इस्राएली व्यवस्था हुन आउने खास साँचो कुराहरूको नमुना होइन, तर आउने असल कुराहरूको छाया मात्र हो। यसैले वर्षेनी चढाएका त्यही बलिदानहरूले परमेश्वरकहाँ ती बलिदान चढाउने मान्छेहरूलाई पूरै शुद्ध पार्न सक्दैन। पशु बलिले पूरै शुद्ध पार्न सक्ने भए किन घरीघरी बलि चढाउनुपर्थ्यो? यदि त्यसले बलि चढाउनेहरू शुद्ध हुने भए त सधैँको लागि एकै चोटि शुद्ध हुनेथियो अनि पूरै शुद्ध भई तिनीहरूका विवेकमा पाप रहनेथिएन। तर यी बलिदानहरूले मानिसलाई वर्षेनी आफ्ना पापहरूको सम्झना मात्र गराउँछ किनभने साँढे र बोकाहरूको रगतले पाप मेटाउन सक्दैसक्दैन। यसैकारण संसारमा आउन लाग्नुहुँदा ख्रीष्टले परमेश्वरलाई यसो भन्नुभएको थियो, “तपाईंलाई भेटी र बलिदानहरू चाहिँ दैन, तर तपाईंले मेरो लागि एउटा शरीर तयार गरिदिनुभएको छ। तपाईंले होमबलि र पापबलि चाहनुहुन्न।” त्यसो हुँदा मैले भनें, “हे परमेश्वर, म हाजिर छु। धर्मशास्त्रमा लेखिएझैँ, म तपाईंको इच्छा पूरा गर्न तयार छु।” पहिल्यै उहाँले भन्नुभयो, “तपाईंले भेटी र बलिदानहरू चाहनुहुन्न। तपाईं होमबलि र पापबलिसँग खुसी हुनुहुन्न।” व्यवस्थाले भनेझैँ यी बलिदान चढाउँदा-चढाउँदै पनि उहाँले यसो भन्नुभयो। त्यसपछि उहाँले भन्नुभयो, “हे परमेश्वर, म हाजिर छु! म तपाईंको इच्छा पूरा गर्न तयार छु।” यसकारण परमेश्वरले पहिलेका बलिदानहरूलाई खारेज गर्नुहुन्छ। ख्रीष्टको र यसको साटोमा बलिदान राखिदिनुहुन्छ किनभने येशू ख्रीष्टले परमेश्वरको इच्छा पूरा गर्नुभयो। यसैले सधैँभरि हुने गरी एकै चोटि आफ्नै शरीरलाई बलि दिएर उहाँले हामी सबैलाई पापबाट शुद्ध पार्नुभएको छ। सबै इस्राएली पूजाहारीहरूले बारम्बार उभिएर परमेश्वरकहाँ बलि चढाउने काम गर्छन् अनि घरीघरी एकै किसिमको बलि चढाउने गर्छन्। तर यस्ता बलिदानहरूले कहिल्यै पाप मेटाउन सक्दैनन्। तर ख्रीष्टले चाहिँ सधैँभरिलाई पुग्ने गरी पापको लागि एउटै मात्र बलि चढाउनुभयो। यही काम सकेर उहाँ परमेश्वरको दाहिने हातपट्टि बस्नुभएको छ। परमेश्वरले उहाँका शत्रुहरूलाई उहाँको पैतालामुनि नपार्नुभएसम्म उहाँ त्यहीं पर्खिरहनुहुनेछ। पापबाट शुद्ध पारिएका जतिलाई उहाँले एउटै बलिदानले सधैँको लागि सिद्ध पार्नुभएको छ।
हिब्रू 10 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हिब्रू 10:1-14
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू