YouVersion लोगो
खोज आइकन

यर्मिया 50:18-45

यर्मिया 50:18-45 सरल नेपाली

त्‍यही कारण म सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वरले अश्‍शूरको राज्‍यलाई दण्‍ड दिएझैँ राजा नबूकदनेसर र त्‍यसको देशलाई पनि दण्‍ड दिनेछु। म इस्राएलका मानिसहरूलाई तिनीहरूका देशमा फर्काउनेछु। तिनीहरूले कर्मेल पहाड र बाशानमा उब्‍जेका अन्‍न खानेछन् र एफ्राइम र गिलादका जमिनका उपजबाट अघाउञ्‍जेल खानेछन्। ती दिनहरू आएपछि इस्राएलमा पाप पाइनेछैन अनि यहूदामा अधर्म खोजे पनि पाइनेछैन किनभने जुन मानिसहरूको प्राण म बचाउनेछु, तिनीहरूका पाप म क्षमा गरिदिनेछु। म परमप्रभु बोलेको छु।” परमप्रभु भन्‍नुहुन्‍छ, “मरातैम र पकोद इलाकाका मानिसहरूमाथि हमला गर। तिनीहरूलाई मार र नष्‍ट पार। मैले आज्ञा गरेअनुसार सबै काम पूरा गर। म परमप्रभु बोलेको छु। देशमा लडाइँको आवाज सुनिंदै छ र ठूलो विनाश भएको छ। बेबिलोनले घन भई सारा संसारलाई पिटेर चुर पारेको थियो तर अब त्‍यो घन आफैं चुर भएको छ! त्‍यस देशको दशा देखेर सबै जातिहरू तर्सेका छन्। ए बेबिलोन, तैँले मसित लडाइँ गरिस् र तँ अहिले फेला परिस्। मैले तँलाई थापेको पासोमा आफू परेको तैँले थाहा पनि पाइनस्। मैले आफ्‍नो हतियार राखेको सिलखाना खोलेर रिसमा ती हतियारहरू निकालेको छु किनभने म सार्वभौम, सर्वशक्तिमान् परमप्रभुले बेबिलोनमा काम गर्नुपरेको छ। त्‍यसलाई चारैपट्टिबाट हमला गर्‌! त्‍यसका अन्‍नका ढुकुटीहरू तोडिदे! अन्‍न थुपारेझैँ त्‍यसलाई एक थुप्रो बनाइदे! त्‍यस देशलाई पूरा नाश गर्‌! कसैलाई पनि नछोड्! सबै सेनाहरूलाई मार्‌! तिनीहरूलाई काट्! तिनीहरूले दण्‍ड पाउने बेला आइपुग्‍यो! बेबिलोनका मानिसहरूको अन्‍त आइपुग्‍यो!” (बेबिलोनबाट उम्‍केर भाग्‍नेहरू यरूशलेममा आएर परमप्रभु हाम्रा परमेश्‍वरले बेबिलोनका बासिन्‍दाहरूलाई तिनीहरूले उहाँको मन्‍दिरलाई के गरेका थिए, त्‍यसको बदला लिनुभयो भनी सुनाउनेछन्।) “बेबिलोनमाथि हमला गर्न धनुर्धारीहरूलाई भन्। धनुकाँड चलाउन सक्‍ने सबैलाई पठा। सहरलाई घेरामा ले र कसैलाई भाग्‍न नदे। त्‍यसले जे गर्‍यो, त्‍यसको बदला ले। त्‍यसले अरूलाई जे गरेथ्‍यो, त्‍योसित त्‍यसै गर्‌ किनभने त्‍यसले घमण्‍डसित म इस्राएलका पवित्र परमेश्‍वरको विरोध गरेको थियो। यसकारण त्‍यसका युवकहरू सहरहरूमा मारिनेछन् र त्‍यसै दिन त्‍यसका सबै सिपाहीहरू मारिनेछन्। म परमप्रभु बोलेको छु। “ए बेबिलोनिया, तँ घमण्‍डले भरिएको छस्! यसकारण म सार्वभौम, सर्वशक्तिमान् परमप्रभु तेरो विरुद्धमा खडा भएको छु। मैले तँलाई दण्‍ड दिने समय आइपुग्‍यो। तेरो अहङ्कारी जाति ठोकर खाएर लड्‍नेछ र तँलाई उठ्‍न कसैले मद्दत गर्नेछैन। म तेरा सहरहरूमा डढेलो लाइदिनेछु र त्‍यसका चारैतिरका सबै थोकहरू भस्‍म हुनेछन्।” सर्वशक्तिमान् परमप्रभु भन्‍नुहुन्‍छ, “इस्राएल र यहूदाका मानिसहरूमाथि अत्‍याचार भएको छ। तिनीहरूलाई कब्‍जा गर्नेहरूले तिनीहरूमाथि कडा गरी पहरा दिइराखेका छन् र तिनीहरूलाई छोड्दैनन्। तर तिनीहरूको उद्धार गर्ने एक सामर्थी व्‍यक्ति हुनुहुन्‍छ, जसको नाम सर्वशक्तिमान् परमप्रभु हो। उहाँ तिनीहरूका पक्षमा लड्‍नुहुनेछ र देशमा शान्‍ति ल्‍याउनुहुनेछ। तर बेबिलोनका बासिन्‍दाहरूमाथि भने उहाँले कष्‍ट ल्‍याउनुहुनेछ।” परमप्रभु भन्‍नुहुन्‍छ, “बेबिलोनको नाश होस्! त्‍यसका प्रजाको मृत्‍यु होस्, त्‍यसका शासकहरूको र विद्वान मानिसहरूको पनि मृत्‍यु होस्! त्‍यसका झूटा अगमवक्ताहरूको मृत्‍यु होस्! तिनीहरू कस्‍ता मूर्ख छन्! त्‍यसका सिपाहीहरूको मृत्‍यु होस्! तिनीहरू कस्‍ता भयभीत छन्! त्‍यसका घोडा र रथहरूको नाश गर! त्‍यसका ज्‍यालादार सेनाहरूको मृत्‍यु होस्! तिनीहरू कति दुर्बल छन्! त्‍यसका धनका भण्‍डारहरू नाश गर, ती लुटपिट र हारालुछ गर। त्‍यस देशमा खडेरी परोस्, त्‍यसका नदीहरूमा पानी सुकोस्। बेबिलोन एउटा डरलाग्‍दो मूर्तिहरूले भरिएको देश हो। ती मूर्तिहरूले देशवासीहरूलाई मूर्ख बनाएका छन्। “यसकारण जङ्गली जनावर, स्‍याल र अशुद्ध पक्षीहरू बेबिलोनमा बास गर्नेछन्। त्‍यहाँ फेरि मानिसहरूले बास गर्नेछैनन्, त्‍यो आइन्‍दा सदाकालको निम्‍ति निर्जन हुनेछ। मैले सदोम र गमोरा छेउ-छाउका सहरहरूलाई जे गरें, त्‍यही बेबिलोनलाई गर्नेछु। त्‍यहाँ फेरि कुनै प्राणीले बास गर्नेछैन। म परमप्रभु बोलेको छु। “उत्तर देशबाट मानिसहरू आइरहेछन्, टाढा-टाढाबाट बलियो जाति र धेरै राजाहरू लडाइँको लागि तयार भइरहेछन्। तिनीहरूले धनु र तरवारहरू लिएका छन्। तिनीहरू कठोर र निर्दयी छन्। घोडाहरू चढेर जाँदा समुद्र गर्जेजस्‍तै तिनीहरूको आवाज गर्जन्‍छ। तिनीहरू बेबिलोनको विरुद्ध लडाइँ गर्न तयार छन्। बेबिलोनको राजाले त्‍यो खबर सुने र तिनका हातहरू लुला भए। स्‍त्री सुत्‍केरी व्‍यथामा परेझैँ तिनी ठूलो वेदनामा परे। “यर्दनको किनारको घनघोर जङ्गलबाट हरियो खर्कमा सिंह आएझैँ म परमप्रभु आउनेछु र एक्‍कासि बेबिलोनीहरूलाई तिनीहरूको सहरबाट भाग्‍न लाउनेछु। त्‍यसपछि मैले चुनेको अगुवाले त्‍यस जातिमाथि राज्‍य गर्नेछ। मजस्‍तो को छ? कसले मलाई चुनौती दिन सक्‍छ? कुन राजा मेरो विरुद्धमा खडा हुन सक्‍छ? यसकारण मैले बेबिलोन सहरको विरुद्धमा बनाएको जुक्‍ति सुन। मैले त्‍यसका बासिन्‍दाहरूलाई के गर्ने इच्‍छा गरेको छु, ती सुन। तिनीहरूका बाल-बालिकाहरू पनि घिस्‍स्‍याएर लगिनेछन्। सबै जना भयभीत हुनेछन्।

यर्मिया 50 पढ्नुहोस्