YouVersion लोगो
खोज आइकन

होशे 4:1-10

होशे 4:1-10 सरल नेपाली

यस देशका बासिन्‍दाहरूलाई परमप्रभुले दोषी ठहर्‍याउनुहुन्‍छ। ए इस्राएल, उहाँले के भन्‍दै हुनुहुन्‍छ, सो सुन्, “यस देशमा विश्‍वास र प्रेम छैन अनि यहाँका बासिन्‍दाहरूले मलाई परमेश्‍वर भनी स्‍वीकार्दैनन्। तिनीहरू प्रतिज्ञा गर्छन् र तोड्छन्, तिनीहरू झूट बोल्‍छन्, हत्‍या, चोरी र व्‍यभिचार गर्छन्। अपराध बढ्छ, एकपछि अर्को गर्दै हत्‍या हुन्‍छ। यसकारण यो देश सुकेर जानेछ र यसमा बास गर्ने हरेक प्राणी मर्नेछ। सबै पशु-पंक्षीहरू र माछाहरूसमेत नष्‍ट हुनेछन्।” परमप्रभु भन्‍नुहुन्‍छ, “कसैले मानिसहरूलाई दोष नलाओस् वा नहप्‍काओस्। मेरो आरोप तिमी पूजाहारीहरूमाथि छ। रातदिन तिमीहरू भुल गर्छौ। अगमवक्ताहरूको हाल पनि त्‍यस्‍तै नराम्रो छ। म तिमीहरूकी आमा इस्राएललाई नाश पार्नेछु। मेरा प्रजाले मलाई नजानेका हुनाले तिनीहरूको विनाश निश्‍चय हुनेछ। तिमी पूजाहारीहरूले मलाई मान्‍न अस्‍वीकार गर्‍यौ र मेरो शिक्षा इन्‍कार गर्‍यौ। यसकारण म तिमीहरूलाई इन्‍कार गर्छु र तिमीहरूका सन्‍तानहरूलाई मेरा पूजाहारीहरू हुन अस्‍वीकार गर्छु। “तिमी पूजाहारीहरू जति सङ्ख्‍यामा बढ्दै जान्‍छौ, उति ज्‍यादा तिमीहरू मेरा विरुद्धमा पाप गर्छौ। यसकारण म तिमीहरूका मानलाई अपमानमा परिवर्तन गरिदिनेछु। मेरा प्रजाका पापद्वारा तिमीहरू धनी हुँदै जाँदछौ र तिनीहरूले झन् बढ्ता पाप गरेका तिमीहरू चाहन्‍छौ। तिमीहरूले पनि मानिसहरूले जस्‍तै दण्‍ड भोग्‍नेछौ। म तिमीहरूलाई दण्‍ड दिनेछु र तिमीहरू आफैंले गरेको खराबीको मोल चुकाउनेछौ। तिमीहरूले आफ्‍नो भागमा पर्ने बलिदानको हिस्‍सा खानेछौ तर तिमीहरूको भोक मेटिनेछैन। तिमीहरू सन्‍तान दिने देवी-देवताहरूलाई पुज्‍नेछौ तर सन्‍तान पाउनेछैनौ किनभने तिमीहरू मबाट तर्केर पराई देवी-देवतापछि लागेका छौ।”

होशे 4 पढ्नुहोस्