ती दुई मानिसहरूले लोतलाई भने, “तिमीसँग यहाँ अरू कोही छन्? जुवाइँ, कि छोराछोरीहरू, अथवा सहरमा तिम्रा अरू जो भए पनि तिनीहरूलाई लिएर यस ठाउँबाट निस्केर जाऊ, किनभने हामी यस ठाउँलाई नष्ट पार्नेछौं, किनकि यहाँका मानिसहरूका विरुद्धमा उठेको आवाज परमप्रभुको अगि यति ठूलो भएको छ कि यस सहरलाई सर्वनाश गर्न परमप्रभुले हामीलाई पठाउनुभएको छ।”
यसैकारण आफ्ना छोरीहरूलाई विवाह गर्न माग्ने जुवाइँहरूकहाँ गएर लोतले भने, “उठ, यस ठाउँबाट गइहालौं, किनभने परमप्रभुले यो सहर नष्ट पार्नुहुनेछ।” तर जुवाइँहरूलाई त तिनले ठट्टा गरेजस्तो लाग्यो।
उज्यालो हुन लाग्दा ती दूतहरूले लोतलाई यसो भनेर आतुरी लाए, “उठ, तिम्री पत्नी र यहाँ भएका तिम्रा दुई छोरीहरूलाई लिएर गइहाल, नत्रता यस सहरले पाउने सजायमा तिमी पनि भस्म हुनेछौ।”
जब तिनले आलटाल गरिरहे, तब ती मानिसहरूले तिनका, तिनकी पत्नीका र दुवै छोरीहरूका हात समातेर सहरबाहिर ल्याए। किनभने परमप्रभुको दया तिनीहरूमाथि थियो। तिनीहरूलाई बाहिर ल्याएपछि उनीहरूमा एक जनाले भने, “आफ्नो ज्यान जोगाउनलाई भाग, फर्केर पछाड़ि नहेर, र बेँसीमा कतै पनि नअड़िनू, तर पहाड़तिर भाग, नत्रता तिमीहरू भस्म हुनेछौ।”
तब लोतले उनीहरूलाई भने, “हजूर हो, त्यसो नहोस्। हेर्नुहोस्, तपाईंहरूको दासले तपाईंहरूको अनुग्रह पाएको छ, र मेरो प्राण बचाएर तपाईंहरूले मलाई ठूलो करुणा देखाउनुभएको छ। म पहाड़तिर भाग्न सक्दिनँ, नत्रता यस विपत्तिमा परेर म मर्नेछु। हेर्नुहोस्, ऊ त्यो सहर भाग्नलाई नजिकै छ, र त्यो सानो पनि छ। मलाई त्यहीँ नै भाग्न दिनुहोस्— त्यो साह्रै सानो छैन र? त्यहाँ गए मेरो प्राण बाँच्ला।”
उनले तिनलाई भने, “हेर, यस विषयमा मैले तेरो बिन्ती ग्रहण गरें। तैंले भनेको सहरलाई चाहिँ म भस्म गर्नेछैनँ। चाँड़ो गरेर त्यहीँ नै भागिजा, किनकि तँ त्यहाँ नपुगुञ्जेल म केही गर्न सक्दिनँ।” (यसैले त्यस सहरको नाउँ सोअर राखियो।)
लोत सोअरमा पुग्दा सूर्य उदाइसकेको थियो। तब परमप्रभुले सदोम र गमोरामाथि आकाशबाट आगो र गन्धक बर्साउनुभयो। यसरी उहाँले ती सहरहरू र जम्मै बेँसी र सहरहरूका सबै बासिन्दाहरू र जमिनमा उम्रेका सबै थोक सर्वनाश गरिदिनुभयो। तर लोतकी पत्नीले पछाड़ि फर्केर हेरिन्, र तिनी नूनको थाम भइहालिन्।
अब्राहाम सबेरै उठेर तिनी परमप्रभुको सामु उभिएको ठाउँमा गए। तिनले तल सदोम, गमोरा र बेँसीका सबै जग्गातिर हेरे। र त्यस ठाउँबाट धूवाँ भट्टीको धूवाँजस्तै मास्तिर उठिरहेको तिनले देखे।
यसरी बेँसीका सहरहरू सर्वनाश गर्नुहुँदा परमेश्वरले अब्राहामलाई सम्झनुभयो। लोत बसेको सहरलाई उहाँले नष्ट पार्नुहुँदा त्यस सर्वनाशको बीचबाट लोतलाई निकाल्नुभयो।