न्यायकर्ता 4
4
दबोरा र बाराक
1एहूदको मृत्युपछि इस्राएलका मानिसहरूले फेरि पाप गरे। 2यसकारण परमप्रभुले हासोर सहरमा राज गर्ने कनानी राजा याबीनको हातमा तिनीहरूको हार हुन दिनुभयो। याबीनको सेनापति सीसरा थियो। ऊ अन्यजातिहरू बास गर्ने हरोशेतमा बस्दथ्यो। 3याबीनका नौ सय फलामका रथहरू थिए। उसले क्रूरतापूर्वक बीस वर्षसम्म इस्राएलीहरूमाथि राज गर्यो। तब इस्राएलीहरूले परमप्रभुलाई मद्दत मागेर पुकारे।
4त्यस बेला लप्पीदोतकी स्वास्नी दबोरा नाम गरेकी एउटी अगमवादिनी इस्राएलीहरूका न्यायकर्ता थिइन्। 5एफ्राइमको पहाडी देशमा रामा र बेथेलबीचको एउटा खजुरको रूखमुनि तिनी बस्दथिइन्। इस्राएलीहरू तिनीकहाँ निसाफ खोज्न आउँथे र तिनको फैसला सुन्थे। 6एक दिन अबीनोअमका छोरा बाराकलाई नप्तालीको केदेश सहरबाट बोलाउन पठाएर तिनले भनिन्, “इस्राएलका परमप्रभु परमेश्वरले तिमीलाई यो आज्ञा दिनुभएको छ– ‘नप्ताली र जबूलून कुलदेखि दश हजार मानिसहरू लिएर तँ तबोर पहाडमा जा। 7कीशोन नदीछेउ तँसँग युद्ध गर्नलाई याबीनका सेनापति सीसरालाई म ल्याउनेछु। ऊसँग उसका रथ र सेना रहनेछन् तर म तँलाई तिनीहरूमाथि विजय गरिदिनेछु।”
8बाराकले दबोरालाई उत्तर दिए, “तपाईं मसँग जानुहुन्छ भने म जानेछु तर जानुहुन्न भने म पनि जानेछैनँ।”
9उनले भनिन्, “हुन्छ, म तिमीसँग जाउँला तर तिमीले केही नाम पाउनेछैनौ, कारण परमेश्वरले सीसरालाई एउटी स्त्रीको हातमा पारिदिनुहुनेछ।” यसरी दबोरा बाराकसित केदेशतिर लागिन्। 10बाराकले नप्ताली र जबूलून कुलदेखि मानिसहरूलाई बोलाए र दश हजार उनका पछि लागे। दबोरा ऊसँग गइन्।
11त्यति बेला केदेशको केनी सानन्नीममा एउटा ठूलो फलाँट वा बज्राँठको रूखको छेउमा आफ्नो पाल हालेर केना-वंशको हेबेर बसेको थियो। ऊ अरू केनीहरूबाट छुट्टिएको थियो। केनीहरू मोशाका साला होबाबका सन्तान थिए।
12बाराक तबोर पहाडमा गएको कुरा सीसराले सुन्यो। 13उसले नौ सय रथ र सारा सेनालाई बोलायो र तिनीहरूलाई अन्यजातिहरूको हरोशेतदेखि कीशोन नदीमा पठायो।
14तब दबोराले बाराकलाई भनिन्, “जाऊ, परमप्रभु तिम्रा अघि-अघि हुनुहुन्छ। उहाँले आज तिमीलाई सीसरामाथि विजय दिनुहुनेछ।” दश हजार मानिसहरू लिएर बाराक तबोर पहाडबाट तल झरे। 15आफ्ना सेनासँग उनले आक्रमण गरे। परमप्रभुले सीसरा र उसका सेना र रथहरूलाई छरपष्ट पारिदिनुभयो। सीसरा रथबाट उत्रेर पैदलै भाग्यो। 16सीसराका सेना र रथहरूलाई अन्यजाति बास गर्ने– हरोशेतसम्म बाराकले खेदे र सारा सेना मारिदिए। एक जना पनि बाँचेन।
17सीसरा भागेर केनी हेबेरकी स्वास्नी याएलको पालमा पुग्यो। हासोरका राजा याबीन र केनी हेबेरका घरानामा मेल थियो। 18याएल आएर सीसरालाई भेटी र भनी, “आउनुहोस्, महाशय, मेरो पालमा आउनुहोस्। डर नमान्नुहोस्।” ऊ भित्र पस्यो र याएलले उसलाई एउटा पर्दाको पछि लुकाई। 19उसले भन्यो, “मलाई पानी पिउन दिनुहोस्। मलाई तिर्खा लागेको छ।” दूधले भरेको एउटा छालाको मशक खोलेर याएलले उसलाई पिउन दिई र फेरि उसलाई लुकाइदिई। 20सीसराले याएललाई भन्यो, “पालको ढोकामा उभिनुहोस्, कसैले यहाँ कोही छ कि भनी सोधे ‘कोही छैन’ भनिदिनुहोस्।”
21सीसरा औधी थाकेको थियो र भुसुक्क निदायो। तब एउटा मुङ्ग्रो र पालको कीला लिएर याएल आई। त्यो बिस्तारै सीसराको छेउमा गई र कीला कन्चटमा ठोकेर वारपार गरी भूइँमा गाडिदिई। यसरी त्यसले सीसरालाई मारी। 22सीसरालाई खोज्दै बाराक त्यहाँ आइपुग्यो। याएलले उसलाई भेटी र भनी “यहाँ आऊ, तिमीले खोजेको मानिस म देखाइदिनेछु।” ऊ याएलसँग पालमा पस्यो र त्यहाँ सीसरालाई किला टाउकोमा वारपार भएर मरेको र लडिरहेको भेट्टायो।
23त्यो दिन परमेश्वरले कनानी राजा याबीनमाथि इस्राएलीहरूलाई विजय गराउनुभयो। 24तिनीहरूले उसलाई चेप्दै-चेप्दै लगेर अन्तमा मारिछोडे।
अहिले सेलेक्ट गरिएको:
न्यायकर्ता 4: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.