“मैले तिमीहरू सबैको विषयमा भनेको होइनँ? मैले छानेकाहरूलाई म चिन्छु। तर ‘मसँगै रोटी खाने मानिस मेरो विरोधी भयो’ भनेर धर्मशास्त्रमा लेखिएको कुरा पूरा हुनु नै पर्छ। यो भएपछि तिमीहरूले मलाई ‘जो हुँ, उही हुँ’ भनी विश्वास गर्न सक भनेर यो हुनुपहिले नै तिमीहरूलाई भन्दै छु। साँच्चै म तिमीहरूलाई भन्छु, मैले पठाएकाहरूलाई स्वागत गर्नेले मलाई नै वास्ता गर्छ र मलाई वास्ता गर्नेले मलाई पठाउनुहुने परमेश्वरलाई नै वास्ता गर्छ।”
यति भनिसक्नुभएपछि येशू एकदम विचलित हुनुभयो अनि आफ्ना चेलाहरूलाई सम्झाएर भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्छु, तिमीहरूकै बीचबाट एक जनाले मलाई पक्राइदिनेछ।” येशूले यो कुरा कसको बारेमा भन्नुभएको हो भनेर चेलाहरूले नबुझेर एक-अर्कालाई हेराहेर गर्न लागे। येशूले प्रेम गर्नुहुने चेला उहाँको छेवैमा अडेस लागेर बसिरहेका थिए। सिमोन पत्रुसले उनलाई कोट्याएर भने, “सोध त, उहाँले यो कुरा कसको बारेमा भन्नुभएको हो?” ती चेलाले येशूको छातीमा ढल्केर सोधे, “प्रभु, त्यो मानिस को हो?” येशूले भन्नुभयो, “रोटी चोबेर म जसलाई दिन्छु, मैले भनेको मानिस त्यही हो।” अनि येशूले रोटीको टुक्रा चोबेर सिमोन इस्करियोतको छोरा यहूदालाई दिनुभयो। यहूदाले रोटी लिनेबित्तिकै उसको मनमा शैतान पस्यो अनि येशूले उसलाई भन्नुभयो, “तिमीले जे गर्न लागेका छौ, चाँडै गरिहाल।” येशूले उसलाई यो कुरा किन भन्नुभएको हो, अरू कसैले बुझेनन्। उनीहरूको पैसाको थैलो यहूदाको जिम्मामा भएको हुनाले कति जनाले येशूले उसलाई चाडको लागि चाहिएको कुनै कुरा किन्न पठाउनुभएको होला भन्ने सम्झे अनि कतिले चाहिँ गरीबलाई केही दिन पठाउनुभएको होला भनी ठाने। यहूदाचाहिँ रोटीको टुक्रा खाइसक्नेबित्तिकै बाहिर निस्किहाल्यो। त्यति बेला रात परिसकेको थियो।
यहूदा गएपछि येशूले आफ्नो बारेमा यसरी भन्नुभयो, “मानव पुत्र अब उचालिनेछ, र उसमा परमेश्वरको महिमा हुनेछ। मानव पुत्रमा परमेश्वरको महिमा भयो भने परमेश्वरले आफैंमा मानव पुत्रको महिमा गर्नुहुनेछ र उहाँले यो काम छिट्टै गर्नुहुनेछ।
“हे मेरा बालकहरू हो, म अझै केही बेरसम्म मात्रै तिमीहरूसँग रहनेछु। तिमीहरूले मलाई खोज्नेछौ र मैले यहूदी अगुवाहरूलाई भनेजस्तै तिमीहरूलाई पनि भन्छु, जहाँ म जाँदै छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ। अब म तिमीहरूलाई एउटा नयाँ धार्मिक आज्ञा दिन्छु, तिमीहरू एकले अर्कालाई प्रेम गर। जसरी मैले तिमीहरूलाई प्रेम गरेको छु, त्यसरी नै तिमीहरूले पनि एकले अर्कालाई प्रेम गर्नुपर्छ। तिमीहरू एकले अर्कालाई प्रेम गर्यौ भने तिमीहरू मेरा चेला हौ भनेर सबै मानिसहरूले चिन्नेछन्।”
पत्रुसले सोधे, “प्रभु, तपाईं कहाँ जाँदै हुनुहुन्छ?”
येशूले जवाफ दिनुभयो, “अहिले तिमी म गएको ठाउँमा मलाई पछ्याएर आउन सक्दैनौ, तर पछि भने सक्नेछौ।”
पत्रुसले भने, “प्रभु, म तपाईंलाई किन अहिले नै पछ्याउन सक्दिनँ र? म तपाईंको लागि त मर्न पनि तयार छु।”
येशूले जवाफ दिनुभयो, “के तिमी मेरो लागि मर्न तयार छु भन्छौ? म तिमीलाई साँच्चै भन्छु, भोलि बिहान भाले बास्नुभन्दा अघि तिमीले मलाई तीन पल्टसम्म चिन्दिनँ भनेर इन्कार गर्नेछौ!”