YouVersion लोगो
खोज आइकन

प्रस्‍थान 4:1-13

प्रस्‍थान 4:1-13 सरल नेपाली

तब मोशाले परमप्रभुलाई उत्तर दिए, “तर यदि इस्राएलीहरूले मलाई विश्‍वास गरेनन् र मेरा कुरा सुनेनन् अनि तपाईंले मलाई दर्शन दिनुभएको कुरा हुँदै होइन भनी तिनीहरूले भनेमा मैले के गर्नु?” परमप्रभुले सोध्‍नुभयो, “तेरो हातमा के छ?” तिनले भने, “लट्ठी।” परमप्रभुले भन्‍नुभयो, “त्‍यो भूइँमा फाल्।” मोशाले लट्ठी भूइँमा फ्‍याँके अनि त्‍यो साँप भयो र मोशा डरले भागे। तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “घोप्‍टेर त्‍यसको पुच्‍छर समातेर उठा।” मोशाले त्‍यसै गरे र त्‍यो हातमा लट्ठी नै भइगयो। परमप्रभुले भन्‍नुभयो, “यसो गरेर तैँले इस्राएलीहरूलाई परमप्रभु तिनीहरूका पुर्खा अब्राहाम, इसहाक र याकूबका परमेश्‍वरले तँलाई दर्शन दिनुभएको हो भनेर प्रमाण दिनेछस्।” परमप्रभुले फेरि मोशालाई भन्‍नुभयो, “तेरो हात खास्‍टोभित्र हाल्।” मोशाले त्‍यसै गरे र हात बाहिर निकाल्‍दा त्‍यो रोग लागेर हिउँजस्‍तै सेतो थोप्‍लैथोप्‍ला भएको थियो। तब परमप्रभुले भन्‍नुभयो, “तेरो हात फेरि खास्‍टोभित्र हाल्।” मोशाले त्‍यसै गरे र फेरि हात बाहिर निकाल्‍दा त्‍यो आफ्‍नो शरीरको अरू भागजस्‍तै राम्रो भएको थियो। परमप्रभुले भन्‍नुभयो, “तिनीहरूले तँलाई विश्‍वास गरेनन् भने र त्‍यो पहिलो चिन्‍ह पत्‍याएनन् भने यो चिन्‍हले गर्दा तिनीहरूले पत्‍यार गर्नेछन्। कतै यी दुई चिन्‍हहरू देखेर पनि तिनीहरूले पत्‍यार गरेनन् र तेरा कुरा मानेनन् भने नील नदीबाट अलिकता पानी लिएर जमिनमा पोखाई दिनू, त्‍यो पानी रगत बनिनेछ।” तर मोशाले भने, “परमप्रभु मलाई नपठाउनुहोस्। म राम्ररी बोल्‍न सक्‍दिनँ। तपाईंको वचन सुनेर पनि म राम्ररी बोल्‍न सक्‍ने भएको छैनँ। म ढिलो अनि अड्की-अड्की मात्र बोल्‍न सक्‍छु।” परमप्रभुले उनलाई भन्‍नुभयो, “मानिसलाई कसले बोल्‍ने मुख दिन्‍छ? उसलाई कसले गुँगो वा बहिरो बनाउँछ? कसले उसलाई आँखा दिन्‍छ वा अन्‍धो बनाउँछ? यी सबै गर्ने म परमप्रभु नै हुँ। अब जा, म तँलाई बोल्‍न सघाउनेछु। के भन्‍नुपर्छ, म तँलाई सिकाउनेछु।” तर मोशाले उत्तर दिए, “होइन, परमप्रभु, अरू कसैलाई पठाउनुहोस्।”

प्रस्‍थान 4 पढ्नुहोस्