YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 3:1-12

यूहन्‍ना 3:1-12 सरल नेपाली

निकोदेमस नाउँ भएका एक जना मानिस यहूदी महासभाका सदस्‍य थिए। उनीचाहिँ फरिसी थिए। एक रात उनले येशूकहाँ आएर भने, “गुरुज्‍यू, तपाईं परमेश्‍वरबाटै हामीलाई सिकाउन आउनुभएको हो। यो कुरा हामीलाई थाहा भयो। यदि परमेश्‍वरले साथ दिनुभएन भने कसैले पनि तपाईंले गर्नुभएको जस्‍तो शक्तिशाली कामहरू गर्न सक्‍दैन।” येशूले भन्‍नुभयो, “साँच्‍चै म तिमीलाई भन्‍छु, नयाँ गरी नजन्‍मिएसम्‍म कसैले पनि परमेश्‍वरको राज्‍य देख्‍न सक्‍दैन।” निकोदेमसले भने, “बुढो भइसकेको मानिस फेरि कसरी जन्‍मिन सक्‍छ? ऊ फेरि आमाबाट जन्‍मिन सक्‍छ र?” येशूले जवाफ दिनुभयो, “साँच्‍चै म तिमीलाई भन्‍छु, पानी र आत्‍माबाट नजन्‍मिएसम्‍म कोही पनि परमेश्‍वरको राज्‍यमा पस्‍न सक्‍दैन। शरीरबाट जन्‍मिएको शरीर हो र आत्‍माबाट जन्‍मिएको आत्‍मा हो। तिमीहरू नयाँ गरी जन्‍मिनुपर्छ भन्‍ने कुरा सुनेर छक्‍क नपर। हावा जता मन लाग्‍यो, त्‍यतै बहन्‍छ। हावाको आवाज त तिमीहरू सुन्‍छौ, तर त्‍यो कहाँबाट आउँछ अनि कहाँ जान्‍छ, तिमीहरूलाई पत्तो हुँदैन। आत्‍माबाट जन्‍मिएको मानिस पनि त्‍यस्‍तै हुन्‍छ।” निकोदेमसले भने, “यस्‍तो कसरी हुन सक्‍छ र?” येशूले भन्‍नुभयो, “तिमी त इस्राएलीहरूका ठूला गुरु हौ र पनि यी कुरा बुझ्‍दैनौ? साँच्‍चै म तिमीलाई भन्‍छु, हामीले जानेका कुराको बारेमा बोल्‍छौं र आफूले देखेका कुरा नै सुनाउँछौं। तर तिमीहरूले चाहिँ हामीले भनेका कुराहरू पत्‍याउँदैनौ। मैले यही संसारमा भएको कुराको बारेमा बोल्‍दा त तिमीहरूले पत्‍याउँदैनौ भने झन् स्‍वर्गको बारेमा बोलें भने त कसरी पत्‍याउन सक्‍छौ र?

यूहन्‍ना 3 पढ्नुहोस्