YouVersion लोगो
खोज आइकन

यशैया 7:10-25

यशैया 7:10-25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

फेरि परमप्रभुले आहाजलाई भन्‍नुभयो, “तल गहिरोभन्‍दा गहिरोबाट होस्‌ वा माथिभन्‍दा माथिबाट होस्, परमप्रभु आफ्‍ना परमेश्‍वरसित कुनै एउटा चिन्‍ह माग्‌।” तर आहाजले भने, “म माग्‍नेछैनँ। म परमप्रभुको परीक्षा गर्नेछैनँ।” तब यशैयाले भने, “हे दाऊदका घराना, अब सुन! के मानिसहरूको धैर्यलाई जाँच्‍न यथेष्‍ट भएन? के तिमीहरू मेरा परमेश्‍वरको धैर्यलाई जाँच्‍छौ? यसैकारण परमप्रभु आफैले तिमीहरूलाई एउटा चिन्‍ह दिनुहुनेछ। हेर, कन्‍याले गर्भधारण गर्नेछिन्, र तिनले एउटा पुत्र जन्‍माउनेछिन्, र उहाँको नाउँ इम्‍मानुएल राखिनेछ। खराबलाई इन्‍कार गर्न र असललाई छान्‍न जानेपछि उहाँले दही र मह खानुहुनेछ। तर बालकले खराबलाई इन्‍कार गर्न र असललाई छान्‍न अघि त्‍यो देश उजाड़ पारिनेछ, जसका दुई राजाहरूदेखि तिमीहरू डराएका छौ। परमप्रभुले तिमीमाथि, तिम्रा प्रजामाथि र तिम्रा पिताका परिवारमाथि यस्‍तो दिन ल्‍याउनुहुनेछ कि एफ्राइम यहूदादेखि छुट्टिएपछि यसो कहिल्‍यै आइलागेको थिएन, अर्थात्‌ उहाँले अश्‍शूरका राजालाई यस देशमा ल्‍याउनुहुनेछ।” त्‍यो दिन परमप्रभुले मिश्रदेशका टाढ़ाका खोलाहरूबाट झीँगाहरू र अश्‍शूर देशका मौरीहरूलाई सुसेलीले बोलाउनुहुनेछ। तिनीहरू आएर जम्‍मै साँघुरा भीरहरू, चट्टानका धाँदाहरू, सबै काँढ़ाघारी र सबै पानीको भ्‍वाङ्ग हुँदो बस्‍नेछन्‌। त्‍यो दिन परमप्रभुले यूफ्रेटिस नदी पारिबाट लिएको छुरा, अर्थात्‌ अश्‍शूरका राजाद्वारा तिनीहरूका शिर र खुट्टाका रौँ खौरिदिनुहुनेछ, र दाह्री पनि खौरिदिनुहुनेछ। त्‍यो दिन एउटा मानिसले एउटा कोरली र दुई वटा बाख्रा पाल्‍नेछ, अनि तिनीहरूले दिएको प्रशस्‍त दूधको कारण खानलाई दही पनि हुनेछ। देशमा छोड़िएका सबैले दही र मह खानेछन्‌। त्‍यो दिन हजार शेकेल चाँदी दाम पर्ने हजार दाखका बोटहरू भएको बारीमा सिउँड़ी र काँढ़ा मात्र हुनेछन्‌। सिउँड़ी र काँढ़ा भएकोले गर्दा त्‍यहाँ मानिसहरू काँड़-धनु लिएर जानेछन्‌। कोदालोले खन्‍ने सबै डाँड़ाहरूमा चाहिँ सिउँड़ी र काँढ़ाको डरले तिमीहरू त्‍यहाँ फेरि जानेछैनौ, तर ती ठाउँहरू गाई-गोरु चर्ने ठाउँ र भेड़ाहरू कुदिहिँड्‌ने ठाउँ हुनेछन्‌।

शेयर गर्नुहोस्
यशैया 7 पढ्नुहोस्

यशैया 7:10-25 पवित्र बाइबल (NERV)

त्यसपछि परमप्रभुले आहाजसँग भन्नुभयो। परमप्रभुले भन्नुभयो, “यो कुरा साँच्चो हो भनी प्रमाण गर्नलाई कुनै त्यस्तो एउटा चिन्ह माँग। तिमीले आफ्नो इच्छा अनुसारको चिन्ह माग्न सक्छौ। त्यो चिन्ह सियोल जस्तै गहिरो, अथवा आकाश जतिकै उचाईबाट आउँन सक्छ।” तर आहाजले भने, “म प्रमाण गर्नको निम्ति कुनै चिन्ह पनि माग्ने छैन। म परमप्रभुको परीक्षा गेर्नेछैन्।” तब यशैयाले भने, “हे दाऊदका घराना, ध्यानपूर्वक सुन! तिमीले मानिसहरूका धैर्यलाई जाँच्यौ अनि तिम्रो लागि यो त्यस्तो प्रमुख कुरा होइन। यसैले अब तिमीले मेरो परमेश्वरको धैर्य जाँच। तर परमेश्वर, मेरो मालिकले, तिमीलाई चिन्ह देखाउनु हुनेछः हेर कन्या स्त्री गर्भवती हुनेछ, र उसले एउटा छोरो जन्माउनेछ, उसको छोरोको नाउँ इम्मानुएल राखिनेछ। इम्मानुएलले नौनी र मह खानेछ, राम्रो कुराहरू छान्न र नराम्रो अस्वीकार गर्न ऊ बाँच्नेछ। तर बालक कुन राम्रो र कुन नराम्रो जान्ने हुन अघि नै, एप्रैम र आरामको भूमि रित्तो हुनेछ, जो सँग तिमीहरू अहिले डराइरहेका छौ। “तर तिमी परमप्रभुसित डराउनु पर्छ, किनभने परमप्रभुले केही सङ्कटको समय तिमीमाथि पार्नुहुनेछ। ती सङ्कटहरू एप्रैम यहूदाबाट छुट्टिएको समयको सङ्कट जस्तै तिम्रा अनि तिम्रा बुबाका मानिसहरूकहाँ आउनेछन्। परमेश्वरले के गर्नु हुनेछ? परमेश्वरले अश्शूरका राजालाई तिमीसित लडाँई गराउन ल्याउनु हुनेछ। “त्यसबेला, परमप्रभले ‘झींगालाई’ (अहिले त्यो ‘झींगा’ मिश्रदेशको नजिको खोला हो।) डाक्नु हुनेछ। अनि परमप्रभुले ‘मौरीलाई’ डाक्नु हुनेछ। (त्यो ‘मौरी’ अहिले अश्शूर देशलाई भनिन्छ।) यी शत्रुहरू तिम्रो भूमिमा आउनेछन्। ती शत्रुहरूले चट्टानी क्षेत्रहरूमा, मरुभूमिका साना-साना खोलाहरू नजिक र पिउने पानी भएको ठाउँको यता उति शिबिर बनाउने छन्। यहूदालाई दण्ड दिनु परमप्रभुले अश्शूरलाई प्रयोग गर्नु हुनेछ। अश्शूरलाई ज्यालामा ल्याएर छुरा जस्तो चलाउनु हुनेछ। यो यस्तो हुनेछ मानौ परमप्रभुले यहूदाको टाउकोको केश र खुट्टाका रौंहरू खौरनु हुनेछ यो यस्तो हुनेछ कि परमप्रभुले यहूदाको दाह्री खौरनु हुनेछ। “त्यसबेला, एक मानिसले एउटा कोरली र दुइवटा भेंडाहरू जिउँदो राख्न सक्ने मात्र हुनेछ। त्यहाँ त्यतिमात्र दूध हुन्छ कि त्यस मानिसलाई घिऊ खानलाई मात्र हुनेछ। प्रत्येक मानिसले त्यो देशमा दही र मह खाने छ। त्यस जमीनमा अहिले 1,000 अङ्गुरका लहराहरू छन्। प्रत्येक अङ्गुरको लहराको मूल्य 1,000 चाँदीका टुक्राहरू हो। तर ती खेतहरू झारपातहरू र काँढाहरूले छोपिनेछ। त्यो जमीन जङ्गल हुनेछ र त्यसको प्रयोग शिकारहरूको लागि मात्र हुनेछ। एउटा समय थियो मानिसहरूले एकपल्ट परिश्रम गर्थे र त्यस पहाडबाट खाद्य उप्जाउँथे। तर त्यसबेला मानिसहरू त्यहाँ जाने छैनन्। त्यो जमीन जङ्गली झारपातहरू र काँढाहरूले ढाकिनेछ खालि गाई-गोरू र भेंडा़हरू मात्र ती ठाउँमा जानेछन्।”

शेयर गर्नुहोस्
यशैया 7 पढ्नुहोस्

यशैया 7:10-25 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

परमप्रभुले आहाजलाई अर्को एउटा सन्‍देश पठाउनुभयो, “तेरा परमेश्‍वर परमप्रभुबाट एउटा चिनो माग्। त्‍यो चिनो पातालको गहिराइबाट होस् वा स्‍वर्गको उचाइबाट होस्।” आहाजले उत्तर दिए, “म चिनो माग्‍नेछैनँ। म परमप्रभुको जाँच गर्नेछैनँ।” यशैयाले उत्तर दिए, “हे दाऊदका सन्‍तान अब सुन, तिमीहरूले मानिसहरूको धैर्यलाई जाँचेर पुगेन, के अब परमेश्‍वरको धैर्यलाई पनि जाँच्‍ने? यसकारण परमप्रभु आफैंले तिमीलाई एउटा चिनो दिनुहुनेछ; एउटी कन्‍या गर्भवती हुनेछ र एउटा छोरो जन्‍माउनेछ र उसको नाम ‘इम्‍मानुएल’ राखिनेछ। आफ्‍ना कुराको निर्णय आफैंले गर्न सक्‍ने उमेर भएपछि उसले दूध र मह खानेछ। त्‍यसको अघि नै तिमीलाई तर्साउने दुई राजाहरूका देश उजाड हुनेछन्। “परमप्रभुले तिमी, तिम्रा प्रजा र सारा राज-परिवारमाथि सङ्कष्‍टका दिन ल्‍याउनुहुनेछ। त्‍यस्‍ता दिन यहूदाबाट इस्राएलको राज्‍य छुट्टिएको दिनदेखि आजसम्‍म आएको छैन। उहाँले अश्‍शूरका राजालाई देशमाथि आक्रमण गर्न ल्‍याउनुहुनेछ। “त्‍यो दिन आउँदा परमप्रभुले सुसेली मारेर मिश्रीहरूलाई नील नदीका टाढा-टाढाका भङ्‌गालाहरूबाट झिँगा झैँ र अश्‍शूरहरूलाई तिनीहरूका देशबाट मौरीहरू झैँ आउने सङ्केत दिनुहुनेछ। तिनीहरू आएर रूखा बेसीहरू र चट्टानका ध्‍वान्‍द्राहरूमा बस्‍नेछन् र तिनीहरूले सबैका घारी र नहरहरू भरिनेछन्। “त्‍यो समय आउँदा परमप्रभुले यूफ्रेटिस नदीका पारिपट्टिबाट एउटा छुरा अर्थात् अश्‍शूरका राजालाई ल्‍याउनुहुनेछ र तिनले तिम्रा दाह्री, टाउकोको केश र शरीरका रौं खौरिदिनेछन्। “त्‍यो समय आउँदा कुनै एउटा किसानले खालि एउटा गाई र एक जोर बाख्रा बचाएर राख्‍नेछ भने तिनीहरूले यति धेरै दूध दिनेछन् कि उसलाई दूधको कमी हुनेछैन। देशमा बाँचेका थोरै मानिसहरूले दूध र मह खानेछन्। “त्‍यो समय आएपछि एक हजार चाँदीका टुक्राको दाम पर्ने एक हजार दाखका बोट भएका असल दाखबारीहरूमा काँडे-झ्‍याङ र काँडे-फूलहरू उम्रेर भरिनेछन्। मानिसहरूले धनुकाँड लिएर त्‍यहाँ शिकार खेल्‍न जानेछन् अनि सारा देश काँडे-घारी र काँडे-फूलले भरिनेछन्। अन्‍न बालीले भरिने डाँडा-काँडा यति धेरै काँडाले ढाकिनेछन् कि त्‍यहाँ कोही जान सक्‍नेछैन। ती गाई-वस्‍तुहरू र भेडाहरूका चरन बनिनेछन्।”

शेयर गर्नुहोस्
यशैया 7 पढ्नुहोस्