यशैया 3
3
यरूशलेममा गोलमाल
1अब प्रभु, सर्वशक्तिमान् परमप्रभुले यरूशलेम र यहूदाबाट मानिसका सहाराका हरेक थोक र हरेक व्यक्ति हटाउन लाग्नुभएको छ। उहाँले तिनीहरूका भोजन र पानी, 2योद्धा र वीरहरू, न्यायकर्ता र अगमवक्ताहरू, जोखाना हेर्ने र राजनीति गर्नेहरू, 3तिनीहरूका फौजी र निजामती अगुवाहरू, राजनीतिज्ञहरू र समाजका घटनाहरू वशमा गर्नलाई जादू-टुना चलाउने मानिसहरू सबैलाई हटाउनुहुनेछ। 4उहाँले उमेर नपुगेका ठिटाहरूलाई मानिसहरूमाथि शासन गर्न लाउनुहुन्छ। 5मानिसहरू एउटाले अर्काबाट लाभ उठाउनेछन्। युवाहरूले बुढा-पाकालाई र व्यर्थका मानिसहरूले आफूभन्दा ठूला व्यक्तिहरूलाई मान गर्नेछैनन्।
6त्यो समय आउनेछ, जब एक गोत्रका मानिसहरूले आफ्नै बीचबाट एउटालाई चुनेर यसो भन्नेछन्: “तिमीसित लाउने लुगा त छ, यो कष्टको समयमा तिमी हाम्रो अगुवा भइदेऊ।”
7तर त्यसले यस्तो जवाफ दिनेछ, “म त हुन्न है! म तिमीहरूलाई केही सहायता गर्न सक्दिनँ। मसित लुगाफाटा वा खानेकुरा केही छैन। तिमीहरूले मलाई आफ्नो अगुवा नबनाओ!”
8साँच्चै हो, यरूशलेम सर्वनाश हुनेछ। यहूदा खतम हुँदै छ। तिनीहरूले भनेका र गरेका सबै कुरा परमप्रभुको विरुद्धमा छन्। खुल्लमखुल्ला तिनीहरूले परमेश्वरको अपमान गर्छन्। 9तिनीहरूको पक्षपात तिनीहरूको विरुद्धमा खडा हुनेछ। सदोमवासीहरूले जस्तै तिनीहरूले खुलस्त पाप गर्छन्। तिनीहरूको विनाश अवश्य नै हुनेछ र तिनीहरू आफैंले आफूमाथि विनाश ल्याएका हुन्।
10धर्मी मानिसहरू सुखी हुनेछन्। सबै कुरामा तिनीहरूलाई असलै हुनेछ। तिनीहरूले आफ्ना कामको फल आनन्दसाथ भोग गर्नेछन्। 11तर दुष्ट मानिसहरूको विनाश अवश्यै हुनेछ। तिनीहरूले जे अरूलाई गरेका छन्, त्यसको दण्ड पाउनेछन्।
12ठिटाहरूले मेरा प्रजाहरूलाई अत्याचार गर्छन् र स्त्रीहरूले तिनीहरूमाथि शासन गर्नेछन्।
हे मेरा प्रजा, तिम्रा अगुवाहरूले तिमीहरूलाई कुबाटोतिर लैजाँदै छन् र तिमीहरू बाटोमा अलमलिएका छौ।
परमप्रभुले आफ्ना प्रजाको पक्षमा विचार गर्नुहुन्छ
13परमप्रभुले न्यायलयमा न्याय आसन ग्रहण गर्नुहुन्छ, आफ्ना प्रजाको पक्षमा न्याय गर्न उहाँ तयार हुनुहुन्छ। 14परमप्रभुले आफ्ना प्रजाका प्रधानहरू र अगुवाहरूको न्याय गर्नुहुनेछ। उहाँले तिनीहरूमाथि यस्तो दोष लगाउनुहुन्छ: “तिमीहरूले दाखबारी लुटेका छौ। गरीबहरूबाट लुटेका मालले तिमीहरूका घर भरिएका छन्। 15मेरा प्रजालाई दबाएर चुर पार्ने र गरीबहरूबाट अनुचित लाभ उठाउने तिमीहरूलाई हक छैन। म सार्वभौम र सर्वशक्तिमान् परमप्रभु भन्दछु।”
यरूशलेमका स्त्रीहरूलाई चेतावनी
16परमप्रभुले भन्नुभयो, “हेर, यरूशलेमका स्त्रीहरू कति घमण्डी छन्। तिनीहरू नाक ठाडो पारेर हिँड्छन्। तिनीहरू आँखा नचाउँदै पात्तिएर छोटो कदममा कल्ली छम्छम् पार्दै हिड्छन्। 17तर म तिनीहरूलाई दण्ड दिनेछु र तिनीहरूका केश खौरेर तालु-चिण्डे बनाइदिनेछु।”
18त्यो दिन आउँदै छ, जब परमप्रभुले यरूशलेमका स्त्रीहरूबाट ती सबै गहनाहरू खोस्नुहुनेछ, जसमा तिनीहरू घमण्ड गर्छन्, जस्तै: खुट्टाका कल्ली, शिरका शिरबन्दी, गलाका हार 19र नाडीका बाला, उहाँले तिनीहरूका घुम्टो 20पाखुरा र कम्मरमा लाउने जन्तर, शिर-पोश, 21औँलाका औँठी र नाकका नत्था, 22राम्रा-राम्रा वस्त्र, अलखा, खास्टो र थैली, 23ऐना, सुतीका रुमाल, दुपट्टा, शिरमा लाउने घुम्टो सबै खोस्नुहुनेछ।
24सुगन्धित अत्तरका सट्टामा सडेको दुर्गन्ध, राम्रा पटुकाका सट्टामा खस्रो डोरी रहनेछन्। सुन्दर केशका सट्टामा तालु-चिण्डे हुनेछन् र सुन्दर वस्त्रका सट्टामा बोरा लाउनेछन्। तिनीहरूको सुन्दरता शर्ममा बदलिनेछ!
25सहरका मानिसहरू अँ, वीरहरू लडाइँमा मारिनेछन्। 26सहरका मूल-ढोकाहरूमा रुवावासी हुनेछ र भूइँमा नाङ्गै पारी बसाएकी स्त्रीजस्तै सारा सहर उजाड हुनेछ।
अहिले सेलेक्ट गरिएको:
यशैया 3: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.