येशूले उनीहरूलाई जवाफ दिनुभयो, “अब मानव पुत्रको महिमा हुने बेला आइपुग्न लागेको छ। तर साँच्चै म तिमीहरूलाई भन्छु, गहुँको दाना जमिनमा परेर मरेन भने त्यो त्यतिकै रहन्छ। तर जमिनमा परेर मर्यो भने त्यसले धेरै अन्न उब्जाउँछ। त्यसै गरी आफ्नो जीवनलाई ज्यादै माया गर्नेले जीवन गुमाउँछ। तर आफ्नो जीवनलाई संसारमा तुच्छ ठान्नेले चाहिँ त्यसलाई अजम्मरी जीवनसम्म जोगाइराख्नेछ। मेरो काम गर्न चाहनेले मलाई पछ्याउनुपर्छ। जहाँ-जहाँ म हुन्छु, त्यहीँ नै मेरो काम गर्ने पनि हुनेछ। मेरो पिताले मेरो काम गर्नेलाई कदर गर्नुहुनेछ।” “अहिले मेरो हृदय विचलित भएको छ, मलाई के भनूँ, के भनूँजस्तो भइरहेछ! हे पिता, मलाई यो आउन लागेको दु:खबाट बचाउनुहोस् भनूँ? होइन, यही दु:ख भोग्नलाई नै म यस संसारमा आएको हुँ। हे पिता, तपाईंको आफ्नै नाउँलाई महिमित तुल्याउनुहोस्।” तब स्वर्गबाट यस्तो बोलिएको सुनियो “मैले महिमा लिएको छु र फेरि पनि लिनेछु।” त्यहाँ उभिरहेका मानिसहरूको भीडले यो बोली सुने अनि कति जनाले भने, “आकाश गर्जेछ!” कति जनाले भने, “उहाँसँग स्वर्गदूत बोलेका होलान्!” तर येशूले तिनीहरूलाई भन्नुभयो, “स्वर्गबाट आएको यो आवाज मेरो लागि होइन, तर तिमीहरूको लागि नै बोलिएको हो। अब संसारलाई दोषी ठहराउने बेला आइसक्यो। अब यस संसारको राजालाई निकालिनेछ अनि म पृथ्वीबाट उचालिएपछि सबै मानिसहरूलाई आफूतिर खिच्नेछु।” यो कुरा भन्दा आफू कुन प्रकारले मर्नुपर्ने हो भनेर येशूले बताउनुभयो। मानिसहरूले भने, “हाम्रो व्यवस्थाले ‘ख्रीष्ट त सधैँ बाँचिरहनुहुनेछ’ भनेर भन्छ। तर मानव पुत्रलाई उचालिनुपर्छ भनेर तपाईं कसरी भन्न सक्नुहुन्छ? तपाईंले भन्नुभएको मानव पुत्रचाहिँ को हो?” येशूले जवाफ दिनुभयो, “उज्यालोचाहिँ अझै केही बेरसम्म तिमीहरूको बीचमा रहनेछ। उज्यालो तिमीहरूसँग रहुञ्जेल आफ्नो बाटोमा हिँड नत्र अन्धकारले तिमीहरूलाई ढाक्नेछ। अँध्यारोमा हिँड्नेले आफू कता जाँदै छु भनी थाहा पाउँदैन। तिमीहरूसँग उज्यालो रहँदा नै त्यसमा तिमीहरूले विश्वास गर र तिमीहरू ज्योतिका सन्तान हुनेछौ।” यति भनिसकेपछि येशू त्यहाँबाट जानुभयो र तिनीहरूबाट लुक्नुभयो।
यूहन्ना 12 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 12:23-36
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू