YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 6:5-22

उत्‍पत्ति 6:5-22 सरल नेपाली

पृथ्‍वीका सबै बासिन्‍दाहरू कति दुष्‍ट भएका थिए र तिनीहरू कसरी सधैँभरि खराबै मात्र सोचिरहन्‍थे भनी जब परमप्रभुले देख्‍नुभयो, तब मैले किन यिनीहरूलाई बनाएछु र पृथ्‍वीमा राखेछु भनी उहाँले अफसोस गर्नुभयो। उहाँ यति दु:खित हुनुभयो कि उहाँले यसो भन्‍नुभयो, “म यी मैले बनाएका मानिसहरू, पशुहरू र चरा-चुरुङ्गीहरू पनि पृथ्‍वीबाट मेटिदिनेछु किनभने ती बनाएकोमा मलाई अफसोस छ।” तर परमप्रभु नोआसित प्रसन्‍न हुनुहुन्‍थ्‍यो। यो नोआको कथा हो। उनका शेम, हाम र येपेत भनिने तीन भाइ छोराहरू थिए। नोआमा केही दोष थिएन, उनी आफ्‍नो समयको एकमात्र धर्मी मानिस थिए। उनी परमेश्‍वरको साथमा रहन्‍थे। तर अरू सबै भने परमेश्‍वरको दृष्‍टिमा दुष्‍ट थिए अनि हिँसा जहीँ-तहीँ फैलिएको थियो। परमेश्‍वरले संसारलाई हेर्नुभयो र त्‍यो भ्रष्‍ट भएको देख्‍नुभयो किनभने सबै मानिसहरूले भ्रष्‍ट जीवन बिताइरहेका थिए। परमेश्‍वरले नोआलाई भन्‍नुभयो, “मैले सारा मानवजातिको अन्‍त्‍य गर्ने पक्‍का विचार गरेको छु। म तिनीहरूलाई नाश पार्नेछु किनभने तिनीहरूले गरेका हिँसाका कामले यो संसार भरिएको छ। तैँले आफ्‍नो लागि असल काठको एउटा ठूलो जहाज बनाउनू, त्‍यसमा कोठा-कोठा बनाएर भित्र-बाहिर दुवैपट्टि अलकत्राले पोत्‍नू। त्‍यसलाई १३३ मिटर लामो, २२ मिटर चौडा र १३ मिटर अग्‍लो बनाउनू। जहाजमा छाना हाल्‍नू र छाना र छेउका भित्ताबीच ४४ सेन्‍टिमिटर ठाउँ छोडिदिनू। त्‍यो तीनतले बनाउनू र एकापट्टि ढोका राख्‍नू। सबै जिउँदा प्राणीहरूलाई नाश पार्न म पृथ्‍वीमा जलप्रलय ल्‍याउनेछु। पृथ्‍वीमा भएका सबै थोक र प्राणी मर्नेछन्, तर तँसँग म एउटा करार बाँध्‍नेछु। आफ्‍नी स्‍वास्‍नी र छोरा-बुहारीहरू सँगै लिएर तँ भित्र जानू। हरथरीका पशु-पंक्षीहरूलाई जीवित राख्‍न भाले र पोथी गरी एक-एक जोडी तँसँग जहाजमा लानू। आफ्‍ना लागि र ती पशु-पंक्षीका लागि सबै प्रकारका खाना आफूसँग राख्‍नू।” परमेश्‍वरले आज्ञा गर्नुभएअनुसार सबै कुरा नोआले गरे।

उत्‍पत्ति 6 पढ्नुहोस्