YouVersion लोगो
खोज आइकन

हिब्रू 9:1-14

हिब्रू 9:1-14 सरल नेपाली

पहिलेको करारमा परमेश्‍वरको भक्ति गर्ने बारेमा नियमहरू राखिएका थिए। मानिसहरूले नै बनाएको भक्ति गर्ने एउटा पवित्र स्थान पनि थियो। एउटा पवित्र पाल बनाइएको थियो र त्‍यसको बाहिरपट्टिको भागलाई पवित्र स्थान भनिन्‍थ्‍यो। यसमा चाहिँ बत्ती, टेबिल र परमेश्‍वरलाई चढाइएका रोटीहरू राखिएका थिए। दोस्रो पर्दाको पछाडिपट्टिको ठाउँलाई महापवित्र स्थान भनिन्‍थ्‍यो। यसमा धूप बाल्‍ने सुनको वेदी राखिएको थियो। सुनले नै मोहोरेको करारको सन्‍दुक पनि थियो। त्‍यस सन्‍दुकमा सुनको भाँडामा मन्‍न राखिएको थियो। कोपिला लागेको हारूनको एउटा लौरो र परमेश्‍वरका करारका आज्ञाहरू लेखिएका दुई ओटा ढुङ्गाका पाटीहरू पनि यसैमा थिए। परमेश्‍वर नै त्‍यहाँ हुनुहुन्‍छ भनेर देखाउन त्‍यस सन्‍दुकमाथि चहकिला स्‍वर्गदूतहरूका पखेटाहरू पाप क्षमा गर्ने ठाउँमाथि फैलिएका थिए। तर अहिलेचाहिँ ती सबै कुरा एक-एक गरेर बताउन सकिंदैन। यसरी सबै कुरा मिलाइएका थिए। बाहिरपट्टिको पवित्र स्थानमा चाहिँ पूजाहारीहरू दिनदिनै पूजा गर्न जाने गर्छन्। भित्रपट्टिको महापवित्र स्थानमा चाहिँ प्रधान पूजाहारी मात्र जान पाउँछन्, त्‍यो पनि वर्षमा एक पटक मात्र। उनले रगत नलिईकन त्‍यो महापवित्र स्थानमा पस्‍न पाउँदैनन्। उनले त्‍यो रगत आफूले गरेको पापको लागि र मानिसहरूले नजानी गरेका पापको लागि चढाउने गर्छन्। पवित्र पालको बाहिरको पवित्र स्थान नहटाएसम्‍म भित्रपट्टिको महापवित्र स्थान खुल्‍ला हुन सक्‍नेछैन भनेर पवित्र आत्‍माले यी सबै कुराहरूबाट सिकाउनुहुन्‍छ। यो त अहिलेको समयलाई देखाउने नमुना मात्र हो। परमेश्‍वरलाई चढाएका भेटी र बलिले भेटी चढाउने मान्‍छेको हृदय चोखो बनाउन सक्‍दैन भनी यसले बुझाउँछ। तिनीहरू खानपान गर्ने र धेरै किसिमका चोखिने दस्‍तुर मात्र हुन्। परमेश्‍वरबाट एउटा नयाँ व्‍यवस्‍था नआउनञ्‍जेल चलाइने यी बाहिरी दस्‍तुर मात्र हुन्। तर ख्रीष्‍ट त यहाँ भएका सबै असल कुराहरूका प्रधान पूजाहारी भएर आइसक्‍नुभएको छ। उहाँ झन् ठूलो र सिद्ध मन्‍दिरमा पूजाहारी हुनुहुन्‍छ। यो मानिसले बनाएको मन्‍दिर होइन र सृष्‍टि गरिएको यस संसारको कुरो पनि होइन। उहाँ सोझै यस मन्‍दिरको महापवित्र ठाउँमा सधैँको निम्‍ति एकैपल्‍ट पस्‍नुभयो। उहाँले बोका र साँढेको बलि चढाएको रगत लिएर पस्‍नुभएन। तर आफ्‍नै बलि चढाएको रगत लिएर पस्‍नुभयो र हामीलाई सधैँभरि रहने मुक्ति दिनुभयो। बोका वा साँढेको रगत र होमेको कोरेली बाछोको खरानी अशुद्ध मानिसहरूमाथि छर्केर तिनीहरूलाई बाहिरी रूपले शुद्ध पारिन्‍छ। तर ख्रीष्‍टको रगतमा हामीलाई शुद्ध तुल्‍याउने अझ ठूलो शक्ति छ। सधैँभरि रहिरहनुहुने परमेश्‍वरका आत्‍माद्वारा उहाँले सिद्ध बलि भएर आफैंलाई परमेश्‍वरकहाँ चढाउनुभयो। त्‍यसो हो भने हामीले जीवित परमेश्‍वरको सेवा गर्न सकौं भनी व्‍यर्थैका विधिबाट हाम्रा विवेकलाई ख्रीष्‍टको रगतले झन् कति ज्‍यादा गरी शुद्ध पार्न सक्‍छ।

हिब्रू 9 पढ्नुहोस्