YouVersion लोगो
खोज आइकन

यशैया 8:1-20

यशैया 8:1-20 सरल नेपाली

परमप्रभुले मलाई भन्‍नुभयो, “एउटा ठूलो पाटी लिएर त्‍यसमा ठूल्‍ठूला अक्षरमा ‘महेर-शालल-हाज-बज’ लेख। दुई विश्‍वासयोग्‍य मानिसहरू पूजाहारी उरियाह र येबेरक्‍याहका छोरा जकरियालाई ल्‍याएर गवाही राख्।” केही समयपछि मेरी पत्‍नी गर्भवती भइन्। जब हाम्रो छोरो जन्‍मियो, तब परमप्रभुले मलाई भन्‍नुभयो, “त्‍यसको नाम ‘महेर-शालल-हाज-बज’ राख। बालकले ‘आमा-बाबा’ भन्‍न सक्‍ने बेलाअघि नै दमस्‍कसको समस्‍त धन र सामरियाको सारा लुटका सामान अश्‍शूरका राजाले लैजानेछन्।” फेरि परमप्रभु मसित बोल्‍नुभयो र भन्‍नुभयो, “यी मानिसहरूले शीलोको खोलाको शान्‍तिसित बग्‍ने पानी इन्‍कार गरी रसीन र पेकह राजाहरूसित रमाएका हुनाले म परमप्रभुले अश्‍शूरका महाराजा र उनका सारा सेनाहरूलाई यहूदामाथि आक्रमण गर्न ल्‍याउनेछु। बाढी आउँदा यूफ्रेटिस नदीको पानी बडो वेगले बगेर त्‍यसका किनाराहरू जल-मग्‍न भएझैँ तिनीहरू अघि बढी आउनेछन्। काँधसम्‍म अग्‍लो र सबै कुरामा डुबाइदिने बाढीझैँ तिनीहरू यहूदाका बीचबाट भएर बगिजानेछन्।” हे इम्‍मानुएल! तिनका फैलाएका पखेटाले सम्‍पूर्ण देश ढाक्‍नेछ। हे राष्‍ट्रहरू हो! डराउँदै एकसाथ भेला होओ! हे पृथ्‍वीका टाढा-टाढा देशका मानिसहरू हो, सुन, लडाइँ गर्न तयार होओ तर डर मान! हो, साँच्‍चै तयार होओ तर डर मान! आफ्‍ना उपायहरू बनाओ! तर ती असफल हुनेछन्। जति मनपर्छ, कुराकानी गर! तर ती सबै व्‍यर्थ हुनेछन् किनभने परमेश्‍वर हामीसित हुनुहुन्‍छ। आफ्‍नो महान् शक्तिले मलाई परमप्रभुले यी मानिसहरूले हिँडेको बाटोमा नहिँड्‍ने चेतावनी दिनुभएको छ। उहाँले भन्‍नुभयो, “मानिसहरूका जुक्‍तिमा नलाग र जे कुरासित तिनीहरू डराउँछन्, तीसित तँ नडरा। याद राख् कि म सर्वशक्तिमान् परमप्रभु पवित्र छु। तँचाहिँ मसित डराउनुपर्छ। मेरो अति पवित्रताले गर्दा म ठेस लाग्‍ने ढुङ्गाजस्‍तो छु। म यहूदा, इस्राएल र यरूशलेमका मानिसहरूलाई फसाउने पासोजस्‍तो छु। धेरैलाई ठेस लाग्‍नेछ। तिनीहरू लडेर चकनाचुर हुनेछन्। तिनीहरू पासोमापर्नेछन्।” तिमी मेरा चेलाहरूले मलाई परमेश्‍वरले दिनुभएका सन्‍देशहरू रखवाली गरी जोगाइराख्‍नुपर्नेछ। परमप्रभुले आफैंलाई याकूबका सन्‍तानदेखि लुकाउनुभएको छ। म उहाँमा भरोसा गर्नेछु र आशा राख्‍दछु। यहाँ म परमप्रभुले मलाई दिनुभएको बाल-बालिकाहरूका साथमा छु। सर्वशक्तिमान् परमप्रभु, जसको सिंहासन सियोन पर्वतमा छ, उहाँले हामीलाई जीवित सन्‍देशहरूको रूपमा इस्राएलका मानिसहरूका बीचमा पठाउनुभएको हो। तर मानिसहरूले त तिमीहरूलाई भूत-प्रेत खेलाउने र मन्‍त्रतन्‍त्र गर्नेहरूबाट निधो लिनू भन्‍नेछन्, जसले फलाक्‍ने र मन्‍त्र जप्‍ने गर्दछन्। तिनीहरूले भन्‍नेछन्, “आखिरी मानिसहरूले प्रेतात्‍माहरूबाट निधो लिनुपर्नेछ र जिउँदाहरूको निम्‍ति मरेकाहरूसित जोखना हेराउनुपर्नेछ।” तिमीहरूले तिनीहरूलाई यस्‍तो जवाफ देओ, “परमेश्‍वरले तिमीहरूलाई के सिकाउनुभएको छ, ध्‍यान देओ! भूत-प्रेत खेलाउनेहरूका कुराहरू नसुन! तिनीहरूले तिमीहरूलाई जे भन्‍लान्, तिमीहरूलाई भलो हुँदैन।”

यशैया 8 पढ्नुहोस्