यर्मिया 6
6
शत्रुहरूले यरूशलेमलाई घेरेका
1हे बेन्यामीनीहरू हो, सुरक्षाको निम्ति यरूशलेमबाट निस्केर भाग! तकोमा तुरही बजाओ र बेथ-हक्केरेममा आगो सल्काई धुवाँको सङ्केत दिने व्यवस्था गर! उत्तरबाट विपत्ति र विनाश आउन लागेका छन्। 2सुन्दर सहर सियोन, म तँलाई नाश गर्नेछु। 3राजाहरूले छाउनी हाली आफ्ना सेनाहरूसहित त्यहाँ बास गर्नेछन्। तिनीहरूले सहरको चारैतिर आफ्ना पाल टाँग्नेछन् र आ-आफ्ना क्षेत्रमाथि आँखा राख्नेछन्। 4तिनीहरूले यसो भन्नेछन्, “यरूशलेममाथि हमला गर्न तयार होओ! सबै तयारी गर! मध्यदिनमा हामीले त्यसमाथि आक्रमण गर्नेछौं। तर ढीलो भइसक्यो! दिन ढलिसक्यो। घाम डुब्न लागेको छ। 5त्यसैले हामीले रातारात त्यसमाथि आक्रमण गर्नेछौं। सहरका किल्लाहरू नाश गर्नेछौं।”
6सर्वशक्तिमान् परमप्रभुले ती राजाहरूलाई भन्नुहुन्छ, “यरूशलेमलाई घेरा हाल्न रूखहरू ढाली थुपार। म यस सहरलाई दण्ड दिनेछु किनभने यसमा अत्याचार छ। 7जसरी इनारमा ताजा पानी निस्किरहन्छ, त्यसरी नै यरूशलेमले आफ्ना दुष्ट्याइँ निकालि रहन्छ। त्यहाँ हिंसा र विनाश भएको सुनिन्छ, म त्यहाँ रोग-बिमार र चोटैचोट मात्र देख्छु। 8हे यरूशलेमका मानिसहरू हो, यी कष्टहरू तिमीहरूका निम्ति चेतावनी होस्। नत्रता म तिमीहरूलाई त्याग्नेछु, तिमीहरूका सहरलाई उजाड पार्नेछु र त्यो निर्जन हुनेछ।”
विद्रोही इस्राएल
9सर्वशक्तिमान् परमप्रभुले मलाई यसो भन्नुभयो, “सबै फलहरू दाखबारीबाट एउटै नछाडी टिपेझैँ इस्राएलका बाँचेकाहरू सखाप पारिनेछन्। यसकारण समय छँदै तैँले भेटे जति सबैलाई बचाइहाल्।”
10मैले जवाफ दिएँ, “मेरो कुरा कसले सुन्ला र? क-कसलाई भनूँ र चेतावनी दिऊँ? तिनीहरूले ढिट भई आफ्ना कान बन्द गरेका छन्। तपाईंको वचन तिनीहरूको निम्ति ठोकर हुन्छ र त्यसमा तिनीहरूले कुनै आनन्द पाउँदैनन्। 11परमप्रभु, तपाईंको तिनीहरूमाथि जुन क्रोध छ, त्यो मभित्र पनि बल्दछ। अब म त्यो थामेर राख्न सक्दिनँ।”
तब परमप्रभुले मलाई भन्नुभयो, “त्यो मेरो क्रोध बाटामा भएका केटा-केटीहरू र युवाहरू भेला भएका ठाउँमा खन्याइदे। लोग्ने-स्वास्नीहरू सबै लगिनेछन्, बुढापाकाहरू पनि छोडिनेछैनन्। 12तिनीहरूका घर र खेतबारी स्वास्नीहरूसमेत अरूहरूलाई दिइनेछन्। म यस देशका बासिन्दाहरूलाई दण्ड दिनेछु। 13ठूला-साना सबैले बेइमानीले धन कमाउन चेष्टा गर्छन्। अगमवक्ता र पूजाहारीहरू समेतले मानिसहरूलाई ठग्छन्। 14#इजकिएल 13:10तिनीहरूले मेरा प्रजालाई अलि-अलि मात्र कोतरेजस्तो गरी पट्टी बाँधिदिन्छन्। तिनीहरू भन्छन्, ‘शान्ति, शान्ति, सबै ठीकै छ,’ तर खास सुख-शान्ति कहीं पनि छैन। 15#यर्मिया 8:10-12यी घिनलाग्दा काम गरेकोमा तिनीहरूले लाज मान्नुपर्दैनथ्यो? तर तिनीहरूले लाज ठ्याम्मै मानेनन्। लाज भनेको के कुरा हो, तिनीहरूले जानेनन्। यसकारण अरू नाश हुनेहरूसँगै तिनीहरू पनि नाश हुनेछन्। मैले तिनीहरूलाई दण्ड दिएको समयमा तिनीहरू नष्ट हुनेछन्। म परमप्रभु बोलेको छु।”
इस्राएलको अनाज्ञाकारीता
16परमप्रभु आफ्ना प्रजालाई भन्नुहुन्छ, “चौबाटोमा उभिएर हेर। पुराना बाटोहरू र सर्वोत्तम बाटो खोज र त्यस बाटोमा हिंड अनि तिमीहरूको जीवन शान्तिसित बित्नेछ।”
तर तिनीहरूले भने, “अँहँ, हामी त्यसो गर्दैनौं।” 17तब तुरहीको आवाज सुन्नलाई पहरेदारहरू मैले खटाएँ तर तिनीहरूले भने, “त्यो पनि हामी मान्नेछैनौं।”
18यसकारण परमप्रभुले भन्नुभयो, “हे जाति-जातिका मानिसहरू हो, सुन। मेरा प्रजालाई के हुनेछ, त्यो जानिराख। 19ए पृथ्वी, सुन! यिनीहरूका सबै जुक्तिहरूको फलस्वरूप म यस जातिमाथि विनाश ल्याउँदै छु किनभने यिनीहरूले मेरा वचन इन्कार गरेका छन् र मेरा व्यवस्था पालन गरेका छैनन्। 20केको निम्ति यिनीहरू मकहाँ शेबा देशबाट सुगन्धित धूप र टाढाबाट चन्दन ल्याउँछन्? म तिनीहरूका भेटी ग्रहण गर्नेछैनँ, नत तिनीहरूका बलिदानसित प्रसन्न हुनेछु। 21यसकारण म यी मानिसहरूलाई ठेस खान लाउनेछु र लडाउनेछु। बुबा-छोराहरू, इष्ट-मित्रहरू, छरछिमेकीहरू सबै मर्नेछन्।”
उत्तर दिशाबाट हमला
22परमप्रभु भन्नुहुन्छ, “उत्तरको देशबाट मानिसहरू आउँदै छन्, त्यस टाढा देशका शक्तिशाली जातिले लडाइँ गर्न तयारी गर्दै छन्। 23तिनीहरूले आफ्ना धनु र तरवार हातमा लिएका छन् र तिनीहरू निष्ठुर र निर्दयी छन्। तिनीहरू घोडामा चढेर आउँदा तिनीहरूको आवाज समुद्रको गर्जनझैँ हुन्छ। यरूशलेमसित लडाइँ गर्न तिनीहरू आइरहेका छन्।”
24यरूशलेमका मानिसहरू भन्छन्, “हामीले यस कुराको खबर पायौं र हाम्रा हात लल्याकलुलुक भएका छन्। सुत्केरी व्यथा लागेकी स्त्रीझैँ हामी वेदना र कष्टमा परेका छौं। 25बारीतिर नजाओ, बाटोमा पनि नहिंड। शत्रुका हातमा हतियार छन्, चारैपट्टि डर छ।”
26परमप्रभु आफ्ना प्रजालाई भन्नुहुन्छ, “भाङ्ग्राका लुगा लगाओ र खरानीमा लडीबडी गर। एउटै मात्र छोरोको निम्ति विलाप गरेझैँ बेसरी विलाप गर किनभने तिम्रो विनाश गर्नेले अचानक हमला गर्नेछ। 27हे यर्मिया, सुन-चाँदीलाई कसी लाएझैँ मेरा प्रजालाई कसी लगा र तिनीहरू कस्ता छन्, विचार गर्। 28तिनीहरू ढिट विद्रोहीहरू हुन्, काँसा र फलामझैँ कठोर छन्। तिनीहरू सबै भ्रष्टाचारी भएका छन् र अरूको निन्दा गरी हिंड्छन्। 29आरन खुब जोडले दन्कन्छ तर खार पग्लेर जाँदैन। मेरा प्रजालाई खार्ने काम व्यर्थमा चलिरहन्छ किनभने दुष्टहरू हटाइँदैनन्। 30तिनीहरू खोटो चाँदी कहलाइनेछन् किनभने म परमप्रभुले तिनीहरूलाई त्यागिदिएको छु।”
अहिले सेलेक्ट गरिएको:
यर्मिया 6: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.