फेरि पनि येशूले तिनीहरूलाई भन्नुभयो, “म यहाँबाट गइहाल्नेछु। तिमीहरूले मलाई खोज्नेछौ, तर तिमीहरू आफ्नै पापमा मर्नेछौ किनभने म जाने ठाउँमा तिमीहरू आउन सक्दैनौ।” यो सुनेर यहूदी अगुवाहरूले आपसमा भने, “यो के भनेको हो? ऊ जहाँ जान्छ, त्यहाँ हामी पुग्न सक्दैनौं भन्छ! यसले आत्महत्या गर्न आँटेको हो कि क्या हो?” येशूले भन्नुभयो, “तिमीहरू त यहाँ तलका हौ, मचाहिँ माथिबाट आएको हुँ। तिमीहरू यसै संसारका हौ, तर म यस संसारको होइनँ। त्यसैले मैले ‘तिमीहरू आफ्नै पापमा मर्नेछौ’ भनेको हुँ। यदि तिमीहरूले ‘म जो हुँ त्यही हुँ’ भनी मलाई विश्वास गरेनौ भने तिमीहरू आफ्नै पापमा नाश हुनेछौ।” तिनीहरूले येशूलाई सोधे, “तपाईं को हुनुहुन्छ त?” येशूले जवाफ दिनुभयो, “त्यो त मैले तिमीहरूलाई सुरुदेखि नै भनिरहेको छु। तिमीहरूको बारेमा मैले भन्नुपर्ने र न्याय गर्नुपर्ने कुरा त धेरै छन् तर मलाई पठाउनुहुने सत्य हुनुहुन्छ। उहाँबाट सुनेको कुरा मात्रै म संसारलाई सुनाउन चाहन्छु।” येशूले स्वर्गमा बस्नुहुने पिताको बारेमा भन्दै हुनुहुन्छ भनेर तिनीहरूले बुझेनन्। त्यति बेला येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले म मानव पुत्रलाई काठमा टाँगेर उचालेपछि ‘म जो हुँ त्यही नै हुँ’ भन्ने तिमीहरूले थाहा पाउनेछौ। म आफ्नै खुसीले केही पनि गर्दिनँ, तर पिताले मलाई सिकाउनुभएका कुराहरू मात्र गर्छु भन्ने कुरा पनि तिमीहरूले जान्नेछौ। मलाई पठाउनुहुने मसँगै हुनुहुन्छ, उहाँले मलाई एक्लै छोड्नुभएको छैन किनभने म जहिले पनि उहाँलाई खुसी तुल्याउने काम मात्रै गर्छु।”
यूहन्ना 8 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 8:21-29
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू