YouVersion लोगो
खोज आइकन

प्रस्‍थान 35:10-35

प्रस्‍थान 35:10-35 सरल नेपाली

“तिमीहरूमध्‍ये भएका सबै सिपालु कारिगरहरू आएर परमप्रभुले आज्ञा गरेका सबै कुराहरू बनाउनुपर्छ: पवित्र पाल, त्‍यसका भित्री र बाहिरी पालहरू, अङ्कुसेहरू र फल्‍याकहरू तेर्सो बार र खम्‍बाहरू, आसनहरू, करारको सन्‍दुक, त्‍यसका डन्‍डाहरू, प्रायश्‍चितको ढकना, छोप्‍ने पर्दा, टेबिल, त्‍यसका डन्‍डा र सर-सामानहरू, परमेश्‍वरलाई भेटी चढाएका रोटी, बत्तीको निम्‍ति सामदान र त्‍यसका सर-सामान, पानस र तेल, धूप वेदी र त्‍यसका डन्‍डाहरू, अभिषेक गर्ने तेल, मीठो बास्‍ना भएको धूप, पवित्र पालको ढोकाको पर्दा, बलि चढाउने वेदी, त्‍यसमा लगाएको काँसाको जाली, त्‍यसका डन्‍डा र सर-सामान, पानी राख्‍ने बाटा र त्‍यसका आसन, पवित्र पाल घेर्ने घेराका पर्दाहरू, त्‍यसका आसन र खम्‍बाहरू, घेराको ढोकाको पर्दा, पवित्र पाल र घेराको किला र डोरीहरू र पवित्रस्‍थानमा सेवा गर्दा पूजाहारीहरूले लाउने सुन्‍दर वस्‍त्रहरू, पूजाहारी हारून र त्‍यसका छोराहरूले लाउने पवित्र पोशाकहरू।” इस्राएलका सबै मानिसहरू मोशाबाट बिदा भए। ज-जसले इच्‍छा गरे, तिनीहरूले परमप्रभुको पवित्र पाल बनाउन उहाँकहाँ भेटी ल्याए। आराधना गर्नका लागि र पूजाहारीका वस्‍त्र बनाउन चाहिने सबै चीजबीजहरू तिनीहरूले ल्‍याए। इच्‍छा गर्ने प्रत्‍येक पुरुष र स्‍त्रीले सिङ्गार्नलाई पिन, कुण्‍डल, औँठी, मालाहरू र हरप्रकारका सुनका गरगहना ल्‍याए र परमप्रभुलाई अर्पण गरे। जोसँग मिहिन सुती कपडा, नीलो, बैजनी वा रातो रङका ऊन, बाख्राका भुत्‍लाका कपडा, रातो रङ गरेका भेडाका छाला वा असल छालाहरू थिए, ती सबै तिनीहरूले भेटीस्‍वरूप ल्‍याए। ज-जसले चाँदी वा काँसा दिन सक्‍थे, तिनीहरूले आ-आफ्‍ना भेटी परमप्रभुकहाँ ल्‍याए। अनि कुनै पनि काममा लगाउन सकिने बबुल काठ जोसँग थियो, ती काठ तिनीहरूले ल्‍याए। सीप भएका स्‍त्रीहरूले आफूले बनाएका मिहिन सुती धागो अनि नीलो, बैजनी र रातो रङका ऊनी धागो लिई आए। तिनीहरूले बाख्राका रौंका धागा पनि बनाए। नाइकेहरूले पवित्र एपोद र छाती-पातामा जड्‍ने आनिक्‍स र अन्‍य दामी रत्‍नहरू अनि बत्तीको लागि तेल र अभिषेक गर्ने तेल र मीठा बास्‍ना भएका धूपको निम्‍ति मसला र तेलहरू ल्‍याए। परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको कामको निम्‍ति इच्‍छा राख्‍ने सबै इस्राएलीहरूले आ-आफ्‍ना भेटी परमप्रभुकहाँ ल्‍याए। मोशाले इस्राएलीहरूलाई भने, “परमप्रभुले यहूदा कुलका, हूरका नाति अनि ऊरीका छोरा बजलेललाई चुन्‍नुभएको छ। परमेश्‍वरले तिनलाई आफ्‍नो आत्‍माले भर्नुभएको छ। समझशक्ति, ज्ञान-बुद्धि र सबै प्रकारका कारिगरका काम गर्ने योग्‍यता दिनुभएको छ। उहाँले तिनलाई सुन, चाँदी र काँसाको शिल्‍पकलाको लागि, हीरा आदि मणिहरू काट्‍ने र जड्‍ने, काठमा चित्र कप्‍ने साथै अरू हरप्रकारका कलाका काम गर्ने सीप दिनुभएको छ। तिनलाई र दान कुलका अहीसामाकका छोरा ओहोलीआबलाई परमप्रभुले आफ्‍नो सीप अरूहरूलाई पनि सिकाउन सक्‍ने योग्‍यता दिनुभएको छ। धातु खोप्‍ने, फूल-बुट्टा भर्ने, चित्र बनाउने अनि मिहिन सुती कपडा र नीलो, बैजनी र रातो रङको ऊनी र अरू कपडा बुन्‍ने कारिगरहरूले जानेका सबै थरीका काम गर्ने सीप उहाँले तिनीहरूलाई दिनुभएको छ। तिनीहरू सबै प्रकारका काम गर्न सक्‍छन् र सिपालु चित्रकार पनि हुन्।

प्रस्‍थान 35 पढ्नुहोस्