अय्यूब 14
14
1स्त्रीबाट जन्मेको मानिसले छोटो जीवन बिताउँछ
र अशान्तिले भरिएको हुन्छ।
2ऊ फूलजस्तै फुल्दछ र ओइलिजान्छ,
ऊ छायाँजस्तै हराइहाल्छ।
3हे परमेश्वर, के तपाईंले ऊमाथि आफ्ना नजर राख्नुहुन्छ?
अनि मुद्दा चलाएर उसको न्याय गर्नुहुन्छ?
4मानिसजस्तो अशुद्ध प्राणीबाट कहिल्यै केही शुद्ध कुरो निस्कन सक्दैन।
5उसको आयु कति लामो छ,
ऊ कति वर्ष र महिना जिउँछ;
ती अघिबाटै तोकिएका छन्–
ती तपाईंले तोक्नुभएको हो, ती कसैले तोड्न सक्दैन।
6उसबाट आफ्नो मुख फर्काउनुहोस् र उसलाई छोडिदिनुहोस्।
अनि कुनै ज्यामीहरूले झैँ
उसले आफ्नो समय बिताउन सकोस्।
7काटेर ढालिएको रूख फेरि पलाउने आशा हुन्छ,
त्यसमा नयाँ पालुवा उम्रन्छ।
8त्यसका जराहरू छिप्पिएर बुढो भए पनि
र त्यसको ठुटो जमिनमा मरिसकेको भए पनि
9अलिकता पानी पाएपछि त्यसमा नयाँ पालुवा पलाउनेछ।
10तर मानिस मर्छ, त्यहीँ उसको अन्त हुन्छ,
अन्त भएपछि अरू केको आशा हुन्छ र?
11-12जसरी खहरे खोला र तालको पानी सुकिजान्छ, त्यसरी नै मानिस मर्छ र फेरि उठ्दैन।
जबसम्म आकाश रहन्छ, तबसम्म त्यो आफ्नो निद्राबाट जाग्दैन।
13मृत-लोकमा मलाई लुकाउनुहोस्।
तपाईंको क्रोध नमरुञ्जेल मलाई लुक्न दिनुहोस्।
त्यसपछि मलाई सम्झना गर्ने तपाईंको समय तोक्नुहोस्।
14मानिस मरेपछि फेरि उसले जीवन पाउन सक्छ?
तर म तेरा सुखका समयहरूको आशा राख्छु।
यी सङ्कष्टका दिनहरू नसकेसम्म म त आशामा नै रहिरहन्छु।
15तब तपाईंले बोलाउनुहुनेछ र म जवाफ दिनेछु।
तपाईंको आफ्नै हातले रचेका प्राणीलाई तपाईंले हेर्ने मन गर्नुहुनेछ।
16तब तपाईंले मेरो पाइला-पाइला पनि याद गर्नुहुनेछ।
तर मेरा पापका हिसाबचाहिँ राख्नुहुनेछैन।
17मेरा पाप थैलामा हाली मोहोरछाप लगाई बन्द गरिदिनुहुनेछ
र मेरा अधर्म ढाकिदिनुहुनेछ।
18तर समयमा जसरी पर्वतहरू भत्कँदैजान्छन्
र चट्टानहरू हटाइन्छन्,
19अनि वर्षाको पानीले ढुङ्गाहरू खियाउँछ
र माटो बगाइहाल्दछ,
त्यसरी नै तपाईंले मानिसको आशा नष्ट गरिदिनुहुनेछ।
20तपाईंले मानिसलाई जित्नुहुन्छ र ऊ मरिजान्छ,
उसको चेहरा मृत्युमा बदलिएको हुन्छ।
21उसका छोरा-छोरीहरूले आदर पाउँछन्,
तर उसले त्यो थाहा पाउँदैन।
तिनीहरूको बदनाम हुन्छ,
तर त्यो पनि उसले थाहा पाउँदैन।
22उसले खालि आफ्ना शरीरको पीडा
र मनको शोक थाहा पाउँदछ।
अहिले सेलेक्ट गरिएको:
अय्यूब 14: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.