YouVersion लोगो
खोज आइकन

यशैया 7:10-25

यशैया 7:10-25 सरल नेपाली

परमप्रभुले आहाजलाई अर्को एउटा सन्‍देश पठाउनुभयो, “तेरा परमेश्‍वर परमप्रभुबाट एउटा चिनो माग्। त्‍यो चिनो पातालको गहिराइबाट होस् वा स्‍वर्गको उचाइबाट होस्।” आहाजले उत्तर दिए, “म चिनो माग्‍नेछैनँ। म परमप्रभुको जाँच गर्नेछैनँ।” यशैयाले उत्तर दिए, “हे दाऊदका सन्‍तान अब सुन, तिमीहरूले मानिसहरूको धैर्यलाई जाँचेर पुगेन, के अब परमेश्‍वरको धैर्यलाई पनि जाँच्‍ने? यसकारण परमप्रभु आफैंले तिमीलाई एउटा चिनो दिनुहुनेछ; एउटी कन्‍या गर्भवती हुनेछ र एउटा छोरो जन्‍माउनेछ र उसको नाम ‘इम्‍मानुएल’ राखिनेछ। आफ्‍ना कुराको निर्णय आफैंले गर्न सक्‍ने उमेर भएपछि उसले दूध र मह खानेछ। त्‍यसको अघि नै तिमीलाई तर्साउने दुई राजाहरूका देश उजाड हुनेछन्। “परमप्रभुले तिमी, तिम्रा प्रजा र सारा राज-परिवारमाथि सङ्कष्‍टका दिन ल्‍याउनुहुनेछ। त्‍यस्‍ता दिन यहूदाबाट इस्राएलको राज्‍य छुट्टिएको दिनदेखि आजसम्‍म आएको छैन। उहाँले अश्‍शूरका राजालाई देशमाथि आक्रमण गर्न ल्‍याउनुहुनेछ। “त्‍यो दिन आउँदा परमप्रभुले सुसेली मारेर मिश्रीहरूलाई नील नदीका टाढा-टाढाका भङ्‌गालाहरूबाट झिँगा झैँ र अश्‍शूरहरूलाई तिनीहरूका देशबाट मौरीहरू झैँ आउने सङ्केत दिनुहुनेछ। तिनीहरू आएर रूखा बेसीहरू र चट्टानका ध्‍वान्‍द्राहरूमा बस्‍नेछन् र तिनीहरूले सबैका घारी र नहरहरू भरिनेछन्। “त्‍यो समय आउँदा परमप्रभुले यूफ्रेटिस नदीका पारिपट्टिबाट एउटा छुरा अर्थात् अश्‍शूरका राजालाई ल्‍याउनुहुनेछ र तिनले तिम्रा दाह्री, टाउकोको केश र शरीरका रौं खौरिदिनेछन्। “त्‍यो समय आउँदा कुनै एउटा किसानले खालि एउटा गाई र एक जोर बाख्रा बचाएर राख्‍नेछ भने तिनीहरूले यति धेरै दूध दिनेछन् कि उसलाई दूधको कमी हुनेछैन। देशमा बाँचेका थोरै मानिसहरूले दूध र मह खानेछन्। “त्‍यो समय आएपछि एक हजार चाँदीका टुक्राको दाम पर्ने एक हजार दाखका बोट भएका असल दाखबारीहरूमा काँडे-झ्‍याङ र काँडे-फूलहरू उम्रेर भरिनेछन्। मानिसहरूले धनुकाँड लिएर त्‍यहाँ शिकार खेल्‍न जानेछन् अनि सारा देश काँडे-घारी र काँडे-फूलले भरिनेछन्। अन्‍न बालीले भरिने डाँडा-काँडा यति धेरै काँडाले ढाकिनेछन् कि त्‍यहाँ कोही जान सक्‍नेछैन। ती गाई-वस्‍तुहरू र भेडाहरूका चरन बनिनेछन्।”

यशैया 7 पढ्नुहोस्