उत्पत्ति 6:5-22
उत्पत्ति 6:5-22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
पृथ्वीमा मानिसहरूको दुष्टता बढ़ी भएको र तिनीहरूका हृदयका विचारको जुनसुकै पनि भावना निरन्तर खराबै मात्र भएको परमप्रभुले देख्नुभयो। पृथ्वीमा मानिसलाई बनाउनुभएकोमा परमप्रभुले अफसोस गर्नुभयो, र उहाँ मनमा साह्रै दु:खित हुनुभयो। त्यसकारण परमप्रभुले भन्नुभयो, “मैले सृष्टि गरेको मानिसलाई पृथ्वीबाट म मेटिदिनेछु— के मानिस, के घस्रने जन्तु, के आकाशका पक्षी सबैलाई— किनभने ती बनाएकोमा मलाई दु:ख लागेको छ।” तर नोआमाथि चाहिँ परमप्रभुको अनुग्रह भयो। नोआको वृत्तान्त यही हो। आफ्नो पुस्तामा नोआ धर्मी र निर्दोष मानिस थिए। तिनी परमेश्वरको साथै हिँड्ने गर्थे। नोआका तीन जना छोराहरू जन्मे— शेम, हाम र येपेत। परमेश्वरको दृष्टिमा पृथ्वी भ्रष्ट भएको र उपद्रवले भरिएको थियो। जब परमेश्वरले पृथ्वीमाथि दृष्टि गर्नुभयो तब त्यो भ्रष्ट भएको देख्नुभयो, किनकि पृथ्वीमा भएका सबै मानिसहरूले आफ्ना चालचलन भ्रष्ट पारिसकेका थिए। यसकारण परमेश्वरले नोआलाई भन्नुभयो, “सबै मानिसहरूको अन्त्य गर्ने मैले अठोट गरेको छु, किनभने पृथ्वी तिनीहरूद्वारा उपद्रवले भरिएको छ। हेर, म तिनीहरूलाई पृथ्वीसमेत नाश गर्नेछु। तैंले गोपेर काठको एउटा जहाज बनाउनू। जहाजमा कोठा-कोठा बनाउनू र त्यसलाई भित्र-बाहिर अलकत्राले लिप्नू। तैंले त्यो यसरी बनाउनू: जहाजको लमाइ एक सय चालीस मिटर, चौड़ाइ तेईस मिटर र उचाइ चौध मिटरको होस्। जहाजमा उज्यालो आओस् भनेर त्यो मास्तिर माथिबाट एक हात छोड़ेर टुङ्ग्याउनू। जहाजको ढोका त्यसको एकापट्टि राख्नू। पहिलो, दोस्रो र तेस्रो तला भएको त्यो बनाउनू। जीवनको सास हुने आकाशमुनिका सबै प्राणीलाई म सर्वनाश पार्नलाई पृथ्वीमा जलप्रलय ल्याउनेछु, र पृथ्वीमा भएको हरेक प्राणी मर्नेछ। तर तँसँगचाहिँ म आफ्नो करार स्थापित गर्नेछु। तँ तेरा छोराहरू, तेरी पत्नी र तेरा बुहारीहरूसमेत जहाजमा आउनेछस्। सबै जीवित प्राणीमध्ये हरेक जातका भाले र पोथी दुई-दुई गरी जहाजमा ले, र तिनीहरू पनि तँसँग बाँचिरहून्। पक्षीहरूमध्ये तिनीहरूका जात-जातअनुसार, पशुहरूमध्ये तिनीहरूका जात-जातअनुसार र जमिनमा घस्रने सबै प्राणीहरूमध्ये जात-जातअनुसार— सबै थरीका दुई वटा— तिनीहरू जीवित रहनलाई तँकहाँ आउनेछन्। हरेक किसिमका आहारा पनि तैंले आफ्नो साथमा जम्मा गरेर राख्नू। ती तेरो र तिनीहरूका निम्ति आहार हुनेछन्।” परमेश्वरले नोआलाई आज्ञा गर्नुभएबमोजिम तिनले सबै गरे।
उत्पत्ति 6:5-22 पवित्र बाइबल (NERV)
परमप्रभुले देख्नु भयो पृथ्वीका मानिसहरूमा दुष्टता अत्यन्तै धेरै थियो अनि तिनीहरूले मनमा जे चिताउँद थिए सधैँ विचारहरू नै दुष्टपूर्ण हुन्थ्यो। अनि परमप्रभु पृथ्वीमा मनुष्य जाति सृष्टि गरेकोमा दुःखी हुनुभयो। त्यसले परमप्रभुलाई हृदयबाट नै दुःखी तुल्यायो। तब परमप्रभुले भन्नुभयो, “पुथ्वीबाट नै यी मानिसहरूलाई म ध्वंश पार्ने छु। म मानिस, घस्रने र अन्य पशुहरू अनि आकाशमा उड्ने चराहरू जे मैले सृष्टि गरें म सबैलाई ध्वंश पार्नेछु।” तर नूहले परमप्रभुलाई खुशी तुल्याए। यो नूहको पारिवारीक इतिहास हो। नूह उसको जीनवनभरि एकजना असल व्यक्ति थिए। नूहले सधैँ परमेश्वरको अनुशरण गर्द थिए। नूहका तीन छोराहरू शेम, हाम र येपेत नाउँ भएका थिए। परमेश्वरको नजरमा पृथ्वी भ्रष्ट थियो। मानिसहरूले पृथ्वीमा हिंसा ब्याप्त पारेका थिए। परमेश्वरले पृथ्वीमा देख्नु भयो पृथ्वीका मानिसहरूले आफ्नो जीवन भ्रष्ट पारेकोले पृथ्वी नै नष्ट भएको थियो। तब परमेश्वरले नूहलाई भन्नुभयो, “मानिसहरूको हिंसाले पृथ्वी भरिएकोले यसमा भएका सबै प्राणीहरूलाई नष्ट पार्न मैले निर्णय लिएँ। यसर्थ पृथ्वीसितै तिनीहरू सबैलाई म झट्टै नष्ट पार्नेछु। तैंले गोपेर काठको एउटा जहाज बनाउनु र त्यसमा कोठाहरू बनाउनु र त्यसको भित्र र बाहिर पट्टी अलकत्राले लिप्नु। “त्यो जहाज 300 हात लामो, 50 हात चौंडा र 30 हात अल्गो बनाउनु र त्यसमा छाना लगाउनु। तब छानाको एक हात तल झ्याल बनाउँनु। त्यस जहाजको एकापट्टी एउटा ढोका राख्नु र त्यसमा पहिलो, दोस्रो र तेस्रो तला बनाउनु। “मेरो भागमा म यस धर्तीका सबै प्राणीहरूको सर्वनाश पार्न खतरनाक बाढी ल्याइरहेको छु। सजीव वस्तुहरू मर्नेछन्। तर म तँसँग एउटा करार गर्नेछु। जहाज भित्र पस्दा तैंले आफूसँग आफ्नो छोराहरू, पत्नी, अनि बुहारीहरू लानु। अनि आफूसँग प्रत्येक जोडी जीवित प्राणी जहाज भित्र लानु, ती जीवित प्राणीहरू सबै भाले-पोथीको जोडी होस् र तिनीहरू पनि तिमीहरूसितै बाँचिरहुन्। जीवन रक्षाको निम्ति प्रत्येक जातका पशु चरा र घस्रने प्राणीहरू त्यहाँ तिमीहरूसित रहनेछन्। अनि तेरो भागमा सबै प्रकारको खाद्य सामग्री भोजनको लागि जम्मा गर्नु। तेरो र ती सब प्राणीहरूका निम्ति भोजन हुनेछ।” परमेश्वरको आज्ञा अनुसार नूहले सबै काम पूरा गर्यो।
उत्पत्ति 6:5-22 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
पृथ्वीका सबै बासिन्दाहरू कति दुष्ट भएका थिए र तिनीहरू कसरी सधैँभरि खराबै मात्र सोचिरहन्थे भनी जब परमप्रभुले देख्नुभयो, तब मैले किन यिनीहरूलाई बनाएछु र पृथ्वीमा राखेछु भनी उहाँले अफसोस गर्नुभयो। उहाँ यति दु:खित हुनुभयो कि उहाँले यसो भन्नुभयो, “म यी मैले बनाएका मानिसहरू, पशुहरू र चरा-चुरुङ्गीहरू पनि पृथ्वीबाट मेटिदिनेछु किनभने ती बनाएकोमा मलाई अफसोस छ।” तर परमप्रभु नोआसित प्रसन्न हुनुहुन्थ्यो। यो नोआको कथा हो। उनका शेम, हाम र येपेत भनिने तीन भाइ छोराहरू थिए। नोआमा केही दोष थिएन, उनी आफ्नो समयको एकमात्र धर्मी मानिस थिए। उनी परमेश्वरको साथमा रहन्थे। तर अरू सबै भने परमेश्वरको दृष्टिमा दुष्ट थिए अनि हिँसा जहीँ-तहीँ फैलिएको थियो। परमेश्वरले संसारलाई हेर्नुभयो र त्यो भ्रष्ट भएको देख्नुभयो किनभने सबै मानिसहरूले भ्रष्ट जीवन बिताइरहेका थिए। परमेश्वरले नोआलाई भन्नुभयो, “मैले सारा मानवजातिको अन्त्य गर्ने पक्का विचार गरेको छु। म तिनीहरूलाई नाश पार्नेछु किनभने तिनीहरूले गरेका हिँसाका कामले यो संसार भरिएको छ। तैँले आफ्नो लागि असल काठको एउटा ठूलो जहाज बनाउनू, त्यसमा कोठा-कोठा बनाएर भित्र-बाहिर दुवैपट्टि अलकत्राले पोत्नू। त्यसलाई १३३ मिटर लामो, २२ मिटर चौडा र १३ मिटर अग्लो बनाउनू। जहाजमा छाना हाल्नू र छाना र छेउका भित्ताबीच ४४ सेन्टिमिटर ठाउँ छोडिदिनू। त्यो तीनतले बनाउनू र एकापट्टि ढोका राख्नू। सबै जिउँदा प्राणीहरूलाई नाश पार्न म पृथ्वीमा जलप्रलय ल्याउनेछु। पृथ्वीमा भएका सबै थोक र प्राणी मर्नेछन्, तर तँसँग म एउटा करार बाँध्नेछु। आफ्नी स्वास्नी र छोरा-बुहारीहरू सँगै लिएर तँ भित्र जानू। हरथरीका पशु-पंक्षीहरूलाई जीवित राख्न भाले र पोथी गरी एक-एक जोडी तँसँग जहाजमा लानू। आफ्ना लागि र ती पशु-पंक्षीका लागि सबै प्रकारका खाना आफूसँग राख्नू।” परमेश्वरले आज्ञा गर्नुभएअनुसार सबै कुरा नोआले गरे।