YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 45:1-8

उत्‍पत्ति 45:1-8 सरल नेपाली

योसेफले मन थाम्‍न सकेनन्। आफ्‍ना चाकरहरूको अघि आफूलाई सम्‍हाल्‍न सकेनन् र तिनीहरूलाई बिदा गरे। म योसेफ हुँ भनी आफूलाई प्रकट गर्दा योसेफसित आफ्‍ना दाजुभाइहरूबाहेक अरू कोही थिएन। उनी यति ठूलो सोरले रोए कि मिश्रीहरूले पनि सुने र राजाको दरबारमा पनि त्‍यो खबर पुग्‍यो। योसेफले आफ्‍ना दाजुभाइहरूलाई भने, “म योसेफ हुँ।” के मेरा बुबा अझै जिउँदै छन्? तिनको कुरा सुनेर योसेफका दाजुभाइहरू यस्‍तो हड्बडाए कि तिनीहरूले केही पनि बोल्‍न सकेनन्। तब योसेफले तिनीहरूलाई भने, “कृपा गरी मेरो नजिक आओ।” तिनीहरू उनको नजिक गए। उनले भने, “म तिमीहरूको भाइ योसेफ हुँ, जसलाई तिमीहरूले मिश्रमा बेचेका थियौ। मलाई बेच्‍यौ भनेर अब सुर्ता नगर र आफूलाई अपराधी नठान। वास्‍तवमा परमेश्‍वरले मलाई तिमीहरूको अघि नै मानिसहरूको प्राण बचाउनलाई यहाँ पठाउनुभएको हो। देशमा परेको अनिकालको यो दोस्रो वर्ष मात्र हो। अरू पाँच वर्ष बाँकी छ, जब कहीँ हलो जोत्‍न सकिनेछैन न अन्‍नको कटनी हुन सक्‍छ। यस्‍तो उदेक तरिकाले तिमीहरूलाई बचाउन र तिमीहरू र तिमीहरूका सन्‍तानको प्राण जोगाउन परमेश्‍वरले मलाई पहिले नै पठाउनुभयो र मलाई यहाँ पठाउने खासमा तिमीहरू होइनौ तर परमेश्‍वर नै हुनुहुन्‍छ। उहाँले मलाई राजाको सबैभन्दा ठूलो कर्मचारी बनाउनुभएको छ। म यो सारा देशमाथि हाकिम खटाइएको छु। म सम्‍पूर्ण मिश्रदेशको शासक बनेको छु।

उत्‍पत्ति 45 पढ्नुहोस्