येशूले उहाँमाथि विश्वास गर्ने यहूदी अगुवाहरूलाई भन्नुभयो, “मेरो शिक्षालाई मानिरह्यौ भने तिमीहरू साँच्चै मेरा चेला हौ अनि तिमीहरूले सत्य चिन्नेछौ सत्यले तिमीहरूलाई छुट्कारा दिनेछ।”
उनीहरूले भने, “हामी अब्राहामका सन्तान हौं, हामी त कहिल्यै पनि कसैको कमारा भएका छैनौं। तब हामीलाई छुट्कारा दिनेछ भनेको अर्थचाहिँ के हो?”
येशूले भन्नुभयो “साँच्चै, म तिमीहरूलाई भन्छु, पाप गर्नेचाहिँ पापको कमारा हो। अब कमारा त सधैँभरि घर-जहानको हुँदैन, तर घरको छोराचाहिँ सधैँभरि घर-जहानको हुन्छ। त्यसै गरी परमेश्वरको पुत्रले तिमीहरूलाई छुट्कारा दियौ भने तिमीहरूले साँच्चै छुट्कारा पाउनेछौ। तिमीहरू अब्राहामका सन्तान हौ भन्ने मलाई थाहा छ। तैपनि तिमीहरूले मैले भनेका कुराहरू सहन नसकेर मलाई मार्न खोज्छौ। मचाहिँ मेरो पितासँग रहँदा देखेका कुराहरूको बारेमा बोल्दछु अनि तिमीहरूचाहिँ तिमीहरूकै पिताबाट सुनेका कुराहरू गर्दछौ।”
तिनीहरूले भने, “हाम्रा पिता त अब्राहाम नै हुन्!”
येशूले भन्नुभयो, “साँच्चै अब्राहामका सन्तान हुँदा हौ त तिमीहरूले अब्राहामले गरेजस्तै काम गर्ने थियौ। तर मैले तिमीहरूलाई परमेश्वरबाटै सुनेका सत्य कुराहरू सुनाउँदा त तिमीहरू मलाई मार्न खोज्छौ। यस्तो काम त अब्राहामले गरेनन्! तिमीहरू जसका छोराहरू हौ, त्यस्तै काम गर्दै छौ।”
तिनीहरूले भने, “हामीचाहिँ व्यभिचारबाट जन्मेका होइनौं। परमेश्वर नै हाम्रा एक मात्र पिता हुनुहुन्छ।”
येशूले भन्नुभयो, “साँच्चै तिमीहरूका पिता परमेश्वर हुनुभएको भए तिमीहरूले मलाई प्रेम गर्नेथियौ किनभने म परमेश्वरको तर्फबाट आएको हुँ। म आफ्नै तर्फबाट आएको होइनँ, परमेश्वरले नै मलाई पठाउनुभएको हो। मैले भनेका कुराहरू तिमीहरू किन बुझ्दैनौ? किनभने तिमीहरूले मैले भनेको वचन सुन्न सक्दैनौ। तिमीहरू आफ्नै बुबा शैतानका सन्तान हौ र तिमीहरू आफ्ना पिताले भनेअनुसार गर्न तयार छौ। त्यो त सुरुदेखि नै ज्यानमारा हो, त्यो त सत्यमा कहिल्यै पनि टिक्न सक्दैन किनभने त्यसमा सत्य नै छैन। आफ्नो स्वभावअनुसार त्यसले त सधैँ झूट बोल्छ। त्यसैले त्यो त झूट बोल्नेहरूकै पिता हो। तर मैले सत्य कुरा बोल्छु। त्यसैले तिमीहरू मलाई विश्वास गर्दैनौ। तिमीहरूमध्ये कसले मलाई पापको दोष लगाउन सक्छौ? यदि मैले सत्य बोल्दा किन मलाई विश्वास गर्दैनौ त? परमेश्वरका सन्तानले त परमेश्वरकै कुरा सुन्छन्, तर तिमीहरूचाहिँ परमेश्वरका सन्तान नभएको हुनाले उहाँको कुरा सुन्दैसुन्दैनौ।”
यहूदी अगुवाहरूले येशूलाई भने, “हामीले भनेको ठीकै हो! तँ सामरी होस् र तँलाई भूत चढेको छ।”
येशूले भन्नुभयो, “मलाई भूत चढेको छैन। म मेरा पिताको आदर गर्छु, तर तिमीहरू भने मलाई अनादर गर्छौ। म आफैं मेरो आदर खोज्दिनँ, तर मेरो आदर गर्न खोज्ने र मलाई न्याय गर्ने अर्कै हुनुहुन्छ। साँच्चै म तिमीहरूलाई भन्छु, मैले भनेको मान्नेले चाहिँ मर्नुपर्नेछैन।”
यहूदी अगुवाहरूले भने, “पक्का तँलाई त भूत नै चढेको रहेछ। अब्राहाम मरे, अगमवक्ताहरू पनि मरे, तँचाहिँ ‘मैले भनेको मान्नेले कहिल्यै पनि मर्नुपर्दैन’ भन्छस्! के तँ मरेर गएका हाम्रा पुर्खा अब्राहाम र अगमवक्ताहरूभन्दा पनि ठूलो होस्? तँ आफैंलाई के सम्झन्छस् हँ?”
येशूले भन्नुभयो, “मैले आफ्नै आदर खोजेको भए त्यो खोक्रो आदर हुनेथियो। तर मेरो आदर गर्नुहुनेचाहिँ मेरा पिता हुनुहुन्छ, उही पिता, जसलाई तिमीहरूले आफ्ना परमेश्वर भनेर भन्छौ। तर तिमीहरूले उहाँलाई चिनेका छैनौ। मचाहिँ उहाँलाई राम्ररी चिन्छु। यदि मैले उहाँलाई चिन्दिनँ भनेको भए म पनि तिमीहरूजस्तै झूटो ठहरिने थिएँ। तर म उहाँलाई चिन्छु र उहाँले भन्नुभएको कुरालाई मान्छु। तिमीहरूका पुर्खा अब्राहामले म आउने दिन देख्न साह्रै इच्छा गरेका थिए। उनले देखेर ज्यादै रमाए।”
यहूदी अगुवाहरूले उहाँलाई भने, “तँ पचास वर्ष पनि पुगेको छैनस्, तब कसरी तैँले हाम्रा पुर्खा अब्राहामलाई देखिस्?”
तब येशूले भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्छु, अब्राहाम जन्मिनुभन्दा अघि नै म छु।”
त्यत्तिकैमा तिनीहरूले येशूलाई हान्न ढुङ्गा टिपे। तर उहाँ सुटुक्क मन्दिरबाट निस्कनुभयो।