंलाई कष्टबाट बचाउनुभएको थियो
र सुरक्षित राख्नुभएको थियो।
तपाईंको टेबिलमा प्रशस्त भोजन थियो।
17तर अब तपाईंले आफूले पाउनुपर्ने दण्ड भोग्दै हुनुहुन्छ।
18होस् गर्नुहोस्, घुसका पैसाले तपाईंलाई धोका देलान्
र धन-सम्पत्तिले तपाईंलाई कुमार्गतिर लैजाला।
19तपाईंको धन-सम्पत्तिले पनि तपाईंको सहायता हुँदैन।
तपाईंको सारा शक्तिले अब तपाईंलाई सहायता गर्न सक्नेछैन।
20जाति-जातिहरू नाश भएर जाने रातको समय आओस् भनेर नचिताउनुहोस्।
21होशियार गर्नुहोस्, दुष्ट्याइँतिर नफर्कनुहोस्।
तपाईंले विपत्तिलाई भन्दा दुष्ट्याइँलाई मन पराउनुभएको छ।
22परमेश्वर हामीभन्दा धेरै उच्चमा आफ्ना महिमासाथ रहनुहुन्छ।
उहाँजस्तो सर्वोत्तम शिक्षक अरू को छ र?
23कसैले परमेश्वरलाई काम अह्राउन सक्छ र?
वा कसले उहाँको गल्ती भएको छ भनी भन्न सक्छ?
24मानिसहरूले सधैँ उहाँका कार्यको प्रशंसा गाएका छन्,
तपाईं पनि उहाँको प्रशंसा गाउनुहोस्।
25सबै मानिसहरूले उहाँको कार्यलाई देखेका छन्।
टाढैबाट मात्र हामी ती हेर्न सक्छौं।
26हामीले परमेश्वरको महान्ताबारे पूरा जान्न सक्दैनौं।
उहाँको उमेरका वर्षहरू गन्न सक्दैनौं।
27परमेश्वरले पृथ्वीबाट पानी खिंच्नुहुन्छ
र झरीका थोपाका रूपमा आकाशबाट वर्षाउनुहुन्छ।
28उहाँले मेघबाट झरी वर्षाउनुहुन्छ,
सबै मानिस जातिलाई प्रचुर वर्षा दिनुहुन्छ।
29परमेश्वर बास गर्नुहुने आकाशमा मेघ कसरी उठ्छ
अनि गड्याङ-गुडुङ कसरी गर्जन्छ कसैले जान्दैन।
30उहाँले आकाशको एक छेउबाट अर्को छेउसम्म बिजुली चम्काउनुहुन्छ,
तर समुद्रको गहिराइ अँध्यारै रहन्छ।
31यस प्रकारले उहाँले मानिसहरूको खुराक जुटाइदिनुहुन्छ
र प्रशस्त गरी खानेकुरा दिनुहुन्छ।
32उहाँले बिजुलीलाई हातले समात्नुहुन्छ
र ठीक निशानामा बज्रोस् भनी पठाइदिनुहुन्छ।
33गर्जनले आउन लागेको आँधीको सङ्केत गर्दछ
अनि गाई-वस्तुले पनि ती बुझ्दछन्।
अहिले सेलेक्ट गरिएको:
अय्यूब 36: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.