न्यायकर्ता 15
15
1केही समयपछि गहुँको कटनीको बेलामा आफ्नी स्वास्नीलाई भेट्न एउटा बाख्राको पाठो लिएर शिमशोन गए। उनले ससुरालाई भने, “म मेरी स्वास्नीको कोठामा जान चाहन्छु।”
तर ससुराले उनलाई कोठाभित्र पस्न दिएनन्। 2उनले शिमशोनलाई भने, “मैले सोचें कि साँच्चै नै तिमीले त्यसलाई घिन गर्दछौ। यसैले तिम्रा साथीसँग मैले त्यसको विवाह गरिदिएँ। त्यसकी बहिनी अझ राम्री छे। त्यसलाई तिमी लैजाऊ।”
3शिमशोनले भने, “म पलिश्तीहरूलाई यसपालि जे गर्नेछु, त्यसको लागि म जिम्मेवार छैनँ!” 4तब गएर तीन सय स्यालहरू उनले पक्रे। जोडी-जोडी गरेर उनले तिनीहरूको पुच्छर बाँधे र गाँठोमा राँको बाँधिदिए। 5तब राँको सल्काएर उनले स्यालहरूलाई पलिश्तीहरूका अन्नबारीमा छोडिदिए। यसरी काटिराखेको अन्नबाली मात्र होइन तर खेतमा खडा रहेको बालीनाली पनि स्वाहा पारिदिए। जैतुनका बारी पनि जलाइदिए। 6पलिश्तीहरूले यस्तो नाश गर्ने को हो भनी सोध-खोज गरे। उनका तिम्नाबासी ससुराले उनकी स्वास्नीलाई साथीसँग विवाह गरिदिएकाले शिमशोनले यसो गरेका रहेछन् भनी पलिश्तीहरूले थाहा पाए। यसकारण पलिश्तीहरूले त्यस स्त्री र उसका बुबाको घरमा आगो लगाएर भस्म पारिदिए।
7शिमशोनले तिनीहरूलाई भने, “तिमीहरूले त्यसो गर्यौ। म यसको बदला नलिई छोड्नेछैनँ, म यो किरिया खाँदछु।” 8उनले तिनीहरूमाथि डरलाग्दो गरी आक्रमण गरे र धेरै जनालाई मारे। तब उनी गएर एतामको पहराका ओडारमा बसे।
शिमशोनले पलिश्तीहरूलाई जित्छन्
9पलिश्तीहरू आएर यहूदामा छाउनी हाले र लही सहरमाथि आक्रमण गरे। 10यहूदाबासीहरूले सोधे, “तिमीहरू किन हामीमाथि आक्रमण गर्दछौ?” तिनीहरूले उत्तर दिए, “हामी शिमशोनलाई कैद गरेर त्यसले हामीसित गरेझैँ त्योसँग पनि गर्नलाई आएका छौं।” 11त्यसरी तीन हजार यहूदीहरू एतामको पहराका ओडारमा गएर शिमशोनलाई भने, “पलिश्तीहरू हाम्रा शासकहरू हुन् भनी तिमी जान्दैनौ? तिमीले हामीसँग यो के गरेको?” उनले उत्तर दिए, “तिनीहरूले मसँग जसो गरे, तिनीहरूसँग मैले त्यसै गरें।”
12तिनीहरूले उनलाई भने, “तिमीलाई बाँधेर पलिश्तीहरूका हातमा दिनलाई हामी यहाँ आएका छौं।”
शिमशोनले भने, “तिमीहरू आफैंले चाहिँ मलाई मार्नेछैन भनी मलाई वचन देओ।”
13तिनीहरूले भने, “हुन्छ। खालि तिमीलाई बाँधेर हामी पलिश्तीहरूलाई दिनेछौं। हामी आफैंले तिमीलाई मार्नेछैनौं।” तब दुई वटा नयाँ डोरीले उनलाई तिनीहरूले बाँधे र ओडारबाट निकाली ल्याए।
14जब उनीहरू लहीमा पुगे, पलिश्तीहरू चिच्च्याउँदै उनीतर्फ दगुरेर आए। अचानक उनी परमेश्वरको शक्तिले भरिए र आफ्ना हात-खुट्टा बाँधेका डोरी डढेको धागोझैँ उनले चुँडाइदिए। 15छेउमा नै भर्खरै मरेको एउटा गधाको बङ्गारा उनले भेट्टाए। उनले निहुरेर त्यो बङ्गारा टिपे र त्यसले हिर्काएर एक हजार मानिसहरूलाई मारे। 16तब शिमशोनले यसरी गीत गाए,
“गधाका बङ्गाराले मैले एक हजार मानिस मारें;
गधाको बङ्गाराले मैले तिनीहरूको लाशको रास लाइदिएँ।”
17त्यसपछि उनले त्यो बङ्गारा फालिदिए। त्यो घटना भएको ठाउँको नाम रामत-लही राखियो।
18तब शिमशोनलाई साह्रै तिर्खा लाग्यो। उनले परमेश्वरलाई पुकारेर भने, “तपाईंले मलाई यो ठूलो विजय दिनुभयो। अब के म तिर्खाले मर्नुपर्ने र यी बेखतने पलिश्तीहरूका हातमा पर्नुपर्ने?”
19तब त्यहाँ लहीमा जमिन फुटाएर परमेश्वरले एउटा खाल्डो बनाउनुभयो र त्यहाँबाट पानी फुटी निस्क्यो। पानी पिएर शिमशोन ताजा भए। त्यसकारण पानीको मूलको नाम एन-हक्कोरे राखियो। त्यो अझसम्म लहीमा छँदैछ।
20शिमशोनले बीस वर्षसम्म इस्राएलको अगुवाइ गरे, त्यस बेला त्यस देशमा पलिश्तीहरूले शासन गर्दथे।
अहिले सेलेक्ट गरिएको:
न्यायकर्ता 15: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.