इजकिएल 18
18
आ-आफ्ना जिम्मेवारी
1-2 #
यर्मिया 31:29
परमप्रभु मसित बोल्नुभयो र भन्नुभयो, “इस्राएलमा मानिसहरूलाई घरीघरी दोहोर्याएर भन्ने गरेको यो उखान के हो?
‘अमिलो अङ्गुर बुबाहरूले खाने,
छोरा-छोरीको दाँत कुँडिने।’
3“म सार्वभौम परमप्रभु जीवित परमेश्वर छु भन्ने स्वयम् साक्षी राखी भन्दछु, यो उखान इस्राएलमा फेरि कहिल्यै दोहोर्याइनेछैन। 4आमा-बुबा, छोरा-छोरी सबैको प्राण मेरै हातमा छ। जुन प्राणीले पाप गर्छ, त्यही मर्नेछ।
5“मानिलिऊँ एक जना धर्मी, इमानदार र असल मानिस छ। 6त्यसले इस्राएलीहरूका देवताहरू पुज्दैन र मनाही गरेका पूजा-स्थलमा चढाएको प्रसाद खाँदैन, अर्काकी स्वास्नी भ्रष्ट पार्दैन वा मासिक धर्म भएकी स्त्रीकहाँ जाँदैन। 7त्यसले कसैको अत्याचार गर्दैन र लुट्दैन। त्योसित बन्धकी राखेर सापटी लिएको कुरा त्यसले फर्काइदिनेछ, भोकालाई खुवाउँछ र नाङ्गालाई लुगा दिन्छ। 8त्यसले ब्याजमा ऋण दिंदैन। त्यसले खराबी गर्न इन्कार गर्छ र मुद्दामा उचित फैसला दिन्छ। 9#लेवी 18:5त्यस्तो मानिसले मेरो आज्ञा मान्दछ र मेरा नियमहरू होशियारसाथ पालन गर्दछ। त्यो धर्मी हो र त्यो निश्चय बाँच्नेछ।” सार्वभौम परमप्रभु यसो भन्नुहुन्छ।
10-11“मानिलिऊँ त्यस मानिसको एउटा छोरो छ र त्यसले चोरी र हत्या गर्छ र बुबाचाहिँ ले कहिल्यै नगरेका नराम्रा कामहरू गर्छ। मनाही गरेका पूजास्थलमा चढाएको प्रसाद खान्छ र अर्काकी स्वास्नीलाई भ्रष्ट पार्छ। 12त्यसले गरीबलाई अत्याचार गर्छ, लुट्छ, त्योसित सापटी लिनेले बन्धकी राखेको कुरो फर्काउँदैन। त्यो मूर्तिपूजा गर्ने पूजास्थलमा जान्छ, घिनलाग्दा मूर्तिहरू पुज्छ, 13ब्याजमा ऋण दिन्छ। के त्यो बाँच्छ? अँहँ, त्यो बाँच्नेछैन। त्यसले ती सबै घिनलाग्दा कामहरू गरेको हुनाले त्यो मर्नेछ। त्यसको मृत्युको लागि त्यो आफैं दोषी छ।
14“अब मानिलिऊँ छोरोचाहिँ को पनि एउटा छोरो जन्म्यो। त्यसले बुबाले गरेका सबै पाप देख्छ र पनि बुबाको चालमा चल्दैन। 15त्यसले इस्राएलीहरूका मूर्तिहरू पुज्दैन र मनाही गरेका पूजास्थलमा चढाएका प्रसाद खाँदैन र अर्काकी स्वास्नी भ्रष्ट पार्दैन। 16त्यसले कसैमाथि अत्याचार गर्दैन, कसैको लुट्दैन र आफूबाट सापटी लिनेले बन्धकी राखेको कुरो फर्काइदिन्छ, भोकालाई खुवाउँछ र नाङ्गालाई लुगा दिन्छ। 17त्यसले खराबी गर्न इन्कार गर्छ, ब्याजमा ऋण दिंदैन। मेरो आज्ञापालन गर्छ र मेरा नियमहरू मान्दछ। त्यसका बुबाको पापको कारणले गर्दा त्यो मर्नेछैन तर त्यो निश्चय बाँच्नेछ। 18तर त्यसको बुबाले भने सधैँ ठग्यो र चोरी गर्यो अनि सबैलाई खराबी गर्यो। त्यसकारण त्यसको बुबाचाहिँ आफ्नो पापले गर्दा मर्नेछ।
19“तर तँ प्रश्न गर्दछस्, ‘बुबाचाहिँ को पापले गर्दा छोरोले किन कष्ट नभोग्ने?’ त्यसको उत्तर यो हो: छोरोले ठीक र असल मात्र गर्यो। त्यसले मेरा सबै नियमहरू मान्यो र होशियारसित पालन गर्यो भने त्यो निश्चय बाँच्नेछ। 20#व्यवस्था 24:16जसले पाप गर्छ, त्यही मर्छ। बुबाका पापले गर्दा छोरोले कष्ट भोग्नेछैन न त छोरोको पापले बुबालाई पिराउँछ, भलो मानिसलाई उसको भलाइले नै असल इनाम दिन्छ र दुष्ट मानिसलाई त्यसको खराबीले नै पिराउँछ।
21“कुनै दुष्ट मानिसले पाप गर्न छोडेर मेरो नियम मान्न थाल्यो र जे असल र उचित छ, त्यो गर्न थाल्यो भने त्यो मर्नेछैन। त्यो निश्चय बाँच्नेछ। 22त्यसका सबै पाप क्षमा हुनेछ र त्यो बाँच्नेछ किनभने त्यसले जे उचित छ, त्यही गरेको छ। 23एउटा दुष्ट मानिस मर्दा म रमाउँछु र?” यसरी सार्वभौम परमप्रभु सोध्नुहुन्छ, “होइन, म त त्यसले पश्चात्ताप गरी बाँचेको हेर्न चाहन्छु।
24“तर यदि एउटा धर्मी मानिसले भलाइ गर्न छोड्यो, सबै खराबी गर्न थाल्यो र दुष्ट मानिसले गर्ने घिनलाग्दा कामहरू गर्न थाल्यो भने के त्यसले बाँचिरहन पाउला र? अँहँ, त्यसो हुन्न, त्यसले गरेका कुनै पनि असल कामको सम्झना गरिनेछैन। त्यसको अविश्वास र पापको कारणले त्यो मर्नेछ।
25“तर तँ भन्लास्, ‘प्रभुले जे गर्नुहुन्छ, त्यो उचित छैन।’ ए इस्राएलीहरू हो, मेरो कुरा सुन, के मेरो काम ठीक छैन भन्ठान्छौ? तिमीहरूको काम पो ठीक छैन। 26जब एउटा धर्मी मानिसले भलाइ गर्न छोडेर पाप गर्न थाल्छ, त्यो मर्नेछ, त्यो आफूले गरेको पापले गर्दा मर्नेछ। 27जब एउटा दुष्ट मानिसले पापबाट फर्केर ठीक र उचित काम गर्दछ, त्यसले आफ्नो प्राण बचाउँनेछ। 28आफूले पाप गरेको चाल पाएर पापबाट फर्कन्छ, त्यो निश्चय मर्नेछैन तर बाँचिरहनेछ। 29तर तिमी इस्राएलीहरूचाहिँ भन्दछौ, ‘प्रभुले जे गर्नुहुन्छ, त्यो उचित छैन।’ मेरो काम ठीक छैन भन्ठान्छौ, होइन? तर तिमीहरूको काम पो ठीक छैन।
30“अब म सार्वभौम परमप्रभु तिमी इस्राएलीहरूलाई भन्दै छु कि म तिमीहरू हरेकलाई तिम्रा कामअनुसार न्याय गर्नेछु। तिमीहरूले गरिरहेका दुष्ट कामहरूबाट फर्केर आओ नत्र तिमीहरू आफ्ना पापमा नाश हुनेछौ। 31ए इस्राएलीहरू हो, किन तिमीहरू नाश हुन चाहन्छौ? आफूले गरिरहेका खराबीहरू छोड अनि नयाँ मन र नयाँ हृदय लेओ। 32कोही नाश भएको म चाहन्नँ,” सार्वभौम परमप्रभु भन्नुहुन्छ, “आफ्ना पापबाट फर्क र बाँच।”
अहिले सेलेक्ट गरिएको:
इजकिएल 18: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.