YouVersion लोगो
खोज आइकन

यशैया 5

5
दाखबारीको गीत
1 # मत्ती 21:33; मर्कूस 12:1; लूका 20:9 सुन म यो गीत गाँउछु, मेरो मित्र र उसको दाखबारीबारे गाउँछु। एउटा मलिलो डाँडामाथि मेरो मित्रको दाखबारी थियो।
2उसले बारी खन्‍यो र ढुङ्गा हटायो, उत्तम दाख त्‍यहाँ लायो, बारीको रेखदेख गर्नलाई एउटा मचान बनायो, दाख पेल्‍नलाई एउटा ढुङ्गामा खाल्‍टो खोप्‍यो। दाख पाक्‍ने समयलाई पर्ख्‍यो तर दाख अमिलो फलेछ।
3यसकारण अब मेरो मित्रले भन्‍छ, “हे यरूशलेम र यहूदाका बासिन्‍दाहरू हो, म र मेरा दाखबारी बीच तिमीहरूले न्‍याय गरिदेओ। 4मैले आफ्‍नो दाखबारीको निम्‍ति नगरेको के छ र? मैले त असल दाख पो फल्‍छ भन्‍ने आशा गरेको थिएँ, के कारणले त्‍यसले अमिलो फल मात्रै फलायो?
5“अब म मेरो दाखबारीलाई यसो गर्नेछु, म त्‍यसका चारैपट्टिका घेरा हटाउनेछु, त्‍यसलाई रक्षा गर्ने पर्खाल भत्‍काउनेछु र जङ्गली जनावरहरूलाई त्‍यो कुल्‍ची-मिल्‍ची गर्न दिनेछु। 6त्‍यो बारीमा जङ्गली झार-पात त्‍यसलाई ढाक्‍ने गरी उम्रन दिनेछु। म दाखका बोट छाँट्‍नेछैनँ र जमिनमा कोदालो लाउनेहरूले भरिनेछ। म बादलहरूलाई पनि यहाँ झरी बर्साउन मनाइगर्नेछु।”
7इस्राएल सर्वशक्तिमान् परमप्रभुको दाखबारी हो। यहूदाका बासिन्‍दाहरू उहाँले रोप्‍नुभएको दाखका बोट हुन्। तिनीहरूले भलाइका काम गर्नेछन् भनी उहाँले आशा गर्नुभएको थियो। तर त्‍यसका सट्टामा तिनीहरूले हत्‍या गरे। तिनीहरूले न्‍याय गर्छन् भन्‍ने उहाँको आशा थियो तर तिनीहरूका अन्‍यायमा परेकाहरूले न्‍यायको निम्‍ति रोइ-कराइ गरे।
मानिसहरूको दुर्व्‍यवहार
8तिमीहरूको विनाश हुनेछ! तिमीहरूले किन्‍दै घरमाथि घर र खेतमाथि खेत थप्‍दै छौ। चाँडै अब अरूले बस्‍ने ठाउँ पाउनेछैनन् र देशमा तिमीहरू मात्र बास गर्नेछौ। 9सर्वशक्तिमान् परमप्रभुले यसो भन्‍नुभएको मैले सुनेको छु, “यी ठूला राम्रा घरहरू सबै ध्‍वंस भई निर्जन हुनेछन्। 10दश हेक्‍टर जमिनमा लगाएको दाखलताले आठ लिटर मात्र दाखमद्य दिनेछ र दश पाथी बिउले एक पाथी मात्र अन्‍न उब्‍जाउनेछ।”
11तिमीहरूको विनाश अवश्‍य नै हुनेछ! तिमीहरू मद्य पिउन बिहानै उठ्दछौ र बेलुका धेरै बेरसम्‍म बसेर नमातुञ्‍जेल पिइरहन्‍छौ। 12आफ्‍ना भोजमा तिमीहरू वीणा बजाएर खैंजडी र बाँसुरी बजाउँछौ र मद्य पिउँछौ। तर तिमीहरू परमप्रभुका कामको वास्‍तै गर्दैनौ न त आदर गर्छौ। 13तिमीहरूका मूर्खताका कारणले तिमीहरू कैदी बनाई लगिनेछौ। तिम्रा अगुवाहरू खान नपाई मर्नेछन् र जनसाधारण तिर्खाले मर्नेछन्। 14मृत्‍यु-लोक तिनीहरूलाई खान ठूलो मुख गरी भोकले पर्खिरहेको छ। त्‍यसले यरूशलेमका घरानियाँहरू साथै जनसाधारणका होहल्‍ला गर्ने झुण्‍डलाई पनि निलिहाल्‍छ।
15सबैको बदनाम हुनेछ र सबै घमण्‍डीहरू होच्‍याइनेछन्। 16तर सर्वशक्तिमान् परमप्रभुले ठीक काम गर्नुभएर आफ्‍नो महान्‌ता देखाउनुहुन्‍छ अनि आफ्‍नो प्रजाको न्‍याय गर्नुभएर आफ्‍नो पवित्रता देखाउनुहुन्‍छ। 17सहरहरू नाश भएका ठाउँमा थुमाहरूले घाँस खानेछन् र बाख्राका पाठाहरू चर्नेछन्।
18तिमीहरूको विनाश हुनेछ। तिमीहरू आफ्‍ना पापहरूका बन्‍धनबाट मुक्त हुन सक्‍नेछैनौ। 19तिमीहरू भन्‍दछौ, “परमप्रभुले चाँडो गरून् र उहाँले गर्छु भन्‍नुभएको काम छिट्टै गरिहालून् र हामी त्‍यो काम देख्‍न सकौं। इस्राएलका पवित्र परमेश्‍वरले आफ्‍नो इच्‍छा पूरा गरून् र उहाँको मनको इच्‍छा हामी हेरौं।”
20तिमीहरूको विनाश हुनेछ! तिमीहरू राम्रा कुरालाई नराम्रा र नराम्रा कुरालाई राम्रा भन्‍छौ। अँध्‍यारोलाई उज्‍यालो र उज्‍यालोलाई अँध्‍यारो बनाउँछौ। मीठोलाई तीतो र तीतोलाई मीठो गराउँछौ।
21तिमीहरूको विनाश हुनेछ! तिमीहरू आफैंलाई बुद्धिमान् ठान्‍दछौ, खुब चतुर सम्‍झन्‍छौ।
22तिमीहरूको विनाश हुनेछ! ए मद्य पिउन वीरहरू हो! कडा मद्य मिलाउनचाहिँ तिमीहरू साहसी र निडर छौ। 23घुस खाएर तिमीहरू अपराधीलाई छोडिदिन्‍छौ र निर्दोषलाई ठीक न्‍याय गरिदिँदैनौ। 24त अब जसरी पराल र सुकेका पात चाउरिएर आगोमा डढिजाँदछन्, त्‍यसरी नै तिमीहरूका जरा सडेर जानेछन् र फूल सुकेर उडिजानेछन् किनभने तिमीहरूले सर्वशक्तिमान् परमप्रभु इस्राएलका पवित्र परमेश्‍वरले दिनुभएको शिक्षा अस्‍वीकार गरेका छौ। 25परमप्रभु आफ्‍ना प्रजासित रिसाउनुभएको छ र तिनीहरूलाई सजायँ दिन उहाँले आफ्‍नो हात उठाउनुभएको छ। पर्वतहरू थरथरी काम्‍नेछन् र मर्नेहरूका लाश कसिङ्गरझैँ बाटामा फ्‍याँकिनेछन्। तर त्‍यति भएर पनि परमप्रभुको क्रोध मर्नेछैन र तिनीहरूलाई सजायँ दिन उहाँको हात उठाएकै हुनेछ।
26परमप्रभुले टाढाका राष्‍ट्रहरूलाई सङ्केत दिएर आउने निम्‍तो दिनुहुनेछ र सुसेली मारेर तिनीहरूलाई पृथ्‍वीको अन्‍तबाट बोलाउनुहुनेछ। तिनीहरू बडो वेगले आउनेछन्! 27तिनीहरूमध्‍ये कोही पनि थाक्‍ने वा ठेस खानेछैनन्, कोही झुल्‍ने वा निदाउनेछैनन्। तिनीहरू कसैको कमरको पटुका खुकुलो हुनेछैन, जुत्ताको फित्ता चुँडिनेछैन। 28तिनीहरूका काँड तीखा र धनुवाण छोड्‍नलाई तयार हुनेछन्। तिनीहरूका घोडाका टाप दर्शन ढुङ्गाझैँ कडा हुनेछन् र रथहरूका पाङ्ग्राहरू आँधीका वेगझैँ चल्‍नेछन्। 29कसैले खोस्‍न नसक्‍ने शिकार गरी लिएर हिँडेका सिंहहरूझैँ सिपाहीहरू गर्जनेछन्।
30त्‍यो दिन आएपछि समुद्र गर्जेझैँ तिनीहरू इस्राएलमाथि गर्जनेछन्। त्‍यस देशलाई हेर! त्‍यहाँ अन्‍धकार र सङ्‌कष्‍ट मात्र छन् र अँध्‍यारोले उज्‍यालोलाई निलिसकेको छ।

अहिले सेलेक्ट गरिएको:

यशैया 5: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्