YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 26:17-35

उत्‍पत्ति 26:17-35 सरल नेपाली

तब इसहाक त्‍यहाँबाट हिँडे र गरार बेसीमा पाल हालेर त्‍यहाँ केही समयसम्‍म बास गरे। अब्राहामको समयमा खनेका र उनको मृत्‍युपछि पलिश्‍तीहरूले बन्‍द गरिदिएका इनारहरू फेरि इसहाकले खन्‍न लाए। उनले ती इनारहरूका नाम आफ्‍ना बुबाले पहिला राखेकै नामहरू राखे। इसहाकका चाकरहरूले त्‍यहाँ बेसीमा एउटा इनार खने र पानी भेट्टाए। गरारका गोठालाहरूले इसहाकका गोठालाहरूसँग झगडा गरे र यसो भने, “यो पानी हाम्रो हो।” यसैले इसहाकले त्‍यस इनारको नाम एसेक राखे किनभने उनीहरूले तिनीहरूसँग झगडा गरेका थिए। इसहाकका नोकरहरूले अर्को एउटा इनार खने र त्‍यसबारे पनि झगडा भयो। उनले त्‍यसको नाम सित्‍ना राखे। उनी त्‍यहाँबाट सरेर गए र अर्को एउटा इनार खने। त्‍यसबारे भने झगडा भएन र उनले त्‍यसको नाम ‘रहोबोत’ (खुला) राखे। उनले भने, “अब परमप्रभुले हामीलाई यस ठाउँमा बस्‍न छुट दिनुभएको छ र यहाँ हाम्रो फलिफाप हुनेछ।” त्‍यहाँबाट सरेर इसहाक बेर्शेबा गए। त्‍यस रात परमप्रभु उनीकहाँ देखा पर्नुभयो र भन्‍नुभयो, “म तेरो बुबा अब्राहामको परमेश्‍वर हुँ। नडरा, म तँसँग छु। मेरो दास अब्राहामसित मैले गरेका प्रतिज्ञाअनुसार म तँलाई आशिष् दिनेछु र धेरै सन्‍तानहरू दिनेछु।” त्‍यहाँ इसहाकले एउटा वेदी बनाए र परमप्रभुको भक्ति गरे। अनि त्‍यहाँ उनले आफ्‍ना पाल हाले र उनका नोकरहरूले अर्को एउटा इनार खने। आफ्‍ना सल्‍लाहकार अहुज्‍जत र सेनापति पीकोललाई साथमा लिएर गरारबाट अबीमेलेक इसहाकलाई भेट्‍न आए। तब इसहाकले सोधे, “पहिले दुश्‍मनी गरेर देशबाट निकाल्‍नुभयो, अहिलेचाहिँ किन भेट्‍न आउनुभयो?” तिनीहरूले उत्तर दिए, “अब हामीले देख्‍यौं कि परमप्रभु तिमीसित हुनुहुन्‍छ र हाम्रो माझमा एउटा गम्‍भीर सम्‍झौता हुनुपर्छ। जसरी हामीले तिमीलाई केही हानि गरेनौं, त्‍यसरी नै तिमीले पनि हाम्रो हानि नगर्न तिमीले हामीसित प्रतिज्ञा गरेको हामी चाहन्‍छौं। हामीले दया गरी तिमीलाई शान्‍तिसित बिदा गर्‍यौं। अब यो पनि छर्लङ्ग भएको छ कि परमप्रभुले तिमीलाई आशिष् दिनुभएको छ।” इसहाकले तिनीहरूका लागि भोजन तयार गरे, तिनीहरूले खाए र पिए। भोलिपल्‍ट बिहान सबेरै दुवैले आ-आफ्‍ना प्रतिज्ञा गरे र शपथ खाएर पक्‍का गरे। इसहाकले तिनीहरूलाई बिदा गरे। तिनीहरू साथी-साथी भई छुट्टिए। त्‍यही दिन उनका नोकरहरूले आएर तिनीहरूले खनेका इनारबारे इसहाकलाई बताए। तिनीहरूले भने, “हामीले पानी भेट्टाएका छौं।” तब उनले त्‍यस इनारको नाम शिबा राखे। यसरी बेर्शेबा सहरका नाम राखिएको हो। एसावले ४० वर्ष पुग्‍दा दुइटी हित्ती केटीहरूलाई विवाह गरे। एउटीको नाम यहूदीत र अर्कीको नाम बासमत थियो। यहूदीत बेरीको छोरी अनि बासमत एलोनकी छोरी थिए। ती केटीहरूले गर्दा इसहाक र रिबेकाको जीवन दु:खित भयो।

उत्‍पत्ति 26 पढ्नुहोस्