YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 24:1-16

उत्‍पत्ति 24:1-16 सरल नेपाली

अब्राहाम अब अति बुढा भएका थिए अनि उनले गरेका सबै काममा परमप्रभुले उनलाई आशिष् दिनुभएको थियो। आफ्‍ना सम्‍पूर्ण घरसम्‍पत्तिको जिम्‍मा लिएका आफ्‍ना सबैभन्दा पुराना चाकरलाई उनले भने, “तेरो हात मेरो तिघ्राका बीचमा राखेर एउटा शपथ खा। म यो चाहन्‍छु कि परमप्रभु स्‍वर्ग र पृथ्‍वीका परमेश्‍वरका नाउँमा तैँले मेरो छोराको निम्‍ति यहाँ कनान देशमा पत्‍नी ‘खोज्‍दिनँ’ भनी शपथ खा। तँ म जन्‍मेको देशमा फर्की जानुपर्छ र मेरो कुटुम्‍बका बीचबाट मेरो छोरा इसहाकका लागि एउटी पत्‍नी खोज्‍नुपर्छ।” तर त्‍यस चाकरले सोध्‍यो, “आफ्‍ना घर छोडी मसँग यहाँ आउन केटीले मानिन भने कसो गर्नु? के मैले तपाईं जन्‍मेको देशमा तपाईंका छोरालाई फर्काई पठाइदिनुपर्ने हो?” अब्राहामले उत्तर दिए, “होशियार गर्‌। मेरो छोरोलाई त्‍यहाँ फकाई पठाउनेछैनस्। परमप्रभु स्‍वर्गका परमेश्‍वरले मलाई मेरा बुबाका घर र कुटुम्‍बको देशदेखि ल्याउनुभयो। यो देश मेरो सन्‍तानलाई दिन्‍छु भनी उहाँले मसित गम्‍भीर प्रतिज्ञा गर्नुभएको छ। उहाँले आफ्‍ना दूतलाई तेरो अघि-अघि पठाउनुहुनेछ र त्‍यहाँ तैँले मेरो छोरोको लागि एउटी पत्‍नी भेट्टाउनेछस्। केटी तँसित आउन मानिन भने तैँले यो प्रतिज्ञा नगरेको सरह हुनेछ। तर कुनै हालतमा पनि तैँले मेरो छोरोलाई त्‍यहाँ फर्काइलान पाउनेछैनस्।” यसरी त्‍यस चाकरले आफ्‍ना मालिक अब्राहामका तिघ्राबीच आफ्‍ना हात राख्‍यो र अब्राहामले भनेअनुसार गर्न शपथ खायो। अब्राहामको घरसम्‍पत्ति जिम्‍मा लिएको त्‍यस चाकरले मालिकका दश वटा ऊँटहरू लियो र मेसोपोटामिया देशको उत्तरमा नाहोरको देशको सहरमा गयो। त्‍यहाँ पुगेर सहरबाहिर भएको एउटा इनारछेउ त्‍यसले ऊँटहरूलाई बिसायो। साँझ पर्ने बेला स्‍त्रीहरू पानी भर्न आउने बेला भएको थियो। त्‍यसले प्रार्थना गर्‍यो, “हे परमप्रभु, मेरो मालिक अब्राहामका परमेश्‍वर, आज मेरो काम सफल गराइदिनुहोस् र मेरो मालिकसित गरेका तपाईंको प्रतिज्ञा पूरा गर्नुहोस्। म यहाँ यो इनारमा छु। सहरका युवतीहरू यहाँ पानी लिन आउनेछन्। म एउटीलाई भन्‍नेछु, ‘तिम्रो गाग्री भरेर मलाई पानी पिउन देऊ।’ त्‍यसले ‘तपाईं पिउनुहोस्, तपाईंका ऊँटहरूलाई पनि म पानी दिनेछु’ भनी भनिछ भने त्‍यही केटी तपाईंका दास इसहाकका निम्‍ति तपाईंले चुनिदिनुभएको केटी हो भनी म सम्‍झन्‍छु। त्‍यसो भयो भने तपाईंले मेरा मालिकसित आफ्‍नो प्रतिज्ञा पूरा गर्न सक्‍नुहुन्‍छ भनी म बुझ्‍छु।” त्‍यसले प्रार्थना गरिसक्‍नुअघि काँधमा गाग्री बोकेर त्‍यहाँ रिबेका आइपुगिन्‌। तिनी बतूएलकी छोरी थिइन्‌। बतूएल अब्राहामका भाइ नाहोर र तिनकी स्‍वास्‍नी मिल्‍काका छोरी थिइ। रिबेका अति सुन्‍दरी केटी थिइन्‌। तिनी इनारमा गइन्‌, आफ्‍नो गाग्री भरी फर्किन लागिन्‌।

उत्‍पत्ति 24 पढ्नुहोस्