YouVersion लोगो
खोज आइकन

यशैया 49:13-26

यशैया 49:13-26 सरल नेपाली

हे आकाश गीत गाऊ! हे पृथ्‍वी आनन्‍दले सोर उठाऊ! पर्वतहरूले गला खोलेर गीत गाऊन्! परमप्रभुले आफ्‍ना कष्‍ट पाएका प्रजामाथि कृपा गर्नुहुनेछ र तिनीहरूलाई सान्‍त्‍वना दिनुहुनेछ। तर यरूशलेमका मानिसहरूले भने: “परमप्रभुले हामीलाई त्‍याग्‍नुभएको छ! उहाँले हामीलाई बिर्सनुभएको छ। यसकारण परमप्रभुले यस्‍तो उत्तर दिनुहुन्‍छ: “के आमाले आफ्‍नो दूधेबालकलाई भुल्‍न सक्‍छे? र आफूले जन्‍माएका बालकलाई माया गर्न छोड्छे? तर आमाले आफ्‍नो बालकलाई भुले पनि म तिमीहरूलाई कहिल्‍यै भुल्‍नेछैनँ। हे यरूशलेम, म तँलाई कहिल्‍यै भुल्‍न सक्‍दिनँ! मैले तेरो नाम आफ्‍नो हत्‍केलामा लेखेको छु। “तेरा छोराहरू चाँडै आउँदै छन् र तँलाई नाश गर्नेहरू बिदा हुँदै छन्। चारैतिर आँखा उचाल् र के भइरहेको छ, हेर्‌! तेरा मानिसहरू जम्‍मा हुँदै छन्, तिनीहरू घर आउँदै छन्! म जीवित परमेश्‍वर छु भन्‍ने स्‍वयम् साक्षी राखी म भन्‍दछु र तैँले आफ्‍ना मानिसहरूमा गर्व गर्नेछस्, दुलहीले आफ्‍ना गहनामा गर्व गरेझैँ तैँले तिनीहरूमा गर्व गर्नेछस्। “तेरो देश नष्‍ट भएर उजाड भएको थियो, तर अब त्‍यो त्‍यहाँ बसोबास गर्न आउनेहरूको निम्‍ति सानो नै हुनेछ तर जसले तँलाई नष्‍ट पारेर छोडे, तिनीहरू तँबाट धेरै टाढा हटिजानेछन्।” विदेशका कैदमा जन्‍मेका तेरा सन्‍तानहरूले एक दिन तँलाई यसो भन्‍नेछन्: “यो ठाउँ साह्रै सानो छ, हामी बसोबास गर्न अरू जग्‍गा चाहिन्‍छ!” तब तैँले आफ्‍ना मनमा भन्‍नेछस्, “कसले मेरो लागि यी सबै सन्‍तान जन्‍मायो? मैले मेरा छोरा-छोरीहरू गुमाएँ र अरू जन्‍माउन सकिनँ। म विदेशमा कैदी बनाइएर धपाइएँ, कसले यी छोरा-छोरीहरूलाई हुर्कायो? म त एक्‍लै थिएँ, यी छोरा-छोरीहरू कताबाट आए’?” सार्वभौम परमप्रभु आफ्‍ना प्रजालाई भन्‍नुहुन्‍छ: “म जाति-जातिलाई इशारा गर्नेछु र तिनीहरूले तेरा छोरा-छोरीहरूलाई बोकेर ल्‍याउनेछन्। तेरा निम्‍ति राजाहरू बुबाझैँ र रानीहरू आमाझैँ हुनेछन्। तिनीहरूले तेरो अघि भूइँसम्‍म निहुरेर तँलाई आदर दिनेछन्। नम्र भएर तिनीहरूले तँप्रति आफ्‍नो आदर देखाउनेछन्। तब तैँले जान्‍नेछस् कि म परमप्रभु हुँ र मेरा आशाको बाटो हेर्नेहरू निराश हुनेछैनन्।” के तैँले एउटा सिपाहीबाट त्‍यसले लुटेको धन खोस्‍न सक्‍छस्? अत्‍याचारीका हातबाट त्‍यसका कैदीहरूलाई छुटकारा दिन सक्‍छस्? परमप्रभु जवाफ दिनुहुन्‍छ, “ठीक त्‍यस्‍तै हुनेछ; सिपाहीका कैदीहरू छुटाइनेछन्, अत्‍याचारीका लुटको धन खोसिनेछ। जो तँसित लड्छ, त्‍योसित म लड्‍नेछु र तेरा छोरा-छोरीहरूको उद्धार गर्नेछु। तँलाई सताउनेहरूलाई म आपसमा मारामार गराउनेछु, तँलाई सताउनेहरूले आफ्‍नै मासु खानेछन् र आफ्‍नै रगत पिएर मात्‍नेछन्। तब सबै मानिसहरूले म तँलाई बचाउने परमप्रभु हुँ भनी जान्‍नेछन्। तँलाई छुटकारा दिने इस्राएलका सामर्थी परमेश्‍वर हुँ भनी तिनीहरूले जान्‍नेछन्।”

यशैया 49 पढ्नुहोस्