YouVersion लोगो
खोज आइकन

अय्‍यूब 30

30
1तर अब मभन्दा उमेरमा सानाहरूले मेरो हाँसो उडाउँछन्!
तिनीहरूका बुबाहरूलाई मेरा भेडा कुर्ने कुकुरहरूसँग राख्‍न पनि
म लायक ठान्‍दिनथें।
2तिनीहरू हैरान भएका कमजोर मानिसहरू थिए,
तिनीहरू मलाई काम लाग्‍ने खालका थिएनन्।
3तिनीहरू यति दरिद्र र भोका थिए कि राती सुनसान र उजाड ठाउँतिर सुकेका जराहरू चपाई हिँड्थे।
4तिनीहरूले मरुभूमिका झारपातहरू उखेलेर खान्‍थे,
तिनीहरूले झ्याउका गाछका जराहरू पनि छोड्दैनथे।
5चोरलाई कराएर लखेटेझैँ
सबैले तिनीहरूलाई कराएर धपाउँथे।
6तिनीहरू साँगुरा खोल्‍सा-खोल्‍सीहरू,
गुफाहरू र चट्टानका चिराहरूमा बस्‍नुपर्थ्‍यो।
7तिनीहरू पशुझैँ वनका झाडीमा कराउँथे
र पोथ्राहरूमुनि एकै ठाउँमा थुप्रिएर बस्‍थे।
8बेकाम र बेनामका मानिसहरू;
तिनीहरू देशबाट खेदिन्‍थे।
9तर अहिले तिनीहरूका छोरा-छोरीहरूले आएर मेरो गिल्‍ला गर्छन्।
म तिनीहरूको हाँसोको पात्र बनेको छु।
10तिनीहरूले मलाई तुच्‍छ ठान्‍छन्।
मदेखि टाढा-टाढा नै बस्‍छन्,
र छेउ आएर मेरो मुखमा थुक्‍न पनि केहीजस्‍तो मान्‍दैनन्।
11किनभने परमेश्‍वरले मलाई कमजोर र असहाय बनाउनुभएको हुनाले
तिनीहरूले ममाथि आफ्‍ना सारा रिस पोख्‍दछन्।
12यो भीडले मलाई सिधै छोप्‍न आउँछ,
मलाई यताउता लखेट्‍न थाल्‍छ
र अन्‍तमा ममाथि हमला गर्न तयार हुन्‍छ।
13तिनीहरूले मेरो भाग्‍ने बाटो बन्‍द गरिदिन्‍छन्,
र मलाई नाश गर्ने कोसिस गर्छन्।
तिनीहरूलाई रोक्‍ने कोही छैन।
14पर्खालको भ्‍वाङ्ग परेको बीचबाट वेगले छिरिआएजस्‍तो
तिनीहरू मलाई ध्‍वंस गर्न आइलाग्‍छन्।
15डरमाथि डर आएर मलाई अत्‍यास पार्दछ,
मानिसका बीचमा मेरो सम्‍मान बतासझैँ बिलाउँछ
र मेरो सुदिनचाहिँ बादलझैँ उडिजान्‍छ।
16अब मेरो मर्ने बेला हुँदैछ।
कष्‍टले मलाई दिनदिनै आफ्‍नो पन्‍जामा पक्रेको छ।
17राती मेरा सबै हड्डी कट्कट् खान्‍छ।
मलाई पिरोल्‍ने पीडा कहिल्‍यै थामिंदैन।
18परमेश्‍वरले मेरो कठालोमा पक्रनुभएको छ
र मेरा वस्‍त्रहरू कच्‍याक-कुचुक पार्नुभएको छ।
19परमेश्‍वरले मलाई हिलोमा जाक्‍नुभएको छ।
म धुलो र खरानीसरह भएको छु।
20म तपाईंलाई पुकार्दछु, हे परमेश्‍वर! तर तपाईंले जवाफ दिनुहुन्‍न।
जब म प्रार्थना गर्दछु, तपाईंले ध्‍यानै दिनुहुन्‍न।
21तपाईं मप्रति निष्‍ठुर हुनुभएको छ।
आफ्‍नै पूरा शक्तिले तपाईंले मेरो खेदो गर्नुहुन्‍छ।
22तपाईंले मलाई हावाले उडाएर लैजान दिनुहुन्‍छ।
प्रचण्‍ड आँधीमा तपाईंले मलाई उफार्नु र थेचार्नुहुन्‍छ।
23म जान्‍दछु कि तपाईंले मलाई मृत्‍युको हातमा सुम्‍पनुहुनेछ,
हरेक प्राणी पुग्‍नुपर्ने ठाउँमा पुर्‍याउनुहुन्‍छ।
24दयाको निम्‍ति चिच्‍च्‍याउन मात्र सक्‍ने नाश भइसकेको मानिसलाई
तपाईं किन हात लाउनुहुन्‍छ।
25के कष्‍ट पाएकाहरूसित म रोइनँ र?
के खाँचोमा परेकाहरूसित म दु:खी भइनँ र?
26मैले आनन्‍दको आशा गरेको थिएँ,
तर दु:ख पो पाएँ, उज्‍यालोको आशा गरेको थिएँ,
तर अँध्‍यारो पो पाएँ।
27चिन्‍ता र पीडाले मलाई धुजाधुजा पार्‍यो।
दु:खको दिनबाहेक अरू मैले केही पाइनँ।
28म ज्‍योतिबिना निराशमा हिँड्छु।
मद्दतको निम्‍ति बिन्‍ती गर्न म सभामा उभिंदछु।
29म लाटोकोसेराको साथी र स्‍यालको भाइ बनेको छु।
30मेरो छाला डढेर कालो भई मरेर जाँदैछ
र ज्‍वरोले मेरो हड्डीसमेत डढाइसक्‍यो।
31मेरो वीणा बिलौनामा फेरिएको छ
र मेरो बाँसुरीले विलापको गीत गाउँछ।

अहिले सेलेक्ट गरिएको:

अय्‍यूब 30: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्