एक दिन हिँड्दै जानुहुँदा येशूले जन्मैदेखिको अन्धोलाई देख्नुभयो। उहाँका चेलाहरूले उहाँलाई सोधे, “गुरु, कसको पापले गर्दा यो मान्छे जन्मैदेखि अन्धो भएको हो? आमा-बुबाको पापले गर्दा हो कि उसको आफ्नै पापले गर्दा हो?” येशूले भन्नुभयो, “उसको आफ्नै पापले गर्दा पनि होइन र उसका आमा-बुबाको पापले गर्दा पनि होइन, तर परमेश्वरको काम उसमा देखियोस् भनेर नै ऊ अन्धो भएको हो। दिनको उज्यालो छँदा नै मलाई पठाउनुहुनेको काम हामीले गर्नुपर्छ। अँध्यारो भएपछि कसैले पनि काम गर्न सक्दैन। संसारमा रहुञ्जेल म नै संसारको उज्यालो हुँ।” यति कुरा भनिसकेर येशूले भूइँमा थुक्नुभयो अनि माटो मुछेर अन्धोका आँखामा लगाइदिनुभयो र भन्नुभयो, “जाऊ, सिलोआमको पोखरीमा गएर मुख धोऊ।” (सिलोआमको अर्थ ‘पठाइएको’ हो।) त्यो मानिसले पोखरीमा गएर मुख धोयो अनि ऊ देख्ने भएर आयो। उसका छरछिमेकी र उसलाई अघि मागिरहेको देख्नेहरूले “के यो त्यही माग्ने मान्छे होइन र?” भनेर सोधे। कतिले भने, “हो, यो त्यही माग्ने हो।” अरूहरूले भने, “हुन त त्यही अन्धोजस्तो रहेछ, तर त्यो होइन।” तर ऊ आफैंले भन्यो, “हो, म त्यही मानिस हुँ।” उनीहरूले सोधे, “तब कसरी आँखा देख्ने भयौ त?” उसले भन्यो, “येशू नाउँ गरेका मानिसले माटो मुछेर मेरा आँखामा लगाइदिनुभयो र सिलोआमको पोखरीमा गएर धोऊ भन्नुभयो। त्यहाँ गएर धुनेबित्तिकै म देख्ने भइहालें।” तिनीहरूले सोधे, “येशू भन्नेचाहिँ कता गए त?” उसले भन्यो, “कुन्नि, मलाई थाहा छैनँ।” त्यसपछि तिनीहरूले त्यस मानिसलाई फरिसीहरूकहाँ लगे। अब येशूले माटो मुछेर उसलाई निको पार्नुभएको दिन पवित्र विश्रामको दिन थियो। त्यति बेला फरिसीहरूले पनि कसरी आँखा देख्ने भयौ भनेर सोधे। उसले भन्यो, “उहाँले माटो मुछेर मेरा आँखामा लगाइदिनुभयो अनि मैले माटो पखालेपछि देख्ने भएँ।” कुनै-कुनै फरिसीहरूले भने, “यो निको पार्ने मानिस परमेश्वरतर्फबाट आएको हुन सक्दैन किनभने त्यसले त पवित्र विश्रामको दिनमा काम नगर्नू भन्ने नियमलाई मान्दैन।” तर अरूहरूले भने, “पापी मान्छेले पनि यस्ता अचम्मका कामहरू गर्न सक्छ र?” यसरी उनीहरूको आपसमा मतभेद भयो। फरिसीहरूले उसलाई फेरि एकपल्ट सोधे, “त्यस मान्छेले तिम्रा आँखालाई निको पारिदियो। अब तिम्रो विचारमा त्यो को हो त?” उसले भन्यो, “उहाँ त अगमवक्ता हुनुहुन्छ।”
यूहन्ना 9 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 9:1-17
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू