YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 19:12-29

उत्‍पत्ति 19:12-29 सरल नेपाली

ती दुई मानिसहरूले लोतलाई भने, “यदि यहाँ तिम्रा अरू कोही छन् भने, यस सहरमा तिम्रा छोरा-छोरी, जुवाइँ वा अरू कोही नातेदारहरू छन् भने तिनीहरू सबैलाई यहाँबाट निकालिहाल किनभने हामी यस ठाउँलाई नाश पार्नेछौं। परमप्रभुले यी मानिसहरूका विरुद्धमा लगाएका डरलाग्‍दा दोषहरूका बारेमा सुन्‍नुभएको छ र हामीलाई सदोम सहर नाश गर्न पठाउनुभएको छ।” तब लोत आफ्‍ना छोरीहरूलाई विवाह गर्न माग्‍ने पुरुषहरूकहाँ गए र भने, “चाँडो गर र यहाँबाट निस्‍किहाल। परमप्रभुले यस ठाउँलाई नाश पार्नुहुनेछ।” तर लोतले ठट्टा गरेका होलान्‌ भनी तिनीहरूले सोचे। मिरमिरे उज्‍यालो हुँदा ती स्‍वर्गदूतहरूले लोतलाई हतार गर्न लाए। तिनीहरूले भने “छिटो गर, तिम्री स्‍वास्‍नी र तिम्रा दुई छोरीहरूलाई साथमा लिई तिमी गइहाल। त्‍यसो भए, सहर नाश हुँदा तिमीहरूको ज्‍यानचाहिँ जानेछैन।” लोतले आले-टाले गरिरहे। तर परमप्रभुले उनलाई टिठ्याउनुभयो, यसकारण ती दुई मानिसहरूले तिनका, तिनकी स्‍वास्‍नीका र दुई छोरीहरूका हात समाती तानेर तिनीहरूलाई सहरदेखि बाहिर ल्‍याइदिए। तब एउटा दूतले भने, “ज्‍यान बचाउन दगुर। पछि फर्केर नहेर्नू अनि बेसीमा नअडिनू। दगुरेर पहाडतिर भाग र मात्र तिमीहरू मर्नेछैनौ।” तर लोतले जवाफ दिए, “होइन, हजुर, दया गरी त्‍यसो गर्न भनी हामीलाई नभन्‍नुहोस्। तपाईंहरूले ममाथि ठूलो कृपा गरेर ज्‍यान बचाइदिनुभयो। तर ती पहाडहरू धेरै टाढा छन्, यस विपत्तिले मलाई भेट्टाउनेछ र त्‍यहाँ पुग्‍नुभन्दा अघि नै मेरो ज्‍यान जानेछ। ऊ त्‍यो सहर देख्‍दै हुनुहुन्‍छ? (त्‍यो नजिकपर्छ।) मलाई त्‍यहीँ जान दिनुहोस्। त्‍यो एउटा सानो ठाउँ हो भनी देखिन्‍छ अनि म त्‍यहाँ कुशलसाथ रहनेछु।” उनले भने, “ठीक छ, हुन्‍छ। म त्‍यो सहर नाश गर्दिनँ। चाँडो गर, दगुर, तिमीहरू त्‍यहाँ नपुगुञ्‍जेल म केही गर्न सक्‍दिनँ।” लोतले त्‍यस सहरलाई सानो छ भनेको हुनाले त्‍यसको नाम सोअर राखियो। लोत सोअर पुग्‍दा घाम झुल्‍कँदैथ्‍यो। अचानक परमप्रभुले सदोम र गमोरा सहरमाथि गन्‍धकको आगो बर्साउनुभयो। ती सहरहरू, त्‍यहाँका सम्‍पूर्ण बेसी, त्‍यहाँ भएका सबै मानिसहरू र त्‍यहाँ उम्रेका सबै थोकहरूसमेत परमप्रभुले नाश पार्नुभयो। तर लोतकी स्‍वास्‍नीले पछि फर्केर हेरी र नुनको थाम भइहाली। भोलिपल्‍ट बिहानै अब्राहाम त्‍यस ठाउँमा हतार-हतार गए, जहाँ तिनी परमप्रभुको सामु उभिएका थिए। उनले मुन्‍तिर सदोम र गमोरालाई र सम्‍पूर्ण बेसीलाई हेरे र त्‍यहाँबाट धुवाँ ठूलो आगोको भट्टिको धुवाँजस्‍तै उँभो उठिरहेको देखे। तर परमेश्‍वरले लोतले बास गरेका बेसीमा ती सहरहरू नाश पार्नुहुँदा उहाँले अब्राहामलाई सम्‍झनुभयो र लोतलाई कुशल ठाउँमा जान दिनुभयो।

उत्‍पत्ति 19 पढ्नुहोस्