उत्पत्ति 46
46
याकूब परिवारसित मिश्रमा जान्छन्
1याकूब आफ्ना सबै भारी कसेर हिँडे र बेर्शेबामा आइपुगे। त्यहाँ उनले आफ्ना बुबा इसहाकका परमेश्वरलाई बलि चढाए। 2अनि राती दर्शनमा परमेश्वर इस्राएलसँग बोल्नुभयो, “याकूब! ए याकूब!”
“हजुर, म यहाँ छु,” उनले जवाफ दिए।
3उहाँले भन्नुभयो, “म परमेश्वर तेरा बुबाका परमेश्वर हुँ। मिश्रमा जान नडरा। तेरा सन्तानहरूलाई म त्यहाँ एउटा ठूलो जाति बनाउनेछु। 4म तँसित मिश्रमा जानेछु र तेरा सन्तानहरूलाई यस देशमा फर्काइल्याउनेछु। तेरो मरणको बेलामा योसेफ तेरो साथमा रहनेछ।”
5याकूब बेर्शेबाबाट हिँडे। उनका छोराहरूले बुबा, स-साना छोरा-छोरीहरू र आफ्ना पत्नीहरूलाई मिश्रबाट राजाले पठाएका गाडाहरूमा चढाए। 6#प्रेरित 7:15गाई-वस्तु र कनानमा कमाएका सम्पत्तिहरू साथ लिएर तिनीहरू मिश्रमा गए। याकूबले आफ्ना सबै छोरा-नातिहरूलाई आफूसँग लगे, 7छोराहरू, नातिहरू, छोरीहरू र नातिनीहरू तिनीसँग गए।
8याकूबसित मिश्रमा जाने उनका परिवारका मानिसहरू यिनीहरू थिए– जेठा छोरा रूबेन 9र रूबेनका छोराहरू हानोक, पल्लु, हेस्रोन र कर्मी। 10शिमियोन र तिनका छोराहरू यमूएल, यामीन, ओहद, याकीन, सोहोर र कनानी स्वास्नीपट्टिको शौल। 11लेवी र तिनका छोराहरू गेर्शोन, कहात र मरारी। 12यहूदा र तिनका छोराहरू शेलह, फारेस र जेरह। (यहूदाका अरू छोराहरू– एर् र ओनान कनानमा मरिसकेका थिए।) फारेसका छोराहरू हेस्रोन र हामूल। 13इस्साखार र तिनका छोराहरू तोला, पुवा, याशूब र शिम्रोन। 14जबूलून र तिनका छोराहरू सेरेद, एलोन र यहलेल। 15लेआले पद्दन-आराममा याकूबबाट जन्माएका छोराहरू यी नै हुन्। त्यसबाहेक एउटी छोरी दीना थिई। लेआबाट भएका उनका सन्तानहरू जम्मा तेत्तीस जना थिए।
16गाद र तिनका छोराहरू सेफोन, हाग्यी, शूनी, यसबोन, एरी, अरोदी र अरेली। 17आशेर र तिनका छोराहरू यिम्ना, यिश्वा, यिश्वी र बरीआ र तिनीहरूको बहिनी सेरह। बरीआका छोराहरू हेबेर र मल्कीएल थिए। 18यी सोह्र जना याकूबबाट जिल्पाले जन्माएकाहरू हुन्। जिल्पालाई लाबानले आफ्नी छोरी लेआको लागि कमारी हुन दिएका थिए।
19याकूबकी स्वास्नी राहेलले दुई छोराहरू योसेफ र बेन्यामीनलाई जन्माइन्। 20#उत्पत्ति 41:50-52योसेफको मिश्रमा दुई छोराहरू मनश्शे र एफ्राइम आसनततर्फबाट जन्मे। आसनत ओनका पूजाहारी पोतिपेराकी छोरी थिइन्। 21बेन्यामीनका छोराहरू बेला, बेकेर, अश्बेल, गेरा, नामान, एही, रोश, मुप्पीम, हुप्पीम र आर्द। 22राहेलबाट भएका याकूबका सन्तान यी चौध जना हुन्।
23दान र तिनका छोरा हुशीम। 24नप्ताली र तिनका छोराहरू यहसेल, गुनी, येसेर र शिल्लेम। 25यी सात जना याकूबका बिल्हाबाट जन्मेका सन्तान थिए। बिल्हालाई लाबानले आफ्नी छोरी राहेलको लागि कमारी हुन दिएका थिए।
26याकूबको साथमा मिश्रमा जाने उनका निज सन्तान, बुहारीहरू छोडेर जम्मा छयसट्ठी जना थिए। 27#प्रेरित 7:14मिश्रमा जन्मेका योसेफका दुई छोराहरू थिए। यसरी मिश्रमा जाने याकूबको परिवारका जम्मा सत्तरी जना भए।
याकूब परिवारसहित मिश्रमा
28गोशेनमा मलाई भेट्न आओस् भनी खबर दिन याकूबले यहूदालाई आफ्नो अघि योसेफकहाँ पठाए। 29योसेफ आफ्नो रथमा चढेर बुबालाई भेट्न गोशेनमा गए। भेट भएपछि योसेफले आफ्ना दुवै हातले बुबाको गलामा अँगालो हालेर धेरै बेरसम्म रोइरहे। 30याकूबले योसेफलाई भने, “अब मैले तेरो मुख हेर्न पाएँ र तँ जिउँदै रहेछस् भनी जानें। म सन्तोषसित मर्न तयार छु।”
31तब योसेफले आफ्ना दाजु-भाइहरू र बुबाका परिवारका अरूलाई भने, “मैले गएर राजालाई मेरा दाजुभाइहरू र कनानमा बास गर्ने मेरा बुबाको परिवार यहाँ मकहाँ आएका छन् भनी सुनाउनुपर्नेछ। 32म राजालाई भन्नेछु कि तिमीहरू गोठालाहरू हौ र गाई-गोरु र आफ्ना अरू चीजबीजहरू जम्मै लिएर आएका छौ। 33राजाले आएर तिमीहरू के काम गर्छौ भनी सोध्दा 34तिमीहरूले भन्नू कि हामीले आफ्ना पिता-पुर्खाले जस्तो जीवनभरि गाई-वस्तु स्याहारेर बसेका छौं। त्यसो गर्दा राजाले तिमीहरूलाई गोशेनमा बास गर्न दिनेछन्।” मिश्रीहरूले गोठालाहरूसित केही सम्बन्ध गर्न चाहँदैनन् भनी जानेर योसेफले त्यसो भनेका थिए।
अहिले सेलेक्ट गरिएको:
उत्पत्ति 46: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.