YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 19:1-19

यूहन्‍ना 19:1-19 सरल नेपाली

तब पिलातसले येशूलाई लगेर कोर्रा लगाउन सिपाहीहरूलाई हुकुम दिए। कोर्रा लगाएपछि सिपाहीहरूले येशूलाई काँडाको मुकुट र बैजनी रङ्गको राजाले लगाउनेजस्‍तै पोशाक लगाइदिए अनि उहाँको नजिकै आएर “यहूदीहरूका राजाको जय होस्!” भनेर गिल्‍ला गर्दै थप्‍पड लगाउन थाले। पिलातसले फेरि एक पटक बाहिर निस्‍केर मानिसहरूको भीडलाई भने, “हेर, मैले यी मानिसमा दण्‍ड दिनुपर्ने कुनै दोष नै भेटिनँ। यो कुरा तिमीहरूलाई थाहा होस् भनेर मैले उनलाई तिमीहरूको अगाडि ल्‍याउँदै छु।” त्‍यसपछि येशू काँडाको मुकुट र बैजनी रङ्गको पोशाक लगाएर नै बाहिर आउनुभयो। पिलातसले तिनीहरूलाई भने, “लौ हेर, यस मानिसलाई!” मुख्‍य पूजाहारी र सिपाहीहरूले येशूलाई देख्‍नेबित्तिकै चिच्‍याएर भने, “त्‍यसलाई झुण्‍ड्याउनुहोस्, त्‍यसलाई क्रूसमा झुण्‍ड्याउनुहोस्!” पिलातसले तिनीहरूलाई भने, “उसोभए तिमीहरूले नै उनलाई लगेर क्रूसमा झुण्‍ड्याओ। मैले त उनमा दण्‍ड दिनुपर्ने कुनै दोष नै भेट्टाइनँ।” यहूदी अगुवाहरूले भने, “हाम्रो व्यवस्थाअनुसार त्‍यसले मृत्‍युदण्‍ड पाउनु नै पर्छ किनभने त्‍यसले आफैंलाई परमेश्‍वरको पुत्र हुँ भन्‍ने दाबी गरेको छ।” त्‍यस्‍तो कुरा सुनेर पिलातस झन् डराए। उनी फेरि दरबारभित्र पसे र येशूलाई सोधे, “तिमी कहाँका हौ?” तर येशूले कुनै उत्तर दिनुभएन। पिलातसले भने, “मलाई किन भन्‍दैनौ? तिमीलाई थाहा छैन? तिमीलाई क्रूसमा झुण्‍ड्याउने वा छुट्‍कारा दिने अधिकार मेरो हातमा छ।” येशूले भन्‍नुभयो, “परमेश्‍वरले नदिनुभएको भए तपाईंको ममाथि कुनै अधिकार हुने थिएन। त्‍यसकारण मलाई तपाईंकहाँ सुम्‍पिदिने मानिसहरू नै अझै ठूलो पापको दोषी हुन्‍छन्।” यो सुनेर पिलातसले येशूलाई फेरि छोडिदिन खोजे। तर यहूदीहरूले कराउँदै भने, “त्‍यसलाई छोड्‍ने हो भने तपाईं रोमी महाराजाको मित्र हुनुहुन्‍न। आफैंलाई राजा हुँ भन्‍ने मानिसले त महाराजाकै विरोध गर्छ।” यी कुराहरू सुनेर पिलातसले येशूलाई दरबारबाट बाहिर ढुङ्गाले ढाकेको आँगनमा लगे, जसलाई हिब्रू भाषामा गब्‍बथा भनिन्‍छ। त्‍यहाँ उनी न्‍याय गर्ने आसनमा बसे। त्‍यति बेला मुक्ति-दिवस चाडको अघिल्‍लो दिन लगभग मध्‍यदिन भएको थियो। न्‍याय आसनमा बसेपछि पिलातसले यहूदीहरूलाई भने, “हेर, तिमीहरूका राजा!” “त्‍यसलाई मार्नैपर्छ! त्‍यसलाई मार्नैपर्छ! त्‍यसलाई क्रूसमा झुण्‍ड्याउनुपर्छ!” भनेर तिनीहरू सबै कराउन थाले। पिलातसले तिनीहरूलाई सोधे, “के म साँच्‍चै तिमीहरूका राजालाई क्रूसमा झुण्‍ड्याऊँ?” मुख्‍य पूजाहारीहरूले जवाफ दिए, “रोमी महाराजाबाहेक हाम्रो अर्को कुनै राजा छैन।” यो सुनेर पिलातसले येशूलाई क्रूसमा झुण्‍ड्याउन तिनीहरूको हातमा सुम्‍पिदिए। सिपाहीहरूले येशूको जिम्‍मा लिए। तिनीहरूले येशूलाई खप्‍परे भन्‍ने डाँडामा लगे। त्‍यो ठाउँलाई हिब्रू भाषामा गलगथा भनिन्‍छ। आफ्‍नो क्रूस आफैंले बोकेर येशू त्‍यहाँ जानुभयो। त्‍यस ठाउँमा पुगेर तिनीहरूले उहाँलाई काँटी ठोकेर क्रूसमा झुण्‍ड्याए अनि उहाँको दाहिने र देब्रेतिर अरू दुई जनालाई पनि भिन्‍नाभिन्‍नै क्रूसमा झुण्‍ड्याए। येशू तिनीहरूका बीचमा टाँगिनुभएको थियो। पिलातसले “नासरतका येशू यहूदीहरूका राजा” भन्‍ने दोष-पत्र लेखेर क्रूसमा टाँसिदिए।

यूहन्‍ना 19 पढ्नुहोस्