इजकिएल 6
6
मूर्तिपूजामाथि परमप्रभुको दण्ड
1परमप्रभुले मलाई भन्नुभयो, 2“ए मरणशील मानिस, इस्राएलका डाँडाहरूतिर हेर् र तिनीहरूलाई मेरो सन्देश सुना। 3ती डाँडाहरूलाई परमप्रभुको वचन सुन्नू भन्, म सार्वभौम परमप्रभुले डाँडा-काँडा, खोँच र बेसीहरूलाई के भन्दै छु, त्यो सुन्न लगा। मानिसहरूले मूर्ति पुज्ने गरेका ठाउँहरू नाश पार्न म तरवार पठाउनेछु। 4पूजाका वेदीहरू ढालिनेछन् र धूप-वेदीहरू भत्काइनेछन्। त्यहाँ भएका सबै मानिसहरू आफ्ना मूर्तिहरूका सामुन्ने मारिनेछन्। 5इस्राएलका मानिसहरूका लाश ती मूर्तिहरूको अघि राखिदिनेछु र तिनीहरूका हड्डीहरू वेदीहरूका चारैपट्टि छरिदिनेछु। 6इस्राएलका सम्पूर्ण सहरहरू नाश हुनेछन् र तिनीहरूका पूजा-स्थलहरू, वेदीहरू र मूर्तिहरू चकनाचुर पारिनेछन्, धूप-वेदीहरू धूलोपीठो हुनेछन् र तिनीहरूले बनाएका सबै थोक लोप हुनेछन्। 7जताततै मानिसहरू मारिनेछन् र जीवित रहेकाहरूले चाहिँ म परमप्रभु हुँ भनी स्वीकार गर्नेछन्।
8“तिनीहरूमध्ये कतिलाई म विनाशबाट बचाउनेछु र तिनीहरूलाई जाति-जातिका बीचमा छरपस्ट पारिदिनेछु। 9तिनीहरू देशनिकाला भई त्यहाँ कैदमा रहनेछन्। त्यहाँ तिनीहरूले मलाई सम्झनेछन् र तिनीहरूलाई दण्ड दिने र बदनाम गराउने म नै हुँ भनी थाहा पाउनेछन् किनभने तिनीहरूका विश्वासघाती हृदयले मलाई त्यागे र तिनीहरूले मेरो सट्टामा मूर्तिहरू रुचाए। आफूले गरेका दुष्ट र पतन गराउने कामहरूले गर्दा तिनीहरूलाई आफैंसित पनि घृणा हुनेछ। 10म नै परमप्रभु हुँ र मैले दिएका चेतावनीहरू खोक्रा हप्की थिएनन् भनी तिनीहरूले बुझ्नेछन्।”
11सार्वभौम परमप्रभुले भन्नुभयो, “तिमीहरूका हात-खुट्टा बजार! इस्राएलीहरूले गरेका दुष्ट र घिनलाग्दा कामहरूका कारणले गर्दा अफसोस गरेर रोओ। तिनीहरू लडाइँ, अनिकाल र रुढीमा मर्नेछन्। 12टाढामा भएकाहरू रोग लागेर मर्नेछन्, नजिकमा भएकाहरू लडाइँमा मारिनेछन् र तीबाट बाँच्नेहरू भोकले मर्नेछन्। मेरो क्रोधको प्रभाव तिनीहरूले थाहा पाउनेछन्। 13लाशहरूचाहिँ मूर्तिहरूका बीचमा, वेदीहरूका चारैतिर, हरेक अग्ला डाँडाहरूमाथि, हरेक पहाडको टुप्पोमा, हरेक हरियो रूख र ठूलो फलाँटको रूखमुनि र तिनीहरूले आफ्ना मूर्तिहरूलाई बलि चढाएको हरेक स्थानमा छरपष्ट भई छरिनेछन्। तब म नै परमप्रभु हुँ भनी सबैले जान्नेछन्। 14अँ, म आफ्नो हात उठाएर तिनीहरूको देश नाश गर्नेछु। म त्यस देशलाई दक्षिणको उजाड भूमिदेखि उत्तरको दिब्ला सहरसम्म ध्वस्त पार्नेछु र इस्राएलीहरूले बास गरेका कुनै ठाउँ बाँकी राख्नेछैनँ। तब म नै परमप्रभु हुँ भनी सबैले जान्नेछन्।”
अहिले सेलेक्ट गरिएको:
इजकिएल 6: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.