YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 7:11-24

उत्‍पत्ति 7:11-24 सरल नेपाली

नोआ ६०० वर्षको हुँदा दोस्रो महिनाको सत्रौँ दिनमा पृथ्‍वीमुनिका अगाध पानीका मूलहरू फुटे, आकाशका पानीका ढोकाहरू सबै खुले र दिनरात चालीस दिनसम्‍म पानी परिरह्यो। त्‍यही दिन नोआ र उनकी स्‍वास्‍नी आफ्‍ना तीन जना छोराहरू शेम, हाम र येपेत र तिनका स्‍वास्‍नीहरूसँगै लिएर नाउमा पसे। तिनीहरूसँग हरथरीका ठूला-साना घरेलु र बन-पशुहरू र हरथरीका पंक्षीहरू पनि नाउमा गए। परमेश्‍वरले आज्ञा गर्नुभएअनुसार हरप्रकारका जिउँदा प्राणीहरू जोडी-जोडी, भाले-पोथी गरी, नोआसित नाउमा गए। त्‍यसपछि परमप्रभुले ढोका बन्‍द गरिदिनुभयो। जलप्रलय ४० दिनसम्‍म भइरह्यो। पानी बढेर यति गहिरो भयो कि नाउ उचालिएर तैरन लाग्‍यो। पानी अझै गहिरो भयो र नाउ माथि-माथि बग्‍न थाल्‍यो। पानी यति गहिरो भयो कि अग्‍लाभन्दा अग्‍ला पहाडहरू पानीमा डुबे। पानी अझै बढ्दै गयो र पर्वतहरूमाथि सात मिटर अग्‍लोसम्‍म पुग्‍यो। पृथ्‍वीमा भएका जम्‍मै जिउँदा प्राणीहरू सबै चरा-चुरुङ्गी, पशु र नर-नारीहरू मरे। पृथ्‍वीमा भएका सास फेर्ने प्राणीहरू सबै मरे। पृथ्‍वीमा भएका सबै जिउँदा प्राणीहरू मानिस, पशु र पंक्षीहरूलाई परमप्रभुले नाश पार्नुभयो। नोआ र उनीसित नाउमा हुनेहरू मात्र जिउँदा छोडिए। पानी १५० दिनसम्‍म घटेन।

उत्‍पत्ति 7 पढ्नुहोस्