इजकिएल 14
14
मूर्तिपूजामाथि परमप्रभुको दण्ड
1इस्राएलीहरूका केही अगुवाहरू परमप्रभुको इच्छाबारे सोधपुछ गर्न मेरो सामुन्ने आएर बसे। 2तब परमप्रभु मसँग बोल्नुभयो, 3“ए मरणशील मानिस, यी मानिसहरूले आफ्ना हृदय मूर्तिहरूलाई दिएका छन् र पापमा फसाउने कुराहरू आफ्ना सामुन्ने राखेका छन्। के म जवाफ दिनेछु भनी तिनीहरू ठान्दछन्?
4“अब तिनीहरूसित कुरा गर् र म सार्वभौम परमप्रभुले तिनीहरूलाई के भन्दछु, त्यो सुनाइदे। आफ्नो हृदय मूर्तिहरूलाई दिने र तीबाट पापमा फस्ने र त्यसपछि अगमवक्तासित सोधपुछ गर्न आउने हरेक इस्राएलीले मबाट जवाफ पाउनेछ। त्यो जवाफचाहिँ मूर्तिपूजा गरेअनुसार हुनेछ! 5ती सबै मूर्तिहरूको कारणले इस्राएलीहरू मबाट टाढा भएका छन्। तर मेरो जवाफद्वारा म तिनीहरूको भक्ति मतिर फर्काउनेछु।
6“त अब म सार्वभौम परमप्रभुले इस्राएलीहरूलाई के भन्दछु, त्यो तिनीहरूलाई सुना, ‘तिमीहरूका घिनलाग्दा मूर्तिहरू त्याग र फर्केर आओ।’
7“जहिले-जहिले कुनै एउटा इस्राएली वा इस्राएलीहरूका बीचमा बास गर्ने एउटा परदेशीले मबाट तर्केर मूर्तिपूजा गर्छ र त्यसपछि सोध-पुछ गर्न कुनै अगमवक्ताकहाँ जान्छ, म परमप्रभुले नै त्यसलाई जवाफ दिनेछु। 8म त्यसको विरोध गर्नेछु र त्यसलाई एउटा नमुना बनाउनेछु। म त्यसलाई मेरा प्रजाका बीचबाट हटाउनेछु र परमप्रभु म नै हुँ भनी तिमीहरू जान्नेछौ।
9“यदि कुनै अगमवक्ता धोकामा परेर झूटा अगमवाणी कहन्छ भने त्यसको कारण यो हो कि म परमप्रभुले त्यसलाई धोकामा पारेको छु। मैले नै यसको विरुद्धमा हात उठाउनेछु र इस्राएलका मानिसहरूका बीचबाट त्यसलाई हटाउनेछु। 10अगमवक्ता र त्यसको सल्लाह लिनजाने मानिस दुवैले एउटै दण्ड पाउनेछन्। 11इस्राएलीहरूले मलाई नछोडून् र पापले आफैंलाई अशुद्ध नपारून् भनी म त्यसो गर्नेछु। तिनीहरू मेरा प्रजा हुनेछन् र म तिनीहरूका परमेश्वर हुनेछु।” सार्वभौम परमप्रभु यसरी बोल्नुभएको छ।
नोआ, दानिएल र अय्यूब
12परमप्रभु मसित बोल्नुभयो र यसो भन्नुभयो, 13“ए मरणशील मानिस, यदि कुनै देशले पाप गर्यो र मप्रति अविश्वासयोग्य भयो भने म आफ्नो हात पसारेर त्यसको अन्नको भण्डार नष्ट गरिदिनेछु। म अनिकाल पठाएर मानिसहरू र पशुहरूलाई एकैनासले मार्नेछु। 14यदि, नोआ, दानिएल र अय्यूब तीन जना नै त्यहाँ बास गरेका भए पनि तिनीहरूकै प्राण मात्र बच्नेथियो।” सार्वभौम परमप्रभु बोल्नुभएको छ।
15“अथवा, मानिसहरूलाई मार्न म जङ्गली पशुहरू पठाउनेछु र देशभरि त्रास फैलनेछ। त्यसकारण त्यहाँ कोही पनि यात्रा गर्न सक्दैनन्, 16म सार्वभौम परमप्रभु जीवित परमेश्वर छु भन्ने स्वयम् साक्षी राखी भन्दछु, यदि त्यहाँ ती तीनै जना मानिसहरू भए पनि तिनीहरूले आफ्ना छोराछोरीहरूलाई बचाउन सक्नेथिएनन्, आफ्ना प्राण मात्र बचाउन सक्नेथिए तर देशचाहिँ उजाड हुनेथियो।
17“अथवा, म त्यस देशमा लडाइँ ल्याउनेछु, मानिसहरू र पशुहरू दुवैलाई नाश गर्न तरवार पठाउनेछु। 18म सार्वभौम परमप्रभु जीवित परमेश्वर हुँ भन्ने स्वयम् साक्षी राखी भन्दछु, यदि त्यहाँ ती तीनै जना मानिसहरू भए पनि तिनीहरूले आफ्ना छोराछोरीहरूलाई बचाउन सक्नेथिएनन्, आफ्ना प्राण मात्र बचाउन सक्नेथिए।
19“मैले त्यस देशमा एउटा महामारी पठाएँ र आफ्नो क्रोधमा धेरै ज्यान लिएँ अनि मानिसहरू र पशुहरू दुवैलाई मारें भने पनि, 20म सार्वभौम परमप्रभु जीवित परमेश्वर हुँ भन्ने स्वयम् साक्षी राखी भन्दछु, त्यहाँ नोआ, दानिएल र अय्यूब बास गरिरहेका भए पनि तिनीहरूले आफ्नै सन्तानलाई पनि बचाउन सक्नेथिएनन्। तिनीहरूका भलाइले आफ्नै प्राणमात्र बचाउन सक्थ्यो।”
21 #
प्रकाश 6:8
सार्वभौम परमप्रभु यसो भन्दै हुनुहुन्छ, “म यरूशलेममाथि चार वटा सबैभन्दा कठोर दण्डहरू, जस्तै: लडाइँ, अनिकाल, जङ्गली जनावर र रुढीहरू पठाउनेछु अनि मानिसहरू र पशुहरूलाई एकैनासले सखाप पार्नेछु। 22यदि कोही बाँच्यो र त्यसले आफ्नो सन्तानलाई बचाइहाल्यो भने पनि तिनीहरू तिमीहरूकहाँ आउँनेछन्। तिनीहरू कति दुष्ट रहेछन् भनी तिनीहरूलाई देख्नेछौ र त्यो देखेर मैले यरूशलेममाथि ल्याएको दण्ड ठीकै रहेछ भनी बुझेर तिमीहरूले सन्तोष गर्नेछौ। 23मैले गरेका प्रत्येक कामको पछि उचित कारण रहेछ भनी तिमीहरूले बुझ्नेछौ।” सार्वभौम परमप्रभु भन्नुहुन्छ।
अहिले सेलेक्ट गरिएको:
इजकिएल 14: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.