यूहन्ना 12:23-36
यूहन्ना 12:23-36 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “मानिसको पुत्रको महिमित हुने समय आइपुगेको छ। साँच्चै, म तिमीहरूलाई भन्दछु, गहूँको दाना माटोमा परेर मरेन भने त्यो एउटै रहन्छ। तर त्यो मर्यो भने त्यसले धेरै फल फलाउँछ। आफ्नो प्राणको मोह गर्नेले त्यो गुमाउँछ, तर आफ्नो प्राणलाई यस संसारमा तुच्छ ठान्नेले चाहिँ अनन्त जीवनको लागि त्यो सुरक्षित राख्छ कसैले मेरो सेवा गर्छ भने त्यसले मलाई पछ्याओस् र म जहाँ छु, मेरो सेवक पनि त्यहाँ हुनेछ। कसैले मेरो सेवा गर्छ भने पिताले त्यसको कदर गर्नुहुनेछ। “अब मेरो प्राण व्याकुल भएको छ, र म के भनूँ? ‘हे पिता, मलाई यस घड़ीबाट बचाउनुहोस्’? होइन, यसै कारणले नै म यस घड़ीसम्म आइपुगेको छु। हे पिता, तपाईंका नाउँको महिमा गर्नुहोस्।” तब स्वर्गबाट यस्तो एउटा आवाज आयो, “मैले त्यो महिमा गरेको छु, र फेरि गर्नेछु।” त्यहाँ खड़ा भएको भीड़ले यो सुनेर भन्यो, “यो मेघ गर्जन हो!” अरूहरूले भने, “स्वर्गदूत उनीसँग बोलेका हुन्!” येशूले जवाफ दिनुभयो, “यो आवाज मेरो निम्ति भएको होइन, तर तिमीहरूका निम्ति हो। अब यस संसारको न्याय हुन्छ। यस संसारको शासक बाहिर फालिनेछ। अनि जब म पृथ्वीबाट उचालिन्छु, म सबै मानिसलाई आफूतिर खिँच्नेछु।” उहाँको मृत्यु कुन प्रकारले हुने हो, सो सङ्केत दिनलाई उहाँले यसो भन्नुभएको थियो। भीड़ले उहाँलाई सोध्यो, “ख्रीष्ट सदासर्वदा रहनुहुन्छ भन्ने व्यवस्थाबाट हामीले सुनेका छौं। तपाईं कसरी भन्न सक्नुहुन्छ, मानिसको पुत्र उचालिनैपर्छ? यो मानिसको पुत्रचाहिँ को हो?” येशूले तिनीहरूलाई भन्नुभयो, “अझ अलि बेरसम्म ज्योति तिमीहरूसँग छ। ज्योति तिमीहरूसँग छउञ्जेल हिँड्डुल गर, ताकि अन्धकारले तिमीहरूलाई नढाकोस्। कोही अन्धकारमा हिँड्डुल गर्छ भने, त्यसले आफू कहाँ गइरहेछु, सो थाहा पाउँदैन। जबसम्म ज्योति तिमीहरूसँग छ ज्योतिमा विश्वास गर, र तिमीहरू ज्योतिका सन्तान होओ।” यी कुरा भन्नुभएपछि, येशू त्यहाँबाट जानुभयो, र तिनीहरूबाट लुकेर बस्नुभयो।
यूहन्ना 12:23-36 नेपाली समकालीन संस्करण (NCV)
येशूले भन्नुभयो, “मानिसको पुत्र महिमित हुने समय आइपुगेको छ। म तिमीहरूलाई साँच्चै भन्दछु, गहुँको दाना माटोमा परेर मरेन भने त्यो एकलो रहन्छ; तर यदि त्यो मर्यो भने त्यसले धेरै फल फलाउँछ। आफ्नो प्राणलाई माया गर्ने मानिसले त्यो गुमाउनेछ; तर आफ्नो प्राणलाई यस संसारमा घृणा गर्नेले त्यो अनन्त जीवनका लागि बचाउनेछ। मेरो सेवा गर्नेले मलाई पछ्याउनैपर्छ; र म जहाँ छु, मेरा सेवकहरू पनि त्यहाँ हुनैपर्छ। मेरो सेवा गर्नेहरूलाई मेरा पिताले आदर गर्नुहुनेछ। “अहिले मेरो हृदय अति व्याकुल भएको छ। के म यसरी प्रार्थना गरूँ, ‘पिता, जे हुन आँटेको छ, त्यसदेखि मलाई बचाउनुहोस्?’ होइन, यसैको लागि म यहाँसम्म आएँ। हे पिता, तपाईं आफ्नो नाउँको महिमा गर्नुहोस्!” त्यसपछि स्वर्गबाट यस्तो एउटा स्वर आयो, “मैले मेरो नाउँको महिमा गरिसकेको छु, र म फेरि महिमा गर्नेछु।” त्यो भीडमा भएका यो स्वर सुन्नेहरूमध्ये कतिले यसलाई गर्जन हो भनी ठाने, तर अरूले स्वर्गदूत उहाँसँग बोल्नुभएको हो भनी भने। येशूले भन्नुभयो, “यो स्वरचाहिँ तिमीहरूको फाइदाको निम्ति थियो, मेरो निम्ति होइन। अब संसारको न्यायको समय आइपुगेको छ, अब यस संसारको शासक बाहिर फालिनेछ। यदि म पृथ्वीबाट माथि उचालिएँ भने मैले सबै मानिसहरूलाई मकहाँ खिँच्नेछु।” उहाँको मृत्यु कुन प्रकारको हुनेछ भन्ने सङ्केत गर्न उहाँले यसो भन्नुभएको थियो। भीडले प्रश्न गर्यो, “हामीले ख्रीष्ट सदा-सर्वदा जीवित रहनुहुनेछ र कहिल्यै मर्नुहुनेछैन भनेर व्यवस्थाबाट सुनेका थियौं। त्यसो हो भने ‘मानिसका पुत्र उचालिनुपर्छ’ भनी तपाईं कसरी भन्न सक्नुहुन्छ? यो ‘मानिसका पुत्र’ भनेको को हुन्?” येशूले तिनीहरूलाई भन्नुभयो, “अब केही बेर मात्र तिमीहरूले ज्योति पाउनेछौ। तिमीहरूसँग ज्योति भएकै बेला र अन्धकारले ढाक्नुभन्दा अघि नै हिँड्डुल गर। अन्धकारमा हिँड्ने मानिसले ऊ कहाँ जाँदैछ भन्ने थाहा पाउँदैन। तिमीहरूसँग ज्योति हुँदा नै आफ्नो भरोसा त्यसमा राख, तब तिमीहरू ज्योतिका सन्तान बन्नेछौ।” यति भनिसक्नुभएपछि येशू जानुभयो र फेरि तिनीहरूबीचमा देखा पर्नुभएन।
यूहन्ना 12:23-36 पवित्र बाइबल (NERV)
येशूले तिनीहरूलाई भन्नुभयो, “मानिसको पुत्रलाई महिमा ग्रहण गर्ने बेला आइपुग्यो। म तिमीहरूलाई साँच्चो भन्दछु। गहुँको दाना भूइँमा झर्नु पर्छ अनि मर्छ। तब यो बढछ र धेरै बीऊहरू उब्जाउँछ। तर यो मरेन भने यो सधैँ खालि एउटै बीऊ मात्र रहन्छ। जसले आफ्नो प्राणको माया गर्दछ उसले प्राण गुमाउँदछ। तर जसले आफ्नो प्राणलाई घृणा गर्दछ यस संसारमा उसले अनन्त जीवन पाउँदछ। जसले मेरो सेवा गर्दछ उसले मलाई पछ्याउनु नै पर्छ। तब मात्र मेरा सेवक म जहाँ-जहाँ हुँदछु त्यतै मसँग हुँदछ। मेरो पिताले तिनीहरूलाई सम्मान दिनुहुनेछ जसले मेरो सेवा गर्छन्। “अहिले मेरो हृदय व्याकुल छ। मैले के भन्नु पर्ला र? के मैले भन्नु पर्छ, ‘पिता मलाई कष्टको बेलाबाट बचाई दिनु होस्?’ होइन, यस्तो बेलामा म आउनको कारण नै दुःखः पाउनुका निम्ति हो। हे पिता, तपाईंको नामको महिमा प्रदान गराउनु होस्।” तब स्वर्गबाट एउटा आवाज आयो, “मैले त्यो नाउँमा महिमा ल्याएकोछु। अनि म फेरि महिमा ल्याउनेछु।” उभिरहेका मानिसहरूको भीडले त्यो आवाज सुने। ती मानिसहरूले त्यसलाई मेघ, गर्जन् भने। तर अरू मानिसहरूले भने, “स्वर्गदूत उहाँसँग बोले!” येशूले मानिसहरूलाई भन्नुभयो, “त्यो आवाज तिमीहरूको लागि हो, मेरो लागि होइन। अब संसार (दुष्ट) को न्याय गर्ने बेला आयो। अब यस संसारको शासक फ्याँकिनेछ। म पृथ्वीबाट उचालिनेछु। अनि जब यस्तो हुँदछ, म सबै मानिसहरूलाई मकहाँ ल्याउनेछु।” उहाँको मृत्यु कुन प्रकारले हुनेछ त्यो संकेत दिनलाई उहाँले त्यसो भन्नुभयो। मानिसहरूले भने, “तर हाम्रा व्यवस्थाले भन्छ ख्रीष्ट अनन्त बाँच्नेछ यसर्थ तपाईं कसरी भन्नुहुन्छ, मानिसको पुत्र उचालिनु पर्छ? यो ‘मानिसको पुत्र’ भनेको को हो?” तब येशूले भन्नुभयो, “ज्योति अझ केही समयको लागि तिमाहरूसँग रहनेछ। यसर्थ जति वेला सम्म उज्यालो छ त्यति वेला सम्म हिडडुल गर ताकि अँध्यारोले तिमीहरूलाई समात्ने छैन। जो मानिस अन्धकारमा हिंडछ उसले ऊ कहाँ गई रहेछ थाहा पाउँदैन। यसर्थ ज्योति जब सम्म तिमीहरूसँग रहन्छ त्यसमा विश्वास राख। तब तिमीहरू ज्योतिको सन्तानहरू हुनेछौ।” यति भनिसकेर येशू जानुभयो। येशू त्यस्तो जग्गामा जानु भयो जहाँ कसैले उहाँलाई भेट्न सक्तैन।
यूहन्ना 12:23-36 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
येशूले उनीहरूलाई जवाफ दिनुभयो, “अब मानव पुत्रको महिमा हुने बेला आइपुग्न लागेको छ। तर साँच्चै म तिमीहरूलाई भन्छु, गहुँको दाना जमिनमा परेर मरेन भने त्यो त्यतिकै रहन्छ। तर जमिनमा परेर मर्यो भने त्यसले धेरै अन्न उब्जाउँछ। त्यसै गरी आफ्नो जीवनलाई ज्यादै माया गर्नेले जीवन गुमाउँछ। तर आफ्नो जीवनलाई संसारमा तुच्छ ठान्नेले चाहिँ त्यसलाई अजम्मरी जीवनसम्म जोगाइराख्नेछ। मेरो काम गर्न चाहनेले मलाई पछ्याउनुपर्छ। जहाँ-जहाँ म हुन्छु, त्यहीँ नै मेरो काम गर्ने पनि हुनेछ। मेरो पिताले मेरो काम गर्नेलाई कदर गर्नुहुनेछ।” “अहिले मेरो हृदय विचलित भएको छ, मलाई के भनूँ, के भनूँजस्तो भइरहेछ! हे पिता, मलाई यो आउन लागेको दु:खबाट बचाउनुहोस् भनूँ? होइन, यही दु:ख भोग्नलाई नै म यस संसारमा आएको हुँ। हे पिता, तपाईंको आफ्नै नाउँलाई महिमित तुल्याउनुहोस्।” तब स्वर्गबाट यस्तो बोलिएको सुनियो “मैले महिमा लिएको छु र फेरि पनि लिनेछु।” त्यहाँ उभिरहेका मानिसहरूको भीडले यो बोली सुने अनि कति जनाले भने, “आकाश गर्जेछ!” कति जनाले भने, “उहाँसँग स्वर्गदूत बोलेका होलान्!” तर येशूले तिनीहरूलाई भन्नुभयो, “स्वर्गबाट आएको यो आवाज मेरो लागि होइन, तर तिमीहरूको लागि नै बोलिएको हो। अब संसारलाई दोषी ठहराउने बेला आइसक्यो। अब यस संसारको राजालाई निकालिनेछ अनि म पृथ्वीबाट उचालिएपछि सबै मानिसहरूलाई आफूतिर खिच्नेछु।” यो कुरा भन्दा आफू कुन प्रकारले मर्नुपर्ने हो भनेर येशूले बताउनुभयो। मानिसहरूले भने, “हाम्रो व्यवस्थाले ‘ख्रीष्ट त सधैँ बाँचिरहनुहुनेछ’ भनेर भन्छ। तर मानव पुत्रलाई उचालिनुपर्छ भनेर तपाईं कसरी भन्न सक्नुहुन्छ? तपाईंले भन्नुभएको मानव पुत्रचाहिँ को हो?” येशूले जवाफ दिनुभयो, “उज्यालोचाहिँ अझै केही बेरसम्म तिमीहरूको बीचमा रहनेछ। उज्यालो तिमीहरूसँग रहुञ्जेल आफ्नो बाटोमा हिँड नत्र अन्धकारले तिमीहरूलाई ढाक्नेछ। अँध्यारोमा हिँड्नेले आफू कता जाँदै छु भनी थाहा पाउँदैन। तिमीहरूसँग उज्यालो रहँदा नै त्यसमा तिमीहरूले विश्वास गर र तिमीहरू ज्योतिका सन्तान हुनेछौ।” यति भनिसकेपछि येशू त्यहाँबाट जानुभयो र तिनीहरूबाट लुक्नुभयो।