यर्मिया 52
52
यरूशलेमको पतन
(२ राजा २४:१८—२५:७)
1यहूदाका राजा हुँदा सिदकियाहको उमेर एक्काईस वर्षको थियो। उनले यरूशलेममा एघार वर्ष राज्य गरे। उनकी आमाको नाम हमुतल थियो। तिनी लिब्नावासी यर्मियाकी छोरी थिइन्। 2यहोयाकीम राजाले गरेझैँ सिदकियाह राजाले परमप्रभुको विरुद्धमा पाप गरे। 3यरूशलेम र यहूदाका मानिसहरूसित परमप्रभु यति साह्रो रिसाउनुभयो कि उहाँले तिनीहरूलाई आफ्नो दृष्टिदेखि फालिदिनुभयो।
सिदकियाहले बेबिलोनका राजा नबूकदनेसरको विरुद्धमा विद्रोह गरे। 4#इजकिएल 24:2यसकारण आफ्नो सेना लिई नबूकदनेसर आएर सिदकियाहका राज्यकालको नवौँ वर्षको दशौँ महिनाको दशौँ दिनमा यरूशलेममाथि हमला गरे। तिनीहरूले सहरको बाहिरपट्टि छाउनी हाले, सहरका चारैपट्टि घेरा हाले 5र सिदकियाहको शासनकालको एघारौं वर्षसम्म घेरामा राखे। 6त्यस वर्षको चौथो महिनाको नवौँ दिनमा जब घोर अनिकाल परेर मानिसहरूसित केही खाने कुरा थिएन, 7#इजकिएल 33:21बेबिलोनीहरूले सहरका पर्खाल तोडे। तिनीहरूले सहर घेरेर राखेका भए पनि राती सबै यरूशलेमका सिपाहीहरू निस्केर बाहिर भागे। तिनीहरू राजाका बगैँचाबाट भएर दुई पर्खालबीच भएको फाटकबाट निस्के र यर्दनको बेसीतर्फ लागे। 8तर बेबिलोनका सेनाले सिदकियाह राजालाई खेदे र यरीहोछेउको मैदानमा भेट्टाए। उनका सबै सिपाहीहरूले उनलाई छोडेर भागे। 9सिदकियाह नबूकदनेसर राजाको सामुन्ने लगिए। त्यस बेला नबूकदनेसर हमात देशको रिब्ला सहरमा थिए र उनले त्यही नै सिदकियाहमाथि दण्डको आज्ञा दिए। 10उनले रिब्लामा सिदकियाहकै आँखाअघि उनका छोराहरूलाई मार्न लाए र उनका भारदारहरूलाई पनि मारे। 11#इजकिएल 12:13त्यसपछि उनले सिदकियाहका आँखा निकाल्न लाए र काँसाका साङ्लाले बाँधेर उनलाई बेबिलोनमा लगे। सिदकियाह आफ्नो मृत्यु नभएसम्म बेबिलोनमा कैदमा रहे।
मन्दिरको विनाश
(२ राजा २५:८-१७)
12बेबिलोनका राजा नबूकदनेसरको राज्यकालको उन्नाईसौं वर्षको पाँचौँ महिनाको दशौँ दिन राजाका सेनाका सेनापति र सल्लाहकार नबूजरदान यरूशलेममा पसे। 13#१ राजा 9:8उनले यरूशलेममा भएको परमप्रभुको मन्दिर, राजमहल, सबै घरहरू र मुख्य भवनहरू आगोले भस्म पारिदिए 14र उनका सेनाले सहरका पर्खालहरू भत्काइदिए। 15त्यसपछि नबूजरदानले सहरमा बाँकी रहेका केही मानिसहरू, सिपालु कारिगरहरू र आफ्ना राजालाई त्यागेर बेबिलोनीहरूका पछि लाग्नेहरू सबैलाई कैद गरी बेबिलोनमा लगे। 16तर साह्रै गरीब मानिसहरूलाई उनले यहूदामा नै छोडिराखे अनि दाखबारी र खेतबारीहरूमा काम गर्न लाए।
17 #
१ राजा 7:15-47
अनि बेबिलोनीहरूले परमप्रभुको मन्दिरमा भएका काँसाका स्तम्भहरू र गाडाहरू, काँसाको ठूलो पानी ट्याङ्कीसमेत टुक्रै-टुक्रा पारे र जम्मै काँसा बेबिलोनमा लगे। 18तिनीहरूले वेदी सफा गर्दा चलाउने बेल्चा र खरानी उठाउने पात्रहरू, दियो ठीक गर्ने औजारहरू, बलि गर्दा रगत थाप्ने भाँडाहरू, धूप-दानीहरू र मन्दिरका सेवामा चलाइने अरू सबै काँसाका चीज-बीजहरू पनि लगे। 19सुन र चाँदीले बनेका हरेक थोक, स-साना कचौराहरू, आगो बोक्ने ताप्केहरू, पानसहरू र मद्यबलि चढाउँदा मद्य खनाउने भाँडाहरू पनि तिनीहरूले लगे। 20सोलोमन राजाले परमप्रभुको मन्दिरको निम्ति बनाएका काँसाका सामानहरू अर्थात् दुई वटा स्तम्भहरू, गाडाहरू र ठूलो पानी-ट्याङ्की र त्यसलाई थाम्ने बाह्र वटा साँढेहरू, ती अति गह्रौं थिए र तिनको तौल लिन सकिंदैनथ्यो। 21-22दुई वटा स्तम्भ एकै किसिमका थिए, प्रत्येक आठ मिटर अग्लो र ५.३ मिटर गोलो थियो। ती स्तम्भहरू भित्रपट्टि खोक्रा थिए र तिनको काँसको मोटाइ साढे सात सेन्टिमिटर थियो। प्रत्येक स्तम्भको टुप्पोमा २.२ मिटर अग्लो काँसाको शीर्ष राखिएको थियो र त्यसका चारैपट्टि काँसाले बनेका दारिमहरूले सिँगारेको काँसाकै जाली थियो। 23हरेक स्तम्भको जाली एक सय वटा दारिमहरूले सिंगारिएको थियो र तीमध्ये छयानब्बे वटा जमिनबाट देखिन्थे।
यहूदाका मानिसहरू कैदी बनाई बेबिलोनमा लगिन्छन्
(२ राजा २५:१८-२१,२७-३०)
24तीबाहेक सेनापति नबूजरदानले मुख्य पूजाहारी सरायाह, दोस्रो पूजाहारी सपन्याह र मन्दिरका अरू तीन मुख्य अधिकारीहरूलाई कैद गरी लगे। 25सहरबाट उनले फौजका अधिकृत, बाँकी रहेका सात जना राजाका सल्लाहकारहरू र फौजी कागत-पत्र राख्ने उनका सहायक र अरू साठी जना मुख्य मानिसहरूलाई पनि लिएर गए। 26-27नबूजरदानले तिनीहरूलाई बेबिलोनका राजाकहाँ लगे। राजा त्यस बेला हमात इलाकाको रिब्ला सहरमा थिए। त्यहाँ उनले तिनीहरूलाई कोर्रा लाएर मार्न लाए।
यसरी यहूदाका मानिसहरू आफ्नो देशबाट कैदमा लगिए। 28नबूकदनेसरले कैद गरी लगेका मानिसहरूको सङ्ख्या यस्तो छ: उनका शासनकालको सातौं वर्षमा उनले ३,०२३ जना यहूदी लगे, 29अठारौं वर्षमा यरूशलेमबाट ८३२ जना 30र तेईसौं वर्षमा नबूजरदानले लगेका ७४५ जना यहूदी। यसरी सबै जम्मा ४,६०० जना मानिसहरू कैदमा लगे।
31जुन वर्ष एबील-मरोदक बेबिलोनका राजा भए, त्यही वर्ष उनले यहूदाका राजा यहोयाकीनमाथि दया देखाए र उनलाई कैदबाट मुक्त गरिदिए। यहोयाकीन कैदमा लगिएपछि सैंतीसौं वर्षको बाह्र महिनाको पच्चीसौं दिनमा उनी कैदबाट छोडिए। 32एबील-मरोदकले उनीसित दयालु व्यवहार गरे र उनीसित बेबिलोनमा कैदी भई बसेका अरू राजाहरूलाई भन्दा बढ्ता सम्मान उनलाई दिए। 33यसरी यहोयाकीनले कैदको लुगा उतारे र आफ्नो बाँकी जीवनभरि राजासित उनको टेबिलमा बसेर भोजन गरे। 34उनको जीवनकालभरि दिन-दिनको खाँचोअनुसार उनले भत्ता पाउँथे।
अहिले सेलेक्ट गरिएको:
यर्मिया 52: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.